Logo

लमहीमा दिसाजन्य फोहोर व्यवस्थान गरिदै

दाङ– लमही नगरपालिकाले दिसाजन्य फोहर व्यवस्थापन काम अगाडि बढाउने भएको छ । चालु आर्थिक वर्षबाटै काम सुरु हुने नगरपालिकाले जनाएको छ । नगरपालिकाले यसका लागि ठेक्का आवहान गर्ने तयारीसमेत गरेको प्रवक्ता मोहन गिरीले जानकारी दिए । ‘छिट्टै नै ठेक्का आवहान गरेर योजनालाइ अगाडि बढाइने छ’ प्रवक्ता गिरीले भने ।

नगरपालिकाको वडा–५ मा रहेको अजम्मरी सामुदायिक वनमा फोहोर व्यवस्थापनको काम हुने गिरीले जानकारी दिए । यसका लागि सामुदायिक वन समुहसँग जग्गाको सम्झौता समेत भइसकेको छ । फोहोर व्यवस्थापनका लागि १ करोड खर्च हुने उनले बताए । नगरपालिकाले चालु आर्थिक वर्षमा ५० लाख बजेट छुटाएको प्रवक्ता गिरीले बताए । काम सुरु भएसँगै थप बजेट व्यवस्थापन हुने नगरपालिकाले जनाएको छ ।

यो काम नगरपालिका आफैंले गर्ने उनको भनाइ छ । दिशाजन्य फोहोर व्यवस्थापनका लागि योजना कार्यान्वनका लागि ५ विगाह क्षेत्रफल आवश्यक पर्ने गिरीले बताए । जग्गाको व्यवस्थापन हुन नसक्दा यसअघि काम अगाडि बढ्न सकेको थिएन । जग्गा व्यवस्थापनका लागि धेरै समय खर्च भएको थियो । नगरपालिकाले थालेको अभियानले फोहोर व्यवस्थापनमा समेत सहजता ल्याउने अपेक्षा गरिएको छ ।

दिशाजन्य फोहोर व्यवस्थापनबाट प्राङ्गारिक मल उत्पादन गरेर आम्दानी गर्ने नगरपालिकाको योजना छ । ‘योजना निर्माण सम्पन्न भएपछि नगपालिकाको दीर्घकालीन आम्दानीको स्रोत बन्ने छ’ उनले भने । वातावरण सफा राख्नसमेत सहयोग पुग्ने नगरपालिकाले जनाएको छ । यसका लागि प्लान्ट निर्माण गरेर त्यसमा सेप्टी ट्यांकीबाट निकालिएको फोहर राखेर त्यसलाई ठोस्मा परिणत गरिने योजना छ । जसलाई कम्पोस्ट मल बनाएर बिक्री समेत गरिने योजना नगरपालिकाले बनाएको छ ।

अहिले हरेक स्थानीय तहले फोहर व्यवस्थापनमा धेरै समस्या भोग्दै आएका छन् । पूर्व–पश्चिम राजमार्ग भएकाले पनि लमहीमा फोहर व्यवस्थापनमा समस्या हुने गरेको छ । यो निर्माण भएमा फोहर व्यवस्थापनमा केही मात्रामा भए पनि सहजता ल्याउन सकिने बताइएको छ । अहिले घर–घरबाट शौचालयको सेफ्टी ट्यांकीबाट ल्याइएको दिसाजन्य फोहर ल्यान्ड फिल्ड साइटमा व्यवस्थापन गरेको नगरपालिकाले जनाएको छ ।

नगरपालिका र निजी क्षेत्रको सहकार्यमा दिसा जन्य फोहर व्यवस्थापन गर्दै आएको बताएको छ । यसअघि फोहोर व्यवस्थापनका लागि नगरपालिकार र नेपाल नगरपालिका संघबीच सम्झौता गरेर अगाडि बढ्ने भनिएको थियो । परियोजना कार्यान्वयन गर्नका लागि लमही नगरपालिका र नेपाल नगरपालिका संघबीच २०७५ पुस १० मा सम्झौता भएको थियो । सम्झौतापछि फोहर व्यवस्थापनका लागि नगरपालिकामा भौतिक निर्माणको काम अगाडि बढाउने जनाएको थियो ।

परियोजना अगाडि बढाउन जग्गा व्यवस्थापन हुन नसक्दा तथो कोभिडलगायतका कारणले काम ढिला हुँदै आएको नगरपालिकाले जनाएको छ । महत्त्वपूर्ण परियोजना भए पनि नगरपालिकाले ध्यान दिन नसक्दा काम हुन नसकेको स्थानीय बताउँछन् । सम्झौता हुँदा नगरपालिका संघको सहकार्यमा देशभरका पाँचवटा नगरपालिकामा यस प्रकारको परियोजना लागू गर्नका लागि छनोट गरिएको थियो ।

नेपाल नगरपालिका संघको सहकार्यमा नगरमा सहरी सरसफाई सम्बन्धीको कार्य नमुना परीक्षणको रूपमा अगाडि बढाइएको हो । लमही, लहान, धुलिखेल, वालिङ र भीमदत्त नगरपालिकामा यस प्रकारको परियोजना सुरु गर्नका लागि छनोट गरिएकोे थियो । डीपीआर निर्माण तथा पोलिसी निर्माणमा नेपाल नगरपालिका संघले सहयोग गरेको र भौतिक निर्माण नगरपालिकाले आफंै गर्नुपर्ने भनेर सम्झौता गरिएको थियो । नगरपालिका संघले प्राविधिक सहयोग प्रदान गर्ने गरी सम्झौता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्