गार्डियन माइक्रो लाइफको आईपीओ बिक्री खुला
काठमाडौं– गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सले आइतबारबाट सर्वसाधारणको लागि प्राथामिक सेयर निष्कासन गरेको छ । कम्पनीले १८ लाख ४५ हजार कित्ता सर्वसाधारणका लागि निष्कासनमा ल्याएको छ । कम्पनीले सर्वसाधारणबाट १८ करोड ४५ लाख रुपैयाँ संकलन गर्न लागेको हो । प्रतिशेयर नेटवर्थ १००.५९ रुपैयाँ रहेको कम्पनीले सर्वसाधारणबाट पैसा उठाएर कम्पनीको चुक्तापुँजी बढाउनेछ ।
कम्पनीको हाल चुक्ता पुँजी ५२ हजार ५० लाख रुपैयाँ छ । यो संस्थापक लगानीकर्ताबाट उठाइएको पुँजी हो । अब सर्वसाधारणबाट १८ करोड ४५ लाख र वैदेशिक रोजगारमा गएकाहरूबाट, कर्मचारीबाट र कर्मचारी तथा सामूहिक लगानी कोषबाट कुल २२ करोड ५० लाख रुपैयाँ संकलन गरेर चुक्तापुँजी ७५ करोड पुर्याउनेछ ।
असार मसान्तसम्म कम्पनीले २७ लाख ५० हजार रुपैयाँ सञ्चित नाफा कमाएको छ। अघिल्लो वर्ष १५ लाख ८३ हजार मात्रै नाफा कमाएकोमा कम्पनीले गत वर्ष नाफा बढाएको थियो । आगामी तीन वर्षभित्र कम्पनीले यस्तो नाफा २७ लाखबाट बढाएर २ करोड ७४ लाख पुर्याउने लक्ष्य लिएको छ । जसअनुसार कम्पनीले आव २०८१/०८२ मा ८४ लाख १४ हजार, आव २०८२/०८३ मा १ करोड ७१ लाख र आव २०८३/०८४ मा २ करोड ७४ लाख रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको हो ।
यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ पनि अघिल्लो आर्थिक वर्षको तुलनामा सामान्यले मात्रै बढेको छ । आव २०७९/०८० मा १००.३४ रुपैयाँ रहेकोमा गतवर्ष १००.५९ रुपैयाँ पुगेको छ । आउने तीन वर्षमा प्रतिसेयर नेटवर्थ पनि बढेर १०४.११ रुपैयाँमा पुग्ने प्रक्षेपण छ । प्रतिसेयर आम्दानी भने शून्यमै छ । गत आर्थिक वर्ष २०७९/०८० मा ०.३४ रुपैयाँ प्रतिसेयर आम्दानी रहेको यस कम्पनीको गत असार मसान्तमा आइपुग्दा घटेर ०.२५ रुपैयाँ कायम भएको छ ।
कम्पनीले आउने तीन वर्षमा प्रतिसेयर आम्दानी १.५४ रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ । वित्तीय सूचकका आधारमा लगानीका लागि यो कम्पनी मध्य जोखिमयुक्त मानिन्छ । रेटिङ कम्पनी केयर रेटिङ नेपालले साउन २३ गते माइनस बीबी प्रदान गरेको छ । जसले मध्यमखालको जोखिमयुक्त भन्ने जनाउँछ ।