Logo

विराटनगर महानगरपालिका नगरसभाको पन्ध्रौं अधिवेशन सम्पन्न

३ अर्ब ४९ करोड लक्ष्यमा १ अर्ब २२ करोड आम्दानी

विराटनगर– विराटनगर महानगरपालिका नगरसभाको पन्ध्रौं अधिवेशन सम्पन्न भएको छ । महानगरले चालु आर्थिक वर्षका लागि तय गरेको बजेट यथावत राखेर नगरसभाको पन्धौं अधिवेशन सम्पन्न भएको हो । अघिल्लो अधिवेशनले बजेट संशोधन गरेको थियो । तर यस अधिवेशनले चालु आवको नीति तथा कार्यक्रममा परेका योजना र कार्यक्रमको शीर्षकमात्रै परिवर्तन गरेको छ ।

मेयर नागेश कोइरालाको अध्यक्षतामा भएको नगरसभा अधिवेशनमा उपमेयर शिल्पा निराला कार्कीले चालु आर्थिक वर्ष २०८१/०८२ का लागि संशोधित आय–व्यय प्रस्तुत गरिन् । उपमेयर कार्कीले चालु आर्थिक वर्षको पुस १५ गतेसम्म एक अर्ब २२ करोड ४८ लाख रुपैयाँ अर्थात् ३५ प्रतिशतमात्रै यथार्थ आय भएको बताइन् । चालु आर्थिक वर्षका लागि तीन अर्ब ४९ करोड ९८ लाख आय अनुमान गरिएको थियो ।

त्यस्तै तीन अर्ब ४९ करोड ९८ लाख कुल व्यय अनुमान गरिएकोमा पुस १५ गतेसम्म ६९ करोड ५४ लाख रुपैयाँ अर्थात् १९ दशमलव ८७ प्रतिशतमात्रै खर्च भएको छ । उक्त खर्चमध्ये १४ करोड ४० लाख पुँजीगत र ५५ करोड १३ लाख रुपैयाँ प्रशासनिक एवं चालुतर्फ खर्च भएको उपमेयर कार्कीले प्रस्तुत गरेको संशोधित आयव्ययमा उल्लेख छ । त्यसैगरी एक अर्ब १० करोड ७९ लाख रुपैयाँ आन्तरिक आय अनुमान गरिएकोमा चालु आर्थिक वर्षको साउनदेखि पुस १५ गतेसम्म २३ करोड ३५ लाख ९७ हजार रुपैयाँ अर्थात् २१ दशमलव ०८ प्रतिशतमात्रै संकलन भएको छ ।

त्यस्तै राजस्व बाँडफाँडबाट प्राप्त राजस्वतर्फ प्रदेश सरकार सवारी साधन कर, घरजग्गा रजिस्ट्रेसन दस्तुर, मूल्य अभिवृद्धि कर तथा अन्त:शुल्क गरी कुल ८३ करोड ५४ लाख अनुमान गरिएकोमा १६ करोड ३४ लाख रुपैयाँ अर्थात् १९ दशमलव ५६ प्रतिशतमात्रै रकम प्राप्त भएको उपमेयर कार्कीले पन्धौं नगरसभामा संशोधित बजेट तथा कार्यक्रममा उल्लेख छ । अन्तरसरकारी वित्तीय हस्तान्तरण संघीय सरकारतर्फ एक अर्ब २२ करोड १० लाख अनुमान गरिएकोमा ६७ करोड ९२ लाख रुपैयाँ अर्थात् ५५ दशमलव ६२ प्रतिशत अनुदान प्राप्त भएको छ ।

प्रदेश सरकार अन्तरसरकारी वित्तीय हस्तान्तरणतर्फ दुई करोड ५७ लाख प्राप्त भएको छ । प्रदेश सरकार अन्तरसरकारी वित्तीय हस्तान्तरणतर्फ आठ करोड ३९ लाख प्राप्त हुने अनुमान गरिएको छ । अधिवेशनलाई सम्बोधन गर्दै मेयर नागेश कोइरालाले सीमित स्रोत र साधनबाट विराटनगरवासीको असीमित आवश्यकता परिपूर्ति गर्नु निकै चुनौती देखिएको बताए । सीमित स्रोत र साधनको अधिकतम प्रयोग गर्दै भौतिक संरचनाको विकाससँगै शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा परिणाममुखी काम गर्न सफल भएको मेयर कोइरालाको भनाइ थियो ।

बहुवर्षीय योजनाअन्तर्गत निर्माणाधीन विराट राजाको दरबार, रानीपोखरी, मण्ठापोखरी, पूर्वप्रधानमन्त्री पार्क, सन्ध्याकालीन आरतीस्थल, बाल उद्यन, महानगरको बहुप्राविधिक शिक्षालयको भवन, महानगरको प्रशासनिक भवनसहितका ठूला परियोजना चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको जानकारी दिए । बितेको अढाइ वर्षमा करिब ३१ किलोमिटर कालोपत्रे र ४८ किलोमिटर नयाँ सडकमा ग्राभेल, ४६ किलोमिटर नाला, १७८ वटा कल्भर्ट, ९२ किलोमिटर आरसीसी सडक ढलान र ७५ किलोमिटर रिटेरिङ वाल निर्माण सम्पन्न गरेको मेयर कोइरालाले बताए ।

