Logo

कर्णाली राजमार्गका सडक अतिक्रमणको चपेटामा

जुम्ला– कर्णाली राजमार्गको जुम्ला खण्डमा सडक अतिक्रण बढ्दै गएको छ । सडक डिभिजन जुम्लाको कार्य क्षेत्रभित्र पर्ने दैखोला–कालिकोट–जुम्ला खण्ड १०४ किमि क्षेत्रअन्तर्गत जुम्ला खण्डमा सडक अतिक्रमण बढ्दै गएको हो । स्थानीय सरकार सञ्चालनपछि ग्रामीण सडक निर्माणले गति लिएपछि त्यसको प्रत्यक्ष असर कर्णाली राजमार्गमा परेको छ । ग्रामीण सडक निर्माणले गर्दा सामान्य वर्षात् हुँदा पनि सडकमा सुक्खा तथा हिलो पहिरो आउने समस्यासमेत निम्तिएको छ ।

जसले गर्दा अधिकांश ठाउँको पिच उप्किनुका साथै सडकसमेत साँघुरो हुँदै गएको छ । त्यसका साथै स्थानीय सरकार र नागरिकले सडक सुरक्षामा ध्यान नदिँदा क्रमिक रूपमा सडक अतिक्रमण बढिरहेको छ । जुम्ला खण्डको ३२ किमि सडक खण्डअन्तर्गत पर्ने रारा सेरी बजार, डुण्डेली, त्रिवेणी, कुडारी, राँका, लिताकोट, तातोपानी (जर्मी) बाबिरा, एैरेनी, लाम्रा, श्रीगर, उम्गाड, श्रीढुस्का, मिचा र बसपार्क क्षेत्रमा अत्यधिक सडक अतिक्रमण बढेको देखिएको छ ।

यसअघि सडक डिभिजन जुम्लाका तत्कालीन डिभिजन प्रमुख राजीव श्रेष्ठको पालामा बजार क्षेत्र राजमार्गको जिरो प्वाइन्टदेखि ट्राफिक कार्यालयसम्मका सबै अतिक्रमण हटाएर पेटी तथा नाला निर्माण गरिएको थियो भने अधिकांशले सडककै जग्गामा सेफ्टी ट्यांकी, घर, टहरा निर्माण गरेका थिए । उनीहरूलाई तत्काल १५ दिन हटाउनसमेत अल्टिमेटम दिइएको थियो । तर अहिलेसम्म अतिक्रमणको अवस्था ज्यूँका त्यूँ छ ।

एक डिभिजन प्रमुख गइसकेपछि अर्को प्रमुख आउँदा पहिला अभ्यास भएको कामलाई प्राथमिकता नदिने परिपाटीले पनि जुम्लामा सडक अतिक्रण हटाउने कार्य सुस्त रूपमा अघि बढिरहेको छ । सडक सुरक्षा र अतिक्रमण हटाउने विषयमा स्थानीय सरकार गैरजिम्मेवार देखिएका छन् । सडक डिभिजनले सूचना गर्ने, अल्टिमेटम दिनेबाहेक अतिक्रण हटाउनसमेत परिणामुखी काम गर्न सकेको छैन । जसका कारण क्रमिक रूपमा सडक साँघुरिनुका साथै दुर्घटनाको जोखिमसमेत बढ्दै गएको छ ।

सडक डिभिजनद्वारा अतिक्रमण गर्नेको लगत संकलन
सडक अतिक्रमण बढ्दै गएको र सडक साँघुरिएको जनगुनासो बढेपछि सडक डिभिजन जुम्लाले फेरि अतिक्रमण गर्नेको लगत संकलन गर्न थालेको छ । जुम्ला खण्डका विभिन्न ठाउँमा कर्मचारी खटाएर डिभिजनले अतिक्रमण गर्नेको नाम संकलन गरेको हो । जसमा सोमबारसम्म संकलन भएको तथ्यांकअनुसार तिला गाउँपालिकाको रारा सेरी बजारदेखि चन्दननाथ नगरपालिकाको बसपार्क क्षेत्रसम्मका विभिन्न गाउँ र बजार क्षेत्रमा गरी करिब दुई सय जनाले सडक अतिक्रमण गरेको भेटिएको छ ।

सडकमा निर्माण सामग्री, जग्गा मिचेर घर टहरा, निर्माणदेखि घर निर्माण गर्दा निस्किएको माटो पनि सडकमै अव्यवस्थित रूपमा राख्नेको संख्या पनि उल्लेखनीय रुपमा बढेको छ । सडक डिभिजनले संकलन गरेको तथ्यांकअनुसार तातोपानी गाउँपालिकाका विभिन्न स्थानमा गरी झण्डै ९८ जनाले विभिन्न हिसाबले सडक अतिक्रमण गरेका छन् । त्यस्तै चन्दननाथ नगरपालिकाभित्रका विभिन्न स्थानमा ३४ जना बढीले अतिक्रमण गरेका छन् । उता तिला गाउँपालिकाका रारासेरी, त्रिवेणी, कुडारीलगायतका स्थानमा गरी झण्डै ४५ जना बढीले सडक अतिक्रमण गरेका छन् ।

रारासेरीदेखि जुम्ला बसपार्कसम्मका विभिन्न स्थानमा दुई जनाले सडक अतिक्रमण गरेको र उनीहरूको नाम र निर्माण गरिएको संरचनासहितको विवरण संकलन गरिएको सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र चौधरीले बताए । सार्वजनिक सडक व्यक्तिगत प्रयोजनमा प्रयोग गर्ने प्रवृत्ति बढेको छ । उनले भने, ‘अधिकांशले सडककै जग्गामा टहरा निर्माण, सडकको जग्गा घेराबार गरी व्यक्तिगत प्रयोजन गरेको भेटिएको छ । कर्मचारी स्थलगत रूपमै गएर विवरण ल्याएका छन् । हामी पहिलो चरणमा सम्झाइ बुझाइ गर्छौं । नमानेमा नियमानुसार अतिक्रमण हटाउँछौ ।’

‘अतिक्रमण हटाउन प्रहरी प्रशासनदेखि स्थानीय सरकारको सकरात्मक सहयोगको आशा गरेका छाैं । बढ्दो सवारी चापसँंगै बढेको अतिक्रमणले दुर्घटनाको जोखिम बढाएकोले बेलैमा सबै सचेत हुनुपर्ने बेला आएको उनको भनाइ छ । ग्रामीण सडक निर्माण गर्दा माटो ढुंगा राजमार्ग फाल्ने, स्थानीय घर बनाउँदा बीच बाटोमै ढुंगा, माटो सरिया, बालुवा राख्ने र तर सडक सुरक्षा र अतिक्रमण हटाउने बेलामा स्थानीय सरकारले हाम्रो कार्यक्षेत्रमा पर्दैन भन्दै पन्छिने, नागरिकले अटेरी गर्नेजस्ता समस्याले सडक सुरक्षाको सवाल पेचिलो बन्न नसकेको डिभिजन प्रमुख चौधरीले उल्लेख गरे । उनका अनुसार अब चाँडै जुम्ला खण्डमा अतिक्रमण हटाउने कामअघि बढाइने छ ।

प्रतिक्रिया दिनुहोस्