Logo

दुई वर्षमा बन्नुपर्ने पुल नौ वर्षदेखि अलपत्र

दोलखा– खाडीचौर–चरिकोट–जिरी सडक विस्तारको सँगै ठेक्का आह्वान भएका सुनकोसी र तामाकोसी नदीमा निर्माणका लागि दुई वर्षमा निर्माण गर्ने गरी ठेक्का आह्वान भएका पुल नौ वर्ष बितिसक्दा समेत अलपत्र परेका छन् ।

सडक विस्तार आयोजना अन्तर्गतको चरिकोट–जिरी सडक विस्तारको काम निर्माण व्यवसायीले काम पूरा गरी हस्तान्तरण गरेको नै तीन वर्ष बितिसक्यो तर पुल कहिले पूरा हुने अझै अन्योल नै छ । ४३ वर्षअघि निर्माण भएका पुल जीर्ण हुँदै गएका र सडक अनुसारको भार क्षमता थेग्न नसक्ने भएसँगै पुल महाशाखाले तामाकोसीमा पुलको २०७३ भदौमा ठेक्का सम्झौता गरेको हो ।

सडक विस्तार सुरु भएसँगै पुलको ठेक्का लाग्यो । दुवै पुलको निर्माण व्यवसायी पनि निलगिरि–नेसनल जेभीले लिएका हुन् । तर पुलको काम अँधुरै छन् । पुल बनाउने ठाउँमा स्थानीय घर टहरा भएर काम सुरु गर्न नसकेको भन्दै गुनासोपछि दोलखाको भीमेश्वर नगरपालिका–५ र बैतेश्वर गाउँपालिका–६ तामाकोशी बजारमा प्रशासन र स्थानीय तहले बलजफ्ती गरेर पाँच वर्षअघि नै घर टहरा हटाए । तर कामले गति लिन सकेन ।

७५ मिटर लामो पुल करिब १० करोड रुपैयाँ लागतमा डबल लेनको आरसीसी आर्च पुल हो । निर्माण व्यवसायीले विभिन्न बहाना देखाएर काम सुस्त बनाएको तीन वर्षअघि दुईतिरको जिप उठाएपछि निर्माण व्यवसायी नै सम्पर्कविहीन जस्तै छन् । यही पुल भएर दोलखाबाट तराई र पूर्वी नेपालका सवारीसाधन आवतजावत हुन्छ ।

दोलखा रामेछाप, ओखलढुंगा र सोलुखुम्बुका सवारीसाधन पनि यही पुलबाट आवतजावत हुन्छ । पुरानो पुलको आयु सकिएकाले नयाँ पुल निर्माण थालनी भएको हो । नयाँ नबनेपछि पुरानै जीर्ण पुलबाट सवारी आवतजावत भइरहेको छ । अझै बीपी राजमार्ग बाढीले क्षतविक्षत हुँदा पूर्व नेपालका सबै सवारी काठमाडौं जाने मार्ग पनि यही हो ।

खाडीचौरदेखि चरिकोट सडक खण्ड विस्तारमा ढिलाइ हुँदा यात्रुले सास्ती भोग्नु परेको भन्दै पटक पटक स्थानीयले आन्दोलन गरे । तर पुरानो तर वैकल्पिक पुल भएकाले त्यसको असर स्थानीयलाई त भएको छैन । नयाँ पुल बन्ने भएपछि पुरानो पुलको मर्मत सम्भारसमेत नहुँदा खिया लागेको छ । ठेकेदारको काम देख्दा आफूलाई दिक्क लागेको बैतेश्वर गाउँपालिका–६ का ठाकुरप्रसाद घिमिरेले बताए ।

पुल महाशाखाले नै २०७३ सालमै ठेक्का आह्वान गरेको सोही राजमार्गको खाडीचौरको सुनकोसी पुलको ठेक्का पनि एउटै कम्पनीले पाएको छ । तर त्यो पनि अलपत्र छ । पुरानो पुलले ठूला सामान ढुवानीमा भार थेग्न नसकेको भन्दै सुनकोसी नदीमा र तामाकोसी नदीमा १० वर्षदेखि हरेक हिउँदमा डाइभर्सन बनाएर सामान ओसारपसार भइरहेको छ ।

हरेक वर्ष नदीमा डाइभर्सन गराउँदा सामान ढुवानीकै लागि जलविद्युत आयोजनाको करोडौं खर्च हुँदा त्यसको असर आयोजनाको लागतमा परेको छ । पुल महाशाखाले भने दुवै पुलका लागि निर्माण व्यवसायीलाई ताकेता गरिराखेकोले अब काम सुरु गर्ने विश्वास गरेको छ । पुल निर्माणस्थल नजिकै संघीय सरकारकै डिभिजन सडक कार्यालय चरिकोट छ । डिभिजन सडकमा इन्जिनियर योजना नहुँदा बेकामेजस्तै भएका छन् । तर सबै पुलको ठेक्का केन्द्रिकृतका नाममा पुल महाशाखाले लिंँदा पुल समयमा काम गराउन सकेको छैन ।

जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानीले पुल निर्माणका लागि पुल महाशाखालाई तीन वर्ष अघिदेखि ताकेता गर्दा पनि काम नगराएको बताए । अघिल्ला दुईवटा हिउँदमा त पुलको केही पनि काम भएन । वर्षात्मा नदीमा जलस्तर बढ्दा पुलको काम हुन सक्दैन । यो हिउँदमा काम हुनेमा उनको विश्वास छ । यो हिउँदमा काम हुन नसकेको ठेक्का तोडेर नयाँ ठेक्का लगाउनु पर्नेमा उनको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्