सुख्खा बगरको तालले रोजगारी र व्यापारमा वृद्धि
![](https://www.karobardaily.com/wp-content/uploads/2025/01/bhatar-tal-1.jpg)
बारा- मधेश प्रदेशको बागमती नगरपालिकाले सुख्खा बगरमा पर्यटकीय ताल निर्माण गरी सञ्चालनमा ल्याएको छ । ताल सञ्चालनमा आएसँगै रोजगारी बढेको छ भने व्यापार व्यवसायमा पनि सुधार भएको हो । ताल सञ्चालन भएपछि तालमा बोटिङ, उट तथा घोड सवारी, मिनी रेल, साना सवारी, अटो, होटल, सञ्चालन भइरहेको छन् ।
२०२८ सालपछि नगरपालिकाको–४ र १२ मा बग्ने बागमती नदी सुख्खा बनेपछि सोही बगरको १ सय २१ बिघा क्षेत्रफलमा नगरपालिकाले २०७६ सालदेखि सुरु गरी ०७९ सालमा पर्यटकीय ताल सञ्चालनमा ल्याई करिब वार्षिक २ करोड रुपैयाँ राजस्व संकलन गर्दै आएको छ । तालमा भिएसएलको ठूलो बोट र २६ वटा स्ट्रिम बोट सञ्चालनमा रहेका छन् ।
अन्य दिनमा एक लाख रुपैयाँसम्मको टिकट बिक्री हुने गरेको बोटमा शनिबार र बिदाको दिनमा दुई हजारभन्दा बढी व्यक्तिले प्रति व्यक्ति तीन सय शुल्क तिरेर बोटिङ गर्ने गरेको कर्मचारी सहारा श्रेष्ठले बताइन् । डुंगा चढ्दा शुल्कप्रति व्यक्ति तीन सय रूपैयाँको २० प्रतिशत नगरपालिकाले लिने हुँदा गत महिना मात्रै १९ लाख रूपैयाँ राजस्व संकलन भएको नगरपालिकाले बताएको हो ।
नगर प्रमुख भरत थापाले ५६ करोड लगानीमा समुद्रको अनुभूति दिलाउने ताल र मनै लोभ्याउने बगैंचा बनेपछि करिब ५ हजारले प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी पाएको बताए । एक वर्षमा आन्तरिक तथा बाह्य गरी २० लाख पर्यटक ताल अवलोकनका लागि आउने गरेपछि यहाँका निजी क्षेत्रका होटल, सवारी साधन, चलायमान बन्दा करोडौंको व्यापार हुने गरेको थापाको भनाइ छ ।
ताल बनेपछि बोट चलाउने काम पाएका स्थानीय रमेश स्माईलीले अफ सिजनमा ३५ हजारसम्म कमाई हुने गरेको र गाउँमै रोजगार पाएकोमा स्थानीय सरकारलाई धन्यवाद दिए । नगर प्रमुख भरत थापाले ताल क्षेत्रलाई बृहत बनाउन उत्तरी क्षेत्रमा कृत्रिम सुमेरु पर्वतको आकृति, ताल नजिकै जंगल सफारीसहितको चिडियाखाना, कलात्मक प्राचिन शैलीको मन्दिर, पोखरीको बीचमा मिनी क्यासिनोसहितको सुविधा सम्पन्न होटल, डिजिटल पिकनीक स्पट, सौन्दर्यकरण, वाटर फ्लाईलगायतका काम अदालतमा मुद्दा परेको कारणअघि बढन नसकेकोले रोपकएको बताए ।
संघ, प्रदेश र स्थानीय तहको ५८ करोड रूपैयाँको बजेटबाट निर्माण भएको तालमा थप एक अर्ब रूपैयाँ भए आयोजनाको बााकी काम सकिने आँकलन गरिएकोछ । करिब १८ लाख घनमिटर पानी जम्मा भएको ताललाई आकर्षक बनाउन डल्फिन तथा पानीमा हुने सबै जीव यहाँ राख्न पुग्ने नगरपालिकाको विकाश शाखाले जनाएको छ । तालको पानी दुर्गन्धित हुन नदिन पानी हाल्ने र निकाल्ने सुली गेट बनाइएको छ ।
ताल र वरपर गरी लगभग अढाई सय बिघा जग्गामा आयोजनाको सबै काम सकिएपछि पर्यटक अझै बढ्ने हुँदा मधेशको प्रमुख पर्यटकीय केन्द्र बन्ने र राजस्व ब्यापक संकलन हुने मेयर थापाको दाबी छ । चुरे पर्वतको फेदीमा सधैं बगिरहने बागमती नदीको किनारमा अवस्थित भरत ताल सुरुमा माछापालनका लागि पोखरी खनिएपछि, तालको रूपमा विकास गरिएको हो । भरत ताल बनेपछि ताल घुम्ने र बोटिङ गर्न रहर बुनेका मधेशवासीहरूलाई सयौं किलोमिटर जानुपर्ने बाध्यता हटेको छ ।
भरत ताल अहिले मधेशका जिल्लाहरूका स्थानीयको छुट्टीको दिन गन्तव्य बन्ने गरेको छ । ताल घुम्ने रहरलाई भरत तालले पूरा गरेको र अब अन्त धेरै खर्च गरेर जान नपर्ने सिमरा बाराका पुकार क्षेत्रीले बताए । पछिल्ला दिनमा छिमेकी भारतबाट समेत यहाँ ठूलो संख्यामा पर्यटक आउने गरेपछि नाट्टाका मधेश प्रदेश अध्यक्ष मोहन शर्माले मधेशको बगरमा नसोचेको सौन्दर्यमुग्ध मानव निर्मित ताल बनेपछि आन्तरिकसँगै भारतको बिहार राज्यका पर्यटकसमेत आकर्षित भएको आफूले पाएको बताए ।
‘ताल क्षेत्रले बढाएको मधेशको बढ्दो पर्यटकीय गतिविधिले मधेशको विकाश र समृद्धिको एउटा मानक भरत ताल बन्दै गएको छ’ शर्माले भने,‘यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई कम्तीमा दुई दिन अड्याउने गरी ताल वरपर सौन्दर्यकरण गरिन सके पर्यटकले ल्याउने पैसाको ५० प्रतिशत ताल क्षेत्रमै खर्च हुने छ ।’ भरत ताल पूर्वपश्चिम राजमार्गको सर्लाही जिल्लाको मुख्य सडकमा अव्यवस्थित रहेको छ भने दक्षिणतर्फ ४२ किलोमिटर भारतको सडक पर्ने गरेको छ । नगरपालिकाले तालको नाम बागमती फिसरी पन्ड राखे पनि ताल घुम्न पुग्नेहरूले सम्मान गर्दै मेयर भरत थापाको भनेर नामकरण गरिदिएको स्थानीयले बताएका छन् ।