Logo

जग्गा एकीकरणमै अल्झियो नयाँ सहर आयोजना

धनगढी– सहरीकरणलाई व्यवस्थित गरी प्रत्येक सहरलाई त्यस क्षेत्रको आर्थिक केन्द्रको रूपमा विकास गर्ने उद्देश्यले सुरु भएको नयाँ सहर आयोजनाले १४ वर्षको अवधिमा जग्गा एकीकरणको कामसमेत गर्न सकेको छैन । २० वर्षमा नयाँ सहर बनाइसक्ने गरी २०६७/०६८ मा सुरु भएको नयाँ सहर आयोजनाले जग्गा एकीकरणकै काममा अल्झिएको छ । समयमा काम पूरा नहुने भए पनि नेपाल सरकारले आर्थिक वर्ष २०८९/०८० सम्म नयाँ सहर आयोजनाको काम पूरा हुने अनुमान गरेको छ ।

नेपाल सरकारले सुदूरपश्चिम प्रदेशको पाटन र साँफेबगर नगरपालिकासहित मध्यपहाडी लोकमार्गका १२ वटा सहरलाई व्यवस्थित बनाउन २०६७/०६८ बाट नयाँ सहर आयोजना सुरु गरेको थियो । आयोजना सुरु भएको १४ वर्षमा एकीकृत विकास योजना (आइडिपि)/रणनीतिक सहरी विकास योजना (एसयुडिपि) तयार भई जग्गा एकीकरणको काम भइरहेको छ ।

यी योजना कार्यान्वयन गर्नका लागि पहिलो काम जग्गा एकीकरण गर्नुपर्ने भए पनि सोही काममा ढिलासुस्ती भएकाले नयाँ सहर आयोजनाको कामले गति लिन सकेको छैन । साँफेबगरमा जग्गा एकीकरणको काम सुरु नै भएको छैन । नयाँ सहर आयोजना कार्यालय, साँफेबगरका प्रमुख मनोजकुमार यादवले जग्गा एकीकरणका लागि आउँदो हप्तामात्रै सम्झौता हुने बताए । उनले यस वर्ष जग्गा एकीकरण, बसपार्क निर्माण र खेलकुद मैदान निर्माण गरी तीनवटा कार्यक्रम रहेको बताए ।

‘जग्गा एकीकरणका लागि भरखरै सम्झौताको चरणमा छ,’ उनले भने, ‘अर्को हप्ता सम्झौता हुन्छ । त्यसपछि बसपार्क निर्माणका लागि टेन्डर आह्वान गर्छौं ।’ उनको अनुसार खेलकुद मैदानमा क्यान्टेन र ट्वाइलेट बनाउनका लागि ठेक्का लगाइएको छ । ‘खेलकुद मैदान छ, त्यसमा ब्याटमेन्टन कोड पहिला बनिसकेको छ,’ उनले भने, ‘खेलकुद मैदानमा क्यान्टेन र ट्वाइलेट बनाउनको लागि यसपालि टेण्डर भएको छ ।’

साँफेबगर नगरपालिकाका मेयर राजेन्द्र कुँवरले साँफेबगरका नागरिकलाई नयाँ सहर आयोजनाको बारेमा बुझाउन नसकेकोले जग्गा एकीकरणको काम ढिलो हुन गएको बताए । ‘पहिले नागरिकले जग्गा दिन तयार भएका थिए,’ उनले भने, ‘पछि जग्गा दिन मानेका थिएनन् । अहिले त्यस विषयमा छलफल भएर नागरिकले जग्गा दिन मानेका छन् । यो आर्थिक वर्षभित्रै हामीले जग्गा एकीकरणको काम गरिसक्छौं ।’

पाटनमा पनि जग्गा एकीकरणको काम नभएको हुँदा स–साना सडक र ढल निर्माण बाहेकको काम हुनसकेको छैन । नयाँ सहर आयोजना कार्यालय, पाटनका इन्जिनियर शौरभ कलौनीले जग्गा एकीकरणको प्रयास भइरहेको बताए । उनले जग्गा एकीकरण नभएको हुँदा आयोजनाको मुख्य उद्देश्यको काम हुन सकेको बताए । ‘मूल काम जग्गा एकीकरण नै हो,’ उनले भने, ‘जग्गा एकीकणको काम भइसकेपछि मात्रै विस्तृत सहरी विकासको काम हुनसक्छ ।’

