नबिल जेष्ठ बचत खातामा पेन्सन बचतको सुविधा
काठमाडौं– जीवनको उत्तरार्धमा उमेर ढल्किदै जाँदा ऊर्जाशील समयमा जस्तो नियमित आम्दानीका स्रोतहरू घट्दै जान्छन् । सक्रिय जीवनमा व्यापार व्यवसाय तथा रोजगारीबाट नियमित आम्दानी हुँदा तय गरिएका रणनीतिले बुढेसकालमा काम गर्दैन । जसले गर्दा प्राथमिकताहरू पनि परिवर्तन हुँदै जान्छन् ।
यसरी हरेक व्यक्तिको प्राथमिकतामा आउने परिवर्तनलाई आत्मसाथ गर्दै नबिल बैंकले जीवनको उत्तरार्धमा नियमित आम्दानीको बाटो बनाउन चहानेका लागि ‘नबिल जेष्ठ बचत खाता’ ल्याएको छ । यो खातामा मासिक रूपमा व्याज भुक्तानी हुन्छ । जेष्ठ बचत खाताले जेष्ठ नागरिकहरूको आवश्यकतालाई ध्यानमा राखेर सुविधाजनक बैंकिङ प्रदान गर्ने बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदीले बताए ।
समान्यत बैंक वित्तीय संस्थाले त्रैमासिक रुपमा निक्षेपको ब्याज भुक्तानी गर्दछन् । तर अवकास पछि मासिक आम्दानी आवश्यक पर्छ। यहि आवश्यकता पूरा गर्ने उद्देश्यका साथ ल्याइएको यस बचत खाताले एक किसिमको पेन्सन खाताको रूपमा काम गर्ने सुवेदी बताउँछन् । खाता खोल्दा न्यूनतम मौज्दात आवश्यक पर्दैन । सुवेदीका अनुसार जो सँग जति पैसा छ त्यति नै राखेर यो खाता खोल्न सकिन्छ। यो खातामा थप सुविधा पनि दिइएको छ ।
‘उमेर पुगेका कतिपय व्यक्तिले लकर खोजिरहनु भएको हुन्छ, उनले भने, ‘उहाँहरूलाई लकरमा लाग्ने वार्षिक शुल्कमा २५ प्रतिशत छुट प्रदान गरिने छ ।’ खाताको विवरण, चेक बुक र मौज्दात प्रमाणपत्रका लागि शुल्क लाग्ने छैन । यस खातामा पहिलो वर्षका लागि मोबाइल एप ‘एन बैंक’ नि:शुल्क गरिएको छ ।
स्विफ्ट ट्रान्सफर तथा डिमान्ड ड्राफ्टमा ५० प्रतिशत छुट प्रदान गर्ने बैंकले जनाएको छ । बैंकको वेबसाइटबाट व्यक्तिगत खाता खोल्ने आवेदन फारम डाउनलोड गरी आवश्यक विवरण भरेर नागरिकता वा राहदानी तथा पासपोर्ट साइजको फोटो लिएर नजिकको शाखा कार्यालयमा गएर खाता खोल्न सकिने छ ।