Logo

सखरखण्डबाट लाखौं आम्दानी

दाङ– माघे संक्रान्ति नजिकिँदै गर्दा दाङको राजपुर गाउँपालिका–३ खरदरिया निवासी शेषराम यादव सखरखण्ड खन्न व्यस्त छन् । लमही नगरपालिका–७ गिधनियास्थित राप्ती नदीले बगर बनाइदिएको करिब डेढ बिगाह जमिनमा सखरखण्ड खेती गरेका यादव माघे संक्रान्तिमा बिक्री गर्नका लागि खन्न थालेको बताउँछन् । माघे संक्रान्तिमा सखरखण्डको महत्त्वसँगै मूल्यसमेत महंँगो हुने भएकाले कामदार लगाएर सखरखण्ड खन्ने काम गरिरहेको यादवले बताए । सिजनमा व्यवसायीले मागेको समयमा आफ्नो उत्पादन दिनसके रोपेकै ठाउँबाटै बिक्री हुने गरेको उनले बताए ।

यादवले भने, ‘सखरखण्डको समय भनेको यही हो, अहिले बिक्री गरे राम्रो आम्दानी हुन्छ ।’ डेढदेखि दुई बिगाह जमिनमा सय क्विन्टल सखरखण्ड उत्पादन गर्ने लक्ष्य लिएका यादवले सिजनमा बिक्री गरेर दुई लाख ५० हजारसम्म आम्दानी गर्ने सोच रहेको बताउँछन् । प्रतिकिलो ४५/५० रुपैयाँका दरले खेतबारीबाटै सखरखण्ड बिक्री भइरहेको भन्दै किसान यादवले सिजनमा चार लाख बढीको बिक्री गर्ने र सबै खर्च कटाएर दुई लाख ५० हजारसम्म बचत गर्ने आशा रहेको बताए ।

बोटमा कीरा लागेर गतवर्ष उत्पादन घट्दा डेढ लाख रुपैयाँ आम्दानी गरेको भन्दै यादवले अहिले राम्रो फल लागेकाले आम्दानी बढ्ने भन्दै भने, ‘गएको वर्ष बोटमा कीरा लाग्दा राम्रो उत्पादन हुन सकेन । अहिले राम्रो फल लागेको छ, उत्पादन बढ्ने आशा छ ।’ परिवारको मुख्य आम्दानीको स्रोत भएको भन्दै यादवले समयमै उत्पादन तयार गर्नसके सखरखण्ड घोराही, तुलसीपुरका व्यवसायी खेतबारीमै आएर लग्ने गरेको बताए ।

यादवजस्तै लमही नगरपालिका–७ गिधनिया निवासी गीता चौधरीले दुई बिगाह जग्गामा व्यावसायिक सखरखण्ड खेती गरेकी छिन् । अन्य कृषिबालीको तुलनामा कम मेहनतमै बढी आम्दानी हुने र बिक्रीका लागि समस्या नहुने भएकाले अन्य खेती छोडेर सखरखण्डको खेतीमा लागेको भन्दै चौधरीले करिब दुई लाख मूल्य बराबरको बिक्री भइरहेको बताइन् । चौधरीले दाङका घोराही र तुलसीपुरसँगै नेपालगन्जका व्यवसायीलाई सखरखण्ड बिक्री गरेको बताइन् । माघे संक्रान्ति नजिकिँदै गर्दा घोराही, तुलसीपुरका व्यवसायीसँगै जिल्ला बाहिरका व्यवसायी खरिदका लागि गाउँमै आउने भएकाले बिक्रीमा समस्या नभएको उनी बताउँछिन् ।

अहिलेसम्म सखरखण्डको बिक्रीमा समस्या नभएको उनले बताइन् । चौधरीले भनिन्, ‘दाङमा धेरै खेती नहुने भएकाले पनि होला बिक्रीमा समस्या हुँदैन । तर थोरै खेतीबाट पनि धेरै आम्दानी भइरहेको छ ।’ तीनजनाको सानो परिवारका कारण आफूले खेतबारी जोत्नेदेखि उत्पादन लिनेसम्म कामदार लगाएर सखरखण्ड खेती गर्ने सबै कटाएर पनि एकदेखि डेढ लाख रुपैयाँसम्म बचत गर्ने गरेको बताइन् । चौधरीका अनुसार करिब ७० देखि ८०/९० क्विन्टल बिक्री गर्ने गरेको बताइन् । चौधरीका अनुसार लमही नगरपालिका र राजपुर गाउँपालिकाका करिब ४०/५० घरपरिवारले सखरखण्ड गर्ने गरेको बताइन् ।

उनका अनुसार किसानले सिजनमा कम्तीमा एक लाखदेखि चारपाँच लाखसम्म आम्दानी लिने गरेका छन् । छोटो समयमै राम्रो आम्दानी लिन सकिने भएकाले देउखुरी क्षेत्रका किसान सखरखण्ड खेतीतर्फ आकर्षित भएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । खासगरी माघे संक्रान्तिमा तराईसँगै पहाडी जिल्लामा अत्यन्त माग हुने भएकाले जिल्लाको उत्पादन बाहिरी जिल्लामा जाने गरेको छ । किसानका अनुसार किसानले साउनदेखि भदौ महिनाको पहिलो सातासम्म रोप्ने र पुसमा आम्दानी लिने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्