Logo

मेलुङको गाउँ–गाउँमा भारतीय व्यापारी

दोलखा– दोलखाको मेलुङका गाउँ–गाउँमा सुन्तला खरिद गर्न भारतीय व्यापारी पुगेका छन् । मेलुङ गाउँपालिका– १ पवटीको सुन्तला खरिदका लागि भारतीय व्यापारी पुगेका हुन् । विगतमा स्थानीय व्यापारीले मात्रै खरिद गरेर बजार लैजाने गरेकोमा यस वर्ष भारतीय व्यापारी नै गाउँमै आएको स्थानीयले बताएका छन् ।

बर्सेनि सुन्तला उत्पादन बढ्दै गएपछि व्यापारीहरूको आकर्षण पवटीमा परेको हो । पवटीमा सुन्तला खेती बढ्दै छ । खेती गर्ने क्षेत्र बढेसँगै सुन्तला बेचेर आम्दानी पनि बढ्दै गएको छ । मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा थोकरले सुन्तला खेती विस्तारका लागि उन्नत जातका बिरुवा वितरण र रोग किरा नियन्त्रणमा लगानी बढाएको बताए ।

बगैंचा सुधार गर्न र बाँझो रहेको जग्गामा सुन्तला खेती विस्तारमा स्थानीय सरकारले प्रोत्साहन गरेको उनले बताए । यस वर्ष पनि १० हजार बढी उन्नत जातका बिरुवा किसानलाई वितरण गरेको उनले जानकारी दिए । यी बिरुवाले फल दिन थालेपछि उत्पादन दोब्बर हुने विश्वास किसानहरूको छ । सजिलो खेती, बजारको कुनै समस्या नहुने भएकाले पछिल्लो समय अरु बाली छाडेर सुन्तला मात्रै खेती गर्ने किसानहरूको संख्या बढ्दै छ ।

स्थानीय व्यापारीले कात्तिक मंसिरमै बगैंचा खरिद गर्छन् । स्थानीय व्यापारीले गत वर्षबाट सुन्तला तामाकोसी बजार हुँदै सिन्धुली र बर्दिबाससम्म पुर्‍याएपछि भारतीय व्यापारी आफैं बगैंचामै आएको मेलुङ गाउँपालिका– १ का वडा सदस्यसमेत रहेका व्यापारी कमल बुढाथोकीले जानकारी दिए । स्थानीय व्यापारीभन्दा भारतीय व्यापारीले बगैंचामै बढी मूल्य तिरेको उनले बताए । ‘स्थानीय व्यापारीले बगैंचामा प्रति किलो ७० रुपैयाँ दिएका थिए’,उनले भने,‘भारतीय व्यापारी आएर ९० रुपैयाँसम्म बगैंचामै दिए ।’

बढी मूल्य पाउँदा किसानलाई राम्रो भएको छ । तर, प्रतिस्पर्धाले बजारमा भने किलोको एक सय रुपैयाँमा नै सुन्तला पाउने गरिएको छ । व्यापारीलाई भने खासै राम्रो आम्दानी नभएको उनको भनाइ छ । बगैंचामै व्यापारी आउन थालेपछि आफूले सबै खेती छाडेर सुन्तला मात्रै लगाएको पूर्व शिक्षक चक्र उप्रेतीले बताए । चक्रले १० रोपनी जग्गामा सुन्तला लगाएका छन् । उनले यस वर्ष ५ लाख बढीको सुन्तला उत्पादन भएको बताए ।

चक्र जस्तै यस वर्ष ५ लाखभन्दा बढीको सुन्तला बिक्री गर्ने निता प्रसाई, यज्ञबहादुर कार्की, हेमबहादुर बस्नेत, रामशरण बुढाथोकी, सुब्बा बुढाथोकी, डिल्लीबहादुर खड्कालगायत छन् । उनीहरू पवटीमा सबैभन्दा ठूला बगैंचा भएका किसानहरू समेत हुन् । बढी सुन्तला उत्पादन हुने भएकाले मेलुङ गाउँपालिकाले सुन्तला पकेट क्षेत्रको रूपमा समेत घोषणा गरेको छ । रोग किराले दु:ख दिएपछि गाउँपालिकाले नै नियन्त्रणको पहल थालेको थियो ।

यस वर्ष अघिल्लो वर्षभन्दा सुन्तलाको उत्पादन नबढे पनि मूल्य राम्रो भएकाले किसानको आम्दानी बढेको छ । कात्तिक १५देखि दैनिक १० देखि २० टनसम्म सुन्तला बजारमा गइरहेको स्थानीयको भनाइ छ । गाउँपालिका उपाध्यक्ष गायत्री आचार्यले किसानकै भनाइको आधारमा तथ्याङ लिँदा १० करोड बढी सुन्तला बेचेर किसानले लिएको बताइन् । १५ सय टन बढी सुन्तला बजार पुगिसकेको उनले बताइन् । अझै केही सुन्तला किसानकै बगैंचामा रहेकाले बजार जाने क्रममै रहेको उनको भनाइ थियो ।

सुन्तला कात्तिक अन्तिमदेखि पुस १५ सम्म टिपी सक्नु पर्छ । तर चिस्यान केन्द्रको अभावमा भण्डारण गर्ने ठाउँ नहुँदा एकै पटक बजार लैजानु पर्दा केही कठिनाइ भएको उनले बताए । पवटीमा माघ मध्येसम्म सुन्तला बगैंचामै पाइन्छ । पवटीमा ९ सय घर प्रत्यक्ष रूपमा सुन्तला खेतीमा सक्रिय रहेका छन् । हरेक घरले न्यूनतम १० हजारदेखि अधिकतम ५ लाख रुपैयाँसम्म सुन्तला बिक्रीबाट यस वर्ष आर्जन गरेका छन् ।

गाउँ छाडेर सहर छिर्नेहरू पनि गाउँमा सुन्तला खेती गर्न आउने गर्छन् । फल टिपी सकेपछि काँटछाँट र मल खादको व्यवस्थापन गरेपछि सुन्तला फल्न योग्य हुने सुन्तला किसान जगत गनिकाले बताए । आफूले ६ वर्ष अघिबाट सुुन्तला बिक्री सुरु गरेको जानकारी उनले दिए । थोरै मिहेनतमा राम्रो आम्दानी हुने भएपछि बगैंचा पनि क्रमश: बढ्दै गएको किसानहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्