माथिल्लो मस्र्याङ्दीमा लगानी सुनिश्चित
तीन वाणिज्य बैंकले १६ अर्ब लगानी गर्ने
काठमाडौं– माथिल्लो मस्र्याङ्दी–१ जलविद्युत आयोजनामा तीन वाणिज्य बैंकले १६ अर्ब रुपैयाँ लगानी गर्ने भएका छन् । कुल १०२ मेगावाट क्षमताको यस आयोजनामा लक्ष्मी सनराइज बैंकले ७ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । सहवित्तीयकरणमा सहभागी अन्य बैंकहरुमा ग्लोबल आइएमइ बैंक र प्रभु बैंकको क्रमश: ६ अर्ब र ३ अर्ब रुपैयाँ लगानी रहनेछ । लक्ष्मी सनराइज बैंकको नेतृत्वमा अन्य दुई बैंकले लगानी गर्न लागेका हुन् । बैंकहरुको लगानी जलविद्युत आयोजनाको कुल लागतको ७४ दशमलव ७७ प्रतिशत रहेको छ ।
आयोजनाको कुल लागत २१ अर्ब ४० करोड रुपैयाँ छ । बाँकी २५ दशमलव २३ प्रतिशत लगानी भने अपर मस्र्याङ्दी जलविद्युत कम्पनी र यस कम्पनीका प्रवर्द्धक केसी ग्रुप नेपाल र क्याल ग्रुपको लगानी रहनेछ । आयोजनाको वित्तीय व्यवस्थापन ९ पुस २०८१ म भएको हो । आयोजनाको लागि वित्तीय व्यवस्थापन भएकोमा उत्साहित रहेको र समयमै आयोजनाको काम सम्पन्न गर्ने अपर मस्र्याङ्दी जलविद्युत कम्पनीका उपाध्यक्ष आनन्द चौधरीले बताए ।
‘अब योजनाअनुसार आयोजना कार्यान्वयन गरिनेछ, तोकिएको सययमै आयोजना पूरा गर्ने विश्वास छ’ उनले भने । आयोजनाले २०७५ पुस १० मा विद्युत विकास विभागबाट विद्युत उत्पादनको अनुमपति पत्र लिएको थियो । ६ वर्षपछि ९ पुस २०८१ मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पीपीए) गरेको छ । आयोजनाबाट करिब ६ वर्षपछि सन् २०२९ को जुनमा निर्माण सम्पन्न गरी विद्युत उत्पादन थाल्ने योजना छ ।
आयोजनाबाट वार्षिक ५८३ दशमलव ०३ गिगावाट आवर इनर्जी उत्पादन हुनेछ । अपर मस्र्याङ्दी–१ जलविद्युत आयोजना लमजुङ जिल्ला भएर बग्ने मस्र्याङ्दी नदीमा प्रस्तावित आयोजना हो । प्रस्तावक अपर मस्र्याङ्दी पावर कम्पनीले विद्युत विकास विभागबाट १५ साउन २०६५ मा सर्वेक्षण अनुमति प्राप्त गरेको थियो । त्यसबेला गरेको सम्भाव्यता अध्ययनले १३८ मेगावाट क्षमता प्राप्त गर्न सकिने निष्कर्ष निस्किएको थियो ।
त्यही क्षमतालाई कायम राखेर आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनसमेत स्वीकृत भइसकेको छ । सम्पूर्ण प्रक्रिया सम्पन्न गरी आयोजना सुरु गर्ने क्रममा प्रस्तावित आयोजनाको विद्युतगृहभन्दा तल अर्को आयोजना अपर मस्र्याङ्दी ए जलविद्युत आयोजनाको बाँधक्षेत्रले प्रभाव पार्ने देखियो । त्यसपछि अपर मस्र्याङ्दी पावर कम्पनीले विद्युतगृहलाई पहिलेको आयोजनाको सीमाभन्दा करिब १ दशमलव २ किलोमिटरमाथि सार्ने निर्णय गर्याे ।
