जाजरकोटका ३१ विद्यालय भवन र ११ स्वास्थ्य चौकी पुनर्निर्माण गरिने भएको छ ।
भूकम्पले क्षतिग्रस्त शिक्षा र स्वास्थ्यका पूर्वाधार निर्माणमा २५ करोड
जुम्ला– कर्णाली प्रदेश सरकारले भूकम्पबाट क्षतिग्रस्त सामुदायिक विद्यालयका भवन तथा स्वास्थ्य संस्थाको पुनर्निर्माण कार्य तत्काल अघि बढाउने भएको छ ।
२०८० कात्तिक १७ गते जाजरकोटको रामिडाँडा केन्द्र विन्दु भएर गएको भूकम्पले क्षतिग्रस्त शिक्षा र स्वास्थ्यका पूर्वाधारको पुनर्निर्माण तथा नयाँ संरचना निर्माणकार्य भौतिक पूर्वाधार मन्त्रालयले अघि बढाउने भएको हो । भूकम्पले जाजरकोटमा मात्रै साढे तीन सय बढी विद्यालय भवन क्षतिग्रस्त भएका थिए । जसका कारण पढाइ प्रभावित भएको थियो । तर प्रदेश सरकारले निकै जोखिमयुक्त भवन पहिलो चरणमा निर्माण गर्न लागेको छ ।
गत मंसिर १७ गते भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रमअनुसार चालु आर्थिक वर्षभित्रै काम हुने गरी भूकम्पबाट क्षतिग्रस्त विद्यालय र स्वास्थ्य संस्थाका संरचना पुनर्निर्माण गर्न छनोट गरिएको छ । जसमा जाजरकोटका ३१ वटा सामुदायिक विद्यालय र ११ वा स्वास्थ्य संस्थाको पुनर्निर्माणका लागि २५ करोड बजेटसमेत विनियोजन भइसकेको छ ।
चालु आर्थिक वर्षको भूकम्पबाट क्षतिग्रस्त सामुदायिक विद्यालय तथा स्वास्थ्य संस्थाको पुनर्निर्माण शीर्षकमा २५ करोड बजेट विनियोजन भएकोमा काम अघि बढाउन विद्यालय र स्वास्थ्य संस्था छनोट गरिएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयलले जनाएको छ । जीर्ण र चर्किएकै छाना भएका संरचनाबाट पठनपाठन तथा स्वास्थ्य सेवा प्रवाह गर्नुपरेको बाध्यात्मक अवस्थालाई मध्यनजर गरी पुनर्निर्माणको काम अघि बढाउन थालिएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सिनियर इन्जिनियर प्रवीण कार्कीले बताए ।
भूकम्पबाट क्षतिग्रस्त भवन पुनर्निर्माण कार्यक्रम सञ्चालन कार्यविधि–२०८१ अनुसार जिल्लाबाट सिफारिस भई आएका विद्यालय भवन तथा स्वास्थ्य संस्थामध्ये मंसिर १७ को मन्त्रीस्तरको निर्णयले ३१ विद्यालय र ११ वटा स्वास्थ्य संस्थाको पुनर्निर्माण गरिने सिनियर इन्जिनियर कार्कीले उल्लेख गरे । पुनर्निर्माणको सबै काम पूर्वाधार विकास कार्यालय जाजरकोटले गर्नेछ । क्षतिग्रस्त संचरनाको पुनर्निर्माणपछि चर्किएका विद्यालय भवनमा पढ्न बाध्य बालबालिकालाई राहतमात्र हुने छैन ।
उनले भने, ‘ढुक्कले पढ्ने वातावरण सिर्जना हुनेछ । स्वास्थ्य संस्थाको सेवा पनि सहज रूपमा सञ्चालन हुनेछ । डराइडराई भइरहेको पठनपाठन र सेवा प्रवाह गर्नुपर्ने बाध्यताको अन्त्य हुने अपेक्षा छ ।’ पछिल्ला केही दिनयता निरन्तर भूकम्पका पराकम्पन गइरहेकाले भौतिक तथा मानवीय क्षति हुनसक्ने जोखिमसमेत मध्यनजर गरी पुनर्निर्माणलाई गति दिन थालिएको हो । भूकम्पबाट सबैभन्दा क्षतिग्रस्त संरचना नै विद्यालय भवन हुन् समयमै पुनर्निर्माण नहुँदा जोखिम मोलेर पठनपाठन भइरहेका छन् ।
