दुर्गमका गर्भवतीलाई निमन्त्रणा कार्ड «

दुर्गमका गर्भवतीलाई निमन्त्रणा कार्ड

 

स्वास्थ्यचौकीमै प्रसूति गराउन

जुम्ला-मातृ शिशु मृत्युदर कम गर्ने, सुत्केरीको स्वास्थ्यमा हुने जोखिम घटाउने लक्ष्यका साथ चन्दननाथ नगरपालिकाले विभिन्न कार्यक्रम अघि सारेको छ । सुत्केरीलाई न्यानो झोलादेखि अण्डा भालेसमेत वितरण गरेको छ । यी कार्यक्रम प्रभावकारी हुँदै गए पनि फेरि चन्दननाथ नगरपालिकाले सुरक्षित प्रसूतिका लागि गर्भवती महिलालाई ‘निमन्त्रणा कार्ड’ प्रदान गर्न सुरु गरेको छ । स्वास्थ्य संस्थामै आएर तालिम प्राप्त स्वास्थ्य कर्मीबाट सुत्केरी हुन, बच्चा र आमाको सुरक्षा हो भन्ने लक्ष्यका साथ नगरपालिकाभरीका गर्भवतीलाई निमन्त्रण कार्ड वितरण गरिएको मेयर कान्तिका सेजुवालले बताइन् ।
नगरपालिकाले गर्भवती जाँच र सुरक्षित सुत्केरी गराउन स्वास्थ्यचौकी तथा अस्पतालमा आउन आग्रह गर्दै गर्भवतीलाई निमन्त्रणा कार्ड दिन थालेको उनको भनाइ छ । नगरपालिकाको जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतले गर्भवतीलाई नियमानुसार चारपटक गर्भ जाँच गराउन र स्वास्थ्य संस्थामा पुगेर सुत्केरी गराउन आग्रह गरिएको बताए । यस कार्यले समयमै गर्भजाँच गराउने र घरमै सुत्केरी हुने दर घटाउने अपेक्षा गरिएको उनले बताए ।
नगरपालिकाभित्रका प्रत्येक गर्भवतीको घरमै पुगेर कार्ड वितरण गरिएको स्वास्थ्य शाखाले जनाएको छ । निमन्त्रणा कार्डले गर्भवती र तिनका अभिभावकलाई समयमै चेकजाँच गराउन तथा सुत्केरी गराउन स्वास्थ्य संस्थामै लैजान दबाब पुग्ने स्वास्थ्यकर्मीहरू बताउँछन् । गर्भवतीहरूलाई निमन्त्रणा कार्ड लिएर गर्भजाँच गराउन आउन र अनिवार्य रूपमा स्वास्थ्यचौकीमै सुत्केरी गराउन आउन आग्रह गरिएको छ । कार्डमा सुत्केरी हुने मिति, चार पटक चेकजाँच गराएको रेर्कडलगायत सबै विवरण हुन्छ ।
पहिलो चरणमा नगरपालिका क्षेत्रका चारवटा वडाका ९५ गर्भवतीलाई निमन्त्रणा कार्ड वितरण गरिएको छ । नगरपालिकाको ६, ७, ८ र ९ नम्बर वडाका गर्भवतीलाई निमन्त्रणा कार्ड वितरण गरिएको हो । निमन्त्रणा कार्डको एकातिर गर्भवतीको नाम, ठेगाना र सुत्केरी हुने समय उल्लेख गरिएको छ भने अर्कातिर गर्भावस्थामा ध्यान दिनुपर्ने कुरा, अपनाउनु पर्ने सावधानी तथा पोषणयुक्त खानाबारे उल्लेख गरिएको छ ।
यसैबीच, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा नवजात शिशुका लागि विशेष उपचार कक्ष स्थापना गरिएको छ । नवजात शिशुको मृत्युदर कम गर्ने उद्देश्यले शिक्षण अस्पतालमा नवजात शिशुका लागि विशेष उपचार कक्ष सञ्चालनमा ल्याइएको अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर पुजनकुमार रोकायाले बताए । अस्पतालमा चाँडै बाल सघन उपचार कक्ष पनि सुरु गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्