नयाँ सहरको रणनीतिक योजना अनुसार विद्युत, सहरी सडक र ढल, रणनैतिक सहरी पूर्वाधार, खानेपानी, खेलकुद मैदान, रंगशाला, आवास/बस्ती विकास, भवन तथा वास्तुकला निर्माण, एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र (ल्याण्डफिल साइड), बसपार्क, पार्क निर्माण, अस्पताल लगायतका कार्य गर्न सम्बन्धित क्षेत्रका जग्गाधनीले आयोजना कार्यालयलाई जग्गा प्रयोग गर्न सहमति दिनुपर्छ । यो सहमतिलाई नै जग्गा एकीकरण भनिएको छ ।

जग्गा एकीकरण आयोजना सञ्चालन कार्यविधिमा जग्गाधनीले आयोजना सञ्चालनका लागि जग्गा दिन सहमति रहेको माग फाराम भरी जग्गाधनी पुर्जासहित आयोजना कार्यालयमा सहमति पत्र पेस गर्नुपर्छ । सहमति पत्र संकलन भएपछि जग्गा एकीकरणका लागि जग्गाधनीबीच सम्झौता हुन्छ । जग्गा परिवर्तन र घट्ने प्रतिशत र जग्गाधनीले फिर्ता पाउने जग्गाको क्षेत्रफल र प्रतिशतसमेत उल्लेख गरी सो सम्झौता भएपछि मात्रै आयोजना कार्यालयले रणनीतिक सहरी विकास योजनाअनुसार कार्य अगाडि बढाउने कार्यविधिमा उल्लेख छ ।

तर, पाटनमा जग्गा एकीकरणका लागि सहमति प्राप्त नभएको इन्जिनियर कलौनीले बताए । नयाँ सहर आयोजनालाई नागरिकले विश्वास गर्न नसकेको कारणले गर्दा जग्गा एकीकरण हुन नसकिरहेको पाटन नगरपालिकाका मेयर गौरीसिंह रावलले बताए । ‘पहाडमा स–साना गडा (कित्ता) को जमिन हुन्छ,’ उनले भने, ‘जग्गा दिँंदा २५ प्रतिशतसम्म बाटोमा जान्छ भनेर प्राविधिक भन्छन् । जग्गा घट्छ भनेर दिन मानिरहेका छैनन् । जग्गा एकीकरणपछि बचेको जग्गाको मूल्य बढ्छ भन्ने विषयमा बुझाउन गाह्रो छ ।’

नागरिकलाई नग्गा एकीकरणको विषयमा बुझाउने काम भइरहेको बताउँदै उनले यो आर्थिक वर्षमा आयोजना कार्यान्वयन हुने जग्गाको ५१ प्रतिशत जग्गाधनीले जग्गा दिन सहमति जनाएमा आयोजनाको काम अगाडि बढ्ने बताए । उनले नयाँ सहर आयोजना कार्यालय र सहरी विकास विभागले सो विषयमा कम चासो दिएकोले पनि आयोजना कार्यान्वयन ढिलो भइरहेको बताए । साँफेबगरमा नयाँ सहर विकास गर्न ८८ अर्ब एक करोड र पाटनमा ६९ अर्ब ४३ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

ठूलो लगतमा नयाँ सहर आयोजना कार्यान्वयन हुने भए पनि सरकारले ती आयोजनाका लागि थोरै बजेट विनियोजन गरिरहेको छ । बजेट अभावमा आयोजना कार्यालयले स–साना सडक, ढललगायतका योजना सञ्चालन गरिरहेका छन् । चालु आर्थिक वर्षका लागि साँफेबगर चालुतर्फ एक करोड ११ लाख र पुँजीगततर्फ १० करोड दुई लाख गरी कुल ११ करोड १३ लाख रुपैयाँ विनियोजन भएको छ भने पाटनमा चालुतर्फ एक करोड १६ लाख र पुँजीगतर्फ १३ करोड ६८ लाख गरी कुल १४ करोड ८४ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

पहिलो त्रैमासिकमा साँफेबगरको आयोजना कार्यालयले चालु बजेटको ०.४४ प्रतिशत (चार लाख ९५ हजार रुपैयाँ) खर्च गरेको छ भने पुँजीगत खर्च नभएको आयोजना कार्यालयले जनाएको छ । पाटनको आयोजना कार्यालयले पहिलो त्रैमासिकमा चालु र पुँजीगत दुवै रकम खर्च गर्न नसकेको नयाँ सहर आयोजना कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्ष २०८०/०८१ मा साँफेबगरका लागि कुल ११ करोड ६४ लाख विनियोजन भएकोमा नौ करोड २६ लाख (७९.५३ प्रतिशत) खर्च भएको थियो भने पाटनका लागि कुल पाँच करोड ५५ लाख विनियोजन भएकोमा तीन करोड ५८ लाख (६४.४६ प्रतिशत) खर्च भएको थियो ।

प्रतिक्रिया दिनुहोस्