लप्सीका परिकार बनाएर ७० लाख आम्दानी
पर्वत– लप्सी जिल्लाको रूपमा परिचित पर्वतमा यस वर्ष फलेका लप्सी टिपेर बिक्री तथा प्रशोधन गर्न कृषकलाई भ्याइनभ्याई भएको छ । नेपालमै सबैभन्दा बढी लप्सी उत्पादन हुने पर्वत जिल्लाका अधिकांश कृषकले लप्सीका दाना बिक्री गर्दै आएका छन् भने जिल्लाको फलेवास नगरपालिका–४ मुडिकुवामा सञ्चालित सामुदायिक खाद्य प्रशोधन उद्योगले लप्सीको प्रशोधन गर्दै आएको छ ।
यो उद्योगले लप्सीबाट माडा, अचार, क्याण्डी, तितौरा, जाम, लप्सी धुलो, पिरो क्याण्डी लगायतका परिकार बनाउँदै आएको छ । विगत डेढ दशकदेखि लप्सी प्रशोधन गर्दै आएको उद्योगले यस वर्ष झण्डै ७० लाख रुपैयाँ बराबरको कारोबार गर्ने लक्ष्य राखको छ । उद्योगमा यस वर्ष झण्डै ६० टन लप्सी प्रशोधनको तयारी गरिएको छ ।
अहिले गाउँ गाउँबाट लप्सी संकलन गर्ने र अचार, माडा बनाउने तथा क्याण्डिका लागि गुदी निकालेर राख्ने काम भैरहेको उद्योगका सञ्चालक थानेश्वर भुसालले जानकारी दिए । पर्वतमा झण्डै दुई सय मेट्रिक टन लप्सी उत्पादन हुने भए पनि ३० प्रतिशतमात्र प्रशोधन गर्न सकिएको उनको भनाइ छ । बाँकी केही कृषकले बोटबाटै दाना बिक्री गर्दै आएका छन् भने जनशक्ति अभावले टिप्न नसक्दा बोटमै खेर जाने गरेका भुसालले बताए ।
जनशक्ति र प्रविधि अभाव तथा पर्याप्त बजार नहुँदा उत्पादित सबै लप्सी प्रशोधन गर्न नसकिएको सञ्चालक भुसालको भनाइ छ । कोरोना संक्रमणभन्दा अगाडि बढी अमेरिका, अस्ट्रेलिया, हङकङ लगायतका देशमा समेत निर्यात गरेको भए पनि अहिले भने स्वदेशकै बजारमा निर्भर हुनुपरेको उनको भनाइ छ । भुसालले सञ्चालन गरेको उद्योगमा आफूबाहेक सात जनालाई रोजगारी समेत दिएका छन् ।
लप्सीसँगै अमला, अदुवा लगायतका परिकार बनाएर हुने कुल आम्दानीबाट खर्च कटाएर वर्षमा १० देखि १२ लाख रुपैयाँसम्म बचत हुने गरेको उनले बताए । चार वर्ष पहिले उत्पादित लप्सीका १० लाख बराबरका परिकार अमेरिका पठाएका भुसालले नेपालमा भन्दा पनि बढी विदेशमा माग रहे पनि अहिले पठाउने संयन्त्र नरहेको बताए ।
नेपालीले विदेश फर्किंदा कोशेली र पाहुरको रूपमा लैजाने बाहेक व्यावसायिक हिसाबले उद्योगबाटै होलसेलमा विदेश पठाउन नसकिएको उनको भनाइ छ । जिल्लाका झण्डै ४० वटा वडामा लप्सीको उत्पादन हुँदै आएको छ । कुनै बेला जंगलमा त्यसै झरेर कुहिने लप्सी पछिल्लो समय प्रशोधन गर्न थालेपछि आम्दानीको राम्रो स्रोत बनेको छ । वनपाखामा त्यसै खेरजाने लप्सीबाट आम्दानी गर्न सकिने भएपछि लप्सीको व्यावसायिक खेतीसमेत सुरु भएको छ ।
सामुदायिक खाद्य प्रशोधन उद्योगले कृषकलाई लप्सी खेतीतर्फ आकर्षित गर्नका लागि नि:शुल्क बिरुवा वितरण गर्दै आएको छ । उद्योगमा लप्सीसँगै अदुवा, अलैची, अमला, बेसार, टिमुर, खुर्सानी लगायतको प्रशोधन हुँदै आएको छ भने पछिल्लो दुई वर्षयता मकैको सातु उत्पादनबाट समेत लाखौ रुपैयाँ आम्दानी गर्ने गरेको सञ्चालक भुसालले बताए । लप्सी, अमला र अदुवा सिजनको बेलामा प्रशोधन हुने भए पनि मकै, भट्टमास, बदाम लगायतको मिक्स सातु बाह्रैमास उत्पादन हुने सञ्चालक भुसालले बताए ।