सोही अनुरुप पुन: विस्तृत अध्ययन गरिएको थियो । पुन: गरिएको अध्ययनले क्षमता १०२ मेगावाट प्राप्त गर्न सकिने देखाएको हो । त्यसपछि यसका आकार, संरचनाका प्रकार र स्थान परिवर्तन गरिएको छ । यसै परिवर्तनका कारण पूरक वातावरणीय प्रभाव मूल्यांकन गरिएको हो । अपर मस्र्याङ्दी– १ जलविद्युत रन अफ रिभर आयोजना हो । यसको संरचनाहरु मस्र्याङ्दी गाउँपालिकाको– ३ र ४ मा पर्छन् । आयोजनाको सम्पूर्ण संरचनाहरु मस्र्याङ्दी नदीको दायाँ किनारामा अवस्थित रहने छन् ।
जसमध्ये हेडवक्र्स क्षेत्र रामबजारमा रहने छ भने विद्युतगृह सिउरुङवेसीस्थित सिउरुङखोला र मस्र्याङ्दी नदीको संगमस्थलमा रहनेछ । आयोजनास्थल लमजुङको बेसीसहरबाट खुदी, डादी हुँदै करिब २५ किलोमिटर कच्ची मोटरबाटो पार गरेपछि पुग्न सकिन्छ । मस्र्याङ्दी नदीमा बाँध बाँधेर पानीलाई डिसिल्टिङ बेसिनमा थिग्राएर ५१४२ दशमलव २८ मिटर लामो हेडरेस सुरुङमार्फत सर्ज ट्यांकमा पुर्याइ ४२६ दशमलव ८६ मिटर लामो पेनस्टक पाइपको सहायतामा विद्युतगृहमा झारी १०२ मेगावाट विद्युत उत्पादन गरिने छ ।
पानीलाई १९८ मिटर लामो टेलरेसमार्फत पुन: मस्र्याङ्दी नदीमा खसालिने छ । आयोजनाको निर्माणपछि उत्पादित विद्युतलाई २२० के.भी. प्रसारण लाइनमार्फत करिब ६.५ किलोमिटर टाढा रहेको खुदी (तादी कुना) सबस्टेसनमा लगि जडान गरिने छ । बाँध, हेडरेस सुरुङ, सर्ज ट्यांक, पेनस्टक, विद्युतगृह, पहुँचमार्ग आदि संरचनाहरु नदीको दायाँ किनारामा अवस्थित रहने छ ।
ठेकेदार र कामदारका लागि शिविर क्षेत्र र निर्माण सामग्री उत्खनन्का लागि प्रस्तावित खानीक्षेत्र नदीको बायाँ किनारमा रहने छ । आयोजना निर्माणका लागि दक्ष, अर्धदक्ष र अदक्ष गरी करिब १ हजार ५ सय कामदारहरुको आवश्यकता पर्ने अनुमान छ । यस आयोजनाको कार्यान्वयनबाट मस्र्याङ्दी गाउँपालिकाको–३, ४, ५ र ६ प्रभावित हुनेछन् । यस आयोजनाबाट मुख्य प्रभावित क्षेत्रहरुमा रामबजार, घेर्मु, मिप्रा, सिउरुङबेसी, अर्खलेवेसी, ठूलीवेसी, थाकन र थाकनबेसी रहेका छन् ।
आयोजना निर्माणका क्रममा निजी घरजग्गा अधिग्रहण गर्नुपर्ने प्रभावित घरधुरीको संख्या ९० रहेको छ भने विस्थापित हुने घरहरु १४ वटा रहेका छन् । आयोजनाका लागि प्रयोग हुने ३ दशमलव ४९ हेक्टर स्थायी र १२ हेक्टर अस्थायी जंगल, १६ दशमलव ४८ हेक्टर खोला तथा किनारा क्षेत्रका कारण उक्त क्षेत्रको भू–उपयोगमा परिवर्तन हुनेछ । आयोजना क्षेत्रभित्र रहेको विभिन्न प्रजातिको करिब ३४७ रुख, ३८१ बल्लाबल्ली तथा ७८ साना रूखहरु काट्नुपर्ने पूरक वातावरणीय प्रभाव मूल्यांकनले देखाएको छ ।