नेपाल सत्कार दिवस मनाइने
काठमाडौं– होटल संघ नेपालले आगामी माघ २ गते काठमाडौंमा नेपाल सत्कार दिवस मनाउने भएको छ । संघले आफ्नो स्थापना दिवसको अवसर पारेर प्रत्येक वर्ष माघ २ गते सत्कार दिवस आयोजना गर्ने जनाएको छ ।
होटल क्षेत्रले वर्षैभरी भोगेका अवस्था र विकासका सम्भावना, चुनौतीहरु तथा आगामी दिनको रणनीतिलगायत विषय सत्कार दिवसमा प्रस्तुति रहनेछन् । यस पालिको सत्कार दिवसमा होटल तथा पर्यटन क्षेत्रको स्थितिलाई उजागर गर्ने उद्देश्यले संघले प्रकाशनमा ल्याएको नेपाल होटल इयर बुक २०२५ को विमोचन हुने कार्यक्रम रहेको छ ।
यसैगरी मुलुकलाई विश्वमाझ रैथाने खाना प्रवर्द्धन गर्दै विदेशी पर्यटकलाई नेपाल आगमनमा लालायित बनाउन सातै प्रदेशका मुख्य मुख्य रैथाने खानाहरु प्रदर्शनमा राखिने संघले जनाएको छ । त्यस क्रममा विभिन्न विधाका प्रायोजकहरुद्वारा प्रवर्द्धनमा राखिएका प्रदर्शनी कक्ष मुख्य आकर्षण रहने होटल संघ नेपालले जनाएको छ । कार्यक्रममा पर्यटन क्षेत्रमा विशेष योगदान पर्याउनेलाई पुरस्कृत गरिने जनाइएको छ ।