४२ संरचना पुनर्निर्माण गर्न २५ करोड
भूकम्पबाट क्षतिग्रस्त ४२ वटा संरचनाको पुनर्निर्माण गर्न कर्णाली प्रदेश सरकार भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले २५ करोड बजेट विनियोजन गरेको छ । जसमा ३१ वटा सामुदायिक विद्यालयका भवन पुनर्निर्माण गरिने भएको छ । ३१ विद्यालय भवन पुनर्निर्माण गर्न १९ करोड ८० लाख बजेट विनियोजन गरिएको छ । ११ वटा स्वास्थ्य संस्था पुनर्निर्माण गर्न पाँच करोड २० लाख बजेट छुट्याइएको छ ।
पुनर्निर्माण शीर्षकमा विनियोजित कुल २५ करोडमध्ये क्षतिग्रस्त विद्यालयका संरचनाका लागि १९ करोड ८० लाख छुट्याइएको मन्त्रालयका सिनियर इन्जिनियर प्रवीण कार्की बताउँछन् । उनका अनुसार बारेकाट गाउँपालिकाका पाँचवटा विद्यालय पुनर्निर्माणका लागि ३२ लाख ५० हजार, नलगाड नगरपालिकाका चार विद्यालयमा २५ लाख ५० हजार, भेरी नगरपालिकाका तीन विद्यालय पुनर्निर्माण गर्न १७ लाख बजेट विनियोजन गरिएको छ ।
त्यस्तै, छेडागाड नगरपालिकाका चार विद्यालयका लागि २५ लाख ५० हजार, कुशे गाउँपालिकाका पाँच विद्यालय पुनर्निर्माण गर्न ३६ लाख, शिवालय गाउँपालिकाका ५ विद्यालय पुनर्निर्माण गर्न २८ लाख बजेट छुट्याइएको छ । यसैगरी जुनिचाँदे गाउँपालिकामा पाँचवटा विद्यालय पुनर्निर्माण गर्नका लागि ३३ लाख ५० हजार रुपैयाँ विनियोजन गरीएको छ । यसरी जाजरकोटका ३१ वटा विद्यालय पुनर्निर्माण गर्न कुल १९ करोड ८० लाख बजेट विनियोजन भएको छ ।
जाजरकोटका सात स्थानीय तहमा पूर्वाधार विकास कार्यालय जाजरकोटले पुननिर्माणको काम गर्ने भएको छ । त्यसैबीच स्वास्थ्य संस्थातर्फ कुल पाँच करोड २० लाख बजेट लगानीमा जाजरकोटका ११ वटा स्वास्थ्य संस्थाको पुनर्निर्माण गरिने छ । जसमा बारेकोट गाउँपालिकाका दुईवटा स्वास्थ्य इकाई निमार्णका लागि एक करोड, नलगाड नगरपालिकाका दुईवटा स्वास्थ्य चौकी भवन निर्माणमा नौ लाख ५० हजार, भेरी नगरपालिकाका दुई स्वास्थ्य चौकी निर्माण गर्न ८० लाख बजेट विनियोजन भएको छ ।
त्यस्तै छेडागाड नगरपालिकाका तीनवटा स्वास्थ्य बनाउन एक करोड ४५ लाख र जुनिचाँदे गाउँपालिकाका दुईवटा स्वास्थ्य चौकी निर्माण गर्न एक करोड गरी स्वास्थ्य संस्थाको संरचना निर्माण तथा पुनर्निर्माणमा पाँच करोड २० लाख विनियोजन गरिएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ । विद्यालय तथा स्वास्थ्य संस्थाका संरचना पुनर्निर्माण हुने बाटो खुले पनि पुसको कठ्याँग्रिदो चिसोमा भूकम्प पीडित टहरामै बस्न बाध्य भएका छन् । अधिकांश भूकम्प पीडितले पहिलो किस्ता नै पाउन सकेका छैनन् ।