उनका अनुसार बहुवर्षीय योजनाअन्तर्गत पाँच करोड ३८ लाख रुपैयाँको लागतमा बीएफएम अगाडिको सडक हालैमात्र कालोपत्रे गर्ने कार्य सम्पन्न भएको छ । राजवंशीचोक पश्चिम पुल्चोकदेखि करिब साढे पाँच किलोमिटर नहरको बाटोलाई तीन करोड ८२ लाख रुपैयाँको लागतमा कालोपत्रे गर्नका लागि काम सुरु भइसकेको उनले बताए । विराटनगरको ट्राफिक व्यवस्थापनका लागि विभिन्न पाँच स्थानमा ७७ लाख रुपैयाँको लागतमा ट्राफिक लाइट जडान भई सञ्चालन आइसकेको छ ।

पुष्पलालचोक–पानी ट्यांकी सडकअन्तर्गत करिब १२ सय मिटर सडक जीर्णोद्वार सम्पन्न गरिएको, विराटनगरको खानेपानी समस्या साधानका लागि जाइकाको अनुदान सहयोगमा धमाधम पाइप बिछ्याउने काम भइरहेको, विराटनगरमा भएका बैंक तथा वित्तीय संस्थाको आर्थिक सहयोगमा बरगाछी–रानी सडकको सौन्दर्यकरण परियोजना जारी रहेको, ढल नालासहित सरसफाइ कार्य प्रभावकारी रूपमा सञ्चालन भइरहेको, विराटनगरको भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण, संवद्र्धन र विकास गर्ने उद्देश्यले विराटनगर प्रज्ञा प्रतिष्ठान गठन गरिएको समेत मेयर कोइरालाले उल्लेख गरे ।

त्यस्तै कोइरालाले नगर प्रहरीले महानगरवासीको घरभित्र छिरेको सर्प समाएर व्यवस्थापन गर्ने कार्यलाई निरन्तरता दिँदै आएको, बैजनाथपुर अस्पतालमा बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको, १९ वटै वडामा पाठेघरको क्यान्सरको जाँच भइरहेको, महानगर अटिजम सेवा केन्द्र पनि सञ्चालनमा ल्याइएको, बिरामीहरूको सम्पूर्ण स्वास्थ्यसँग सम्बन्धित विवरण डिजिटल हेल्थ प्रणालीमा राख्ने कार्यका लागि प्रक्रिया अगाडि बढाइसकिएको, यसअघि सञ्चालनमा रहेका स्वास्थ्य शिविर, आँखा शिविर, ज्येष्ठ नागरिकको घरमा पुगेर दिने स्वास्थ्य सुविधालगायतलाई निरन्तरता दिइएको बताए ।

मदिरा तथा सुर्तीजन्य पदार्थसहित सञ्चालनमा रहेका होटल, रेस्टुराँ, सभ्य र मर्यादित रूपमा सञ्चालन गर्न सचेत गराउने र नियमन गर्ने कार्य भइरहेको समेत मेयर कोइरालाले बताए । गीत, गजल र दोहोरी साँझका कारण बढ्दो ध्वनि प्रदूषणलाई अनुगमन समिति बनाएर नियन्त्रण गर्ने कार्य जारी रहेको, रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवालाई जोड्ने उद्देश्यले महानगरले रोजगार मेला आयोजना गरी १९३ जनालाई रोजगारदातासँग जोडिएको, ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति लक्षित कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेर कार्य गरिरहेको समेत उनले जानकारी गराए ।

अधिवेशनमा सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतले प्रस्तुत गरेको एकल महिला सुरक्षा कोष (सञ्चालन) विधेयक २०८१ पारित भएको छ । अधिवेशनमा न्यायिक समितिको प्रतिवेदन सदस्य तीर्थेन्द्र नेउपाने, अर्थ तथा सार्वजनिक लेखा समितिको प्रतिवेदन संयोजक बलराम कारन्जित, विधेयक समितिको प्रतिवेदन संयोजक दीपककुमार कर्ण, आर्थिक विकास समितिको प्रतिवेदन संयोजक श्याम घिमिरे, सामाजिक विकास समितिको प्रतिवेदन संयोजक काजीबहादुर बस्नेत, पूर्वाधार विकास समितिको प्रतिवेदन संयोजक कुमार पोखरेल, वन, वातावरण तथा विपद् व्यवस्थापन समितिको प्रतिवेदन संयोजक वासुबहादुर बस्नेत र सुशासन तथा संस्थागत विकास समितिको प्रतिवेदन संयोजक सूर्यलाल यादवले प्रस्तुत गरेका थिए । सबै विषयगत समितिका संयोजकले चालु आर्थिक वर्षको साउनदेखि पुस १५ गतेसम्म गरेका उपलब्धि प्रस्तुत गरेको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले जानकारी दिए । चालु आर्थिक वर्षको बजेट संशोधन गर्नुपर्ने अवस्था नदेखिएकाले कार्यक्रम र योजनाको शीर्षकमात्रै संशोधन गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्