Logo

वैदेशिक रोजगारीमा जानेमध्ये तराईका १० जिल्लाको हिस्सा ३७ प्रतिशत

काठमाडौं– वैदेशिक रोजगारीमा जानेमध्ये तराई क्षेत्रको हिस्सा बढ्दै गएको छ । वैदेशिक रोजगारीमा जानेमा तराई क्षेत्रका १० जिल्लाको हिस्सा ३७ प्रतिशत छ ।

भौगोलिक रुपमा पहाडीभन्दा तराईका जिल्लाबाट वैदेशिक रोजगारीमा जाने संख्या धेरै रहेको छ । दुई वर्षयता सबैभन्दा धेरै धनुषा जिल्लाबाट वैदेशिक रोजगारीमा गएको तथ्यांकले देखाउँछ । दोस्रोमा झापा र तेस्रोमा मोरङ छन् । वैदेशिक रोजगारीमा सबैभन्दा धेरै जाने १० जिल्लामा मधेश प्रदेशका ५ जिल्ला छन् ।

धनुषाबाट ३९ हजार १०७, सिरहाबाट ३० हजार ९३०, महोत्तरीबाट २७ हजार ३५०, सर्लाहीबाट २१ हजार २४३ र सप्तरीबाट २० हजार ४०० जना वैदेशिक रोजगारीमा गएको नेपाल ट्रेड युनियन महासंघले गरेको अध्ययनले देखाएको छ । यसैगरी कोशी प्रदेशको झापाबाट ३४ हजार ३६२, मोरङबाट ३१ हजार ९७ र सुनसरीबाट २३ हजार ९४९ जना गएका छन् । रुपन्देहीबाट २३ हजार ६०६ र चितवनबाट १८ हजार २४८ युवा वैदेशिक रोजगारीमा गएको देखिन्छ ।

जिफन्टका महासचिव जनक चौधरीले १० जिल्लाबाट रोजगारीका लागि सबैभन्दा धेरै यूएई, साउदी र मलेशिया गएको बताए । वैदेशिक रोजगारीमा सबैभन्दा कम जाने जिल्लामा भने हिमाली जिल्ला रहेका छन् । मनाङबाट १७९, मुस्ताङबाट २५९, मुगुबाट ५३७, हुम्लाबाट ५६१ र डोल्पाबाट ५१२ जना वैदेशिक रोजगारीमा गएका छन् । यो संख्या नयाँ र पुनः श्रमस्वीकृति लिने दुवैको हो ।

पछिल्लो समय पहाडी क्षेत्रबाट वैदेशिक रोजगारीमा जाने युवा धेरै कम भएको व्यवसायीले बताएका छन् । विदेशबाट आएको मागअनुसार अहिले युवा पाउन नै मुस्किल हुने गरेको छ । वैदेशिक रोजगारीमा जाने कुल संख्या हेर्दा अधिकांश तराईका जिल्ला र त्यसमा पनि मधेश प्रदेशको बाहुल्य भए पनि महिला श्रम आप्रवासनको प्रकृति भने फरक छ । वैदेशिक रोजगारीमा जाने महिलाको कुल संख्याको विश्लेषण गर्दा बागमती प्रदेशका पहाडी जिल्लाको बाहुल्य छ । जिल्लागत हिसाबले सबैभन्दा बढी वैदेशिक रोजगारीमा झापा, सिन्धुपाल्चोक, मोरङ र काठमाडौंका महिला गएका छन् ।

नेपालमा प्रत्येक वर्ष करिब ५ लाख श्रमयोग्य जनशक्ति श्रम बजारमा प्रवेश गर्ने सरकारी अनुमान छ । यसरी प्रवेश गर्ने श्रमशक्तिलाई रोजगार प्रदान गर्न नेपालको श्रम बजार सक्षम छैन । न्यून आर्थिक वृद्धि, भौगोलिक जटिलता, सीमित उब्जाउ योग्य भूमि, सीपविहिन जनशक्ति र कमजोर संरचनात्मक आर्थिक प्रणालीका कारण देशमा रोजगार उपलब्ध हुन नसकेर वैदेशिक रोजगारीमा जानु युवाको बाध्यता बनेको छ । यसरी श्रम बजारमा आउने युवालाई स्वदेशको रोजगारीको विकल्पमा मेनपावरले सहजिकरण गर्दै आएका छन् ।

नेपालले वैदेशिक रोजगारीका लागि संस्थागत रुपमा कामदार पठाउन श्रम सम्झौता गरेको देशको संख्या ११० पुगेको भए पनि नयाँ विकल्पको खोजी गर्न नसक्दा वैदेशिक रोजगारी पनि न्यून आम्दानी हुने खाडी तथा मलेसियामा मात्र केन्द्रित हुन पुगेको छ । कतार, मलेसिया, साउदी, यूएई, कुवेत, बहराइन, ओमान, दक्षिण कोरिया लगायतका देश नेपाली युवाका प्रमुख श्रम गन्तव्यका रुपमा रहेका छन् । यीमध्ये जापान, कोरिया र इजरायल आम्दानीका हिसाबले राम्रो मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस्