क्रोएसियाको राष्ट्रपतिमा पूर्वप्रधानमन्त्री मिलानोभिक निर्वाचित «

क्रोएसियाको राष्ट्रपतिमा पूर्वप्रधानमन्त्री मिलानोभिक निर्वाचित

जाग्रेभ-क्रोएसियाको राष्ट्रपतिमा पूर्वप्रधानमन्त्री जोरन मिलानोभिक निर्वाचित भएका छन् । राष्ट्रपति चयनका लागि भएको निर्वाचनको दोस्रो चरणबाट उनी निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अधिकारीहरूले ९९ प्रतिशत मत गणना भइसक्दासम्म मिलानोभिकले ५२.७ प्रतिशत मत ल्याएकाले उनी निर्वाचित भएको बताएका हुन् ।
आइतबार सार्वजनिक भएको निर्वाचनको मत परिणामअनुसार मिलानोभिकका प्रतिद्वन्द्वी तथा निवर्तमान राष्ट्रपति कोलिन्दा ग्राबर कितारोभिकले ४७.३ प्रतिशत मत पाएका छन् ।
पहिलो चरणको निर्वाचनमा कुल ११ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए । उनीहरूमध्ये धेरै मत ल्याउने दुई जनाका बीचमा दोस्रो चरणमा प्रतिस्पर्धा गराइएको हो । पहिलो चरणको निर्वाचत गत डिसेम्बर २२ तारिखमा भएको थियो ।
राष्ट्रपतिमा निर्वाचित भएका मिलानोभिकलाई सोसल डेमोक्र्याटिक पार्टी (एसडीपी) र अन्य केही पार्टीको समर्थन थियो ।
उनीसँग प्रतिस्पर्धा गरेकी ग्राबरलाई भने सत्तारुढ दल क्रोएसियन डेमोक्र्याटिक युनियन (एचडीजेड)को समर्थन थियो ।
मतदानका लागि योग्य करिब ३८ लाख मतदातामा ५५ प्रतिशतले मात्रै मतदान गरेका निर्वाचन आयोगले जनाएको छ ।
क्रोएसियामा हरेक पाँच–पाँच वर्षमा राष्ट्रपति चयनका लागि निर्वाचन हुने संवैधानिक व्यवस्था छ ।
आइतबार राति राष्ट्रपतिमा निर्वाचित भएको घोषणा भएपछि नवनिर्वाचित राष्ट्रपति मिलानोभिकले सबै नागरिकको आवाज सुन्ने र सबैको प्रतिनिधित्व गर्ने प्रतिबद्धता जनाएका थिए ।
निर्वाचनमा पराजित भएकी ग्राबरले पनि निर्वाचित मिलानोभिकलाई बधाई दिएकी छन् । नवनिर्वाचित राष्ट्रपति मिलानोभिक ५३ वर्षका छन् भने सन् २०११ को डिसेम्बरदेखि २०१६ को जनवरीसम्म प्रधानमन्त्री भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्