अन्य क्षेत्रमा कर्जा नगएपछि अटोलाई न्यून ब्याजदर
काठमाडौं– पछिल्लो समय अन्य क्षेत्रतर्फ कर्जा प्रवाह अपेक्षित गतिमा हुन नसक्दा बैंकहरूले सवारीसाधन कर्जालाई प्राथमिकता दिएका छन् ।
सवारी कर्जातर्फ बैंकहरुको ब्याजदर घटाउने होडबाजी चले पनि कर्जाको माग सोचेजस्तो देखिएको छैन । बैंकहरूले विभिन्न किसिमका अफर ल्याउँदै सवारीसाधन खरिदलाई सहज बनाउन थालेका छन् । केही दिन अघिमात्रै नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ४.९९ प्रतिशत ब्याजदरमै दिपल गाडी किन्न कर्जा दिने घोषणा गरेको छ । यो ब्याजदरमा सवारी कर्जा दिने इन्भेष्टमेण्ट पहिलो बैंक हो । विद्युतीय सवारीसाधनमा उपभोक्ता आकर्षित गराउने तथा कम ब्याजदरमा अटो लोन दिँदा ग्राहकको आकर्षण बढ्न सक्ने ठानेर बैंकले यस्तो योजना ल्याएको हो ।
बैंकका डेपुटी जनरल म्यानेजर राजेश शर्माले अन्य क्षेत्रमा कर्जा नगइरहेको सन्दर्भमा यो क्षेत्रमा अफर ल्याइएको बताए । ‘ईभीमा फिडब्याक राम्रो आएकाले पनि यस्तो योजना सार्वजनिक गरिएको हो,’ उनले भने । ब्याजदर घटाउँदै कर्जा दिन खोजिए पनि अपेक्षित रुपमा माग भने नबढेको बैंकरहरू बताउँछन् । विगतमा ब्याजदर उच्च भएकोमा अहिले न्यून विन्दुमा झर्दा पनि अन्य क्षेत्रमा जस्तो सवारी कर्जाको माग नभएको शर्माको भनाइ छ । ‘विद्युतीय सवारीसाधनको माहोल बनाउनका लागि पनि ब्याजदर घट्ने क्रम देखिएको छ । ग्राहकलाई कर्जामा सहजीकरण गर्ने उद्देश्यले ब्याजदर थप घटाइएको हो,’ उनले भने ।
समग्रमा वाणिज्य बैंकहरूले न्यूनतम ६.३९ प्रतिशतदेखि अधिकतम १०.५६ प्रतिशतसम्म ब्याजदरमा अटो लोन उपलब्ध गराउँदै आएका छन् । अन्य क्षेत्रमा कर्जा जान नसकेपछि कतिपय बैंकले ५ प्रतिशतभन्दा कम ब्याजदरमै कर्जा दिने योजना सार्वजनिक गर्न थालेका छन् । यसो गर्दा कर्जा केही बढ्ने अपेक्षा बैंकरहरूको छ ।
नेपाल बैंकर्स संघका उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले अटो कर्जाको ब्याजदर घट्दा माग केही बढेको बताए । यो क्षेत्र केही हदसम्म सुरक्षित भएको र पोर्टफोलियो व्यवस्थापन गर्ने हिसाबले पनि अहिले ब्याजदर घटाउँदै कर्जा दिन थालिएको उनको भनाइ छ । ‘आम्दानी भएको व्यक्तिले किन्ने तथा कर्जा डिफल्ट कम भएका कारण पनि अहिले अन्य क्षेत्रमा कर्जा कम गइरहेको अवस्थामा अटो लोनतर्फ ब्याजदर घटाइएको हो,’ रेग्मीले भने, ‘अलिअलि भए पनि यस क्षेत्रमा गतिशिलता हुन सक्छ भन्ने हिसाबले ब्याजदर घटाएरै भए पनि बैंकहरूले अटो कर्जा दिन थालेका हुन् ।’
बैंकहरूले ल्याएका स्किममा ग्राहकको आकर्षण देखिएको गाडी व्यवसायीहरूले बताएका छन् । बैंकहरूले अटो कर्जामा पनि विद्युतीय गाडीलाई अझै सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउन थालेका छन् । नेपालका लागि दिपल ईभीको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि अटोकर्पले ४.९९ प्रतिशत निश्चित ब्याजदरमा दिपलका ईभी खरिद गर्न सकिने योजना सार्वजनिक गरेको छ । नयाँ वर्ष २०२५ को अवसर पारेर कम्पनीले योजना ल्याएको हो । नेपाल इन्भेण्टमेण्ट मेगा बैंकसँगको सहकार्यमा ल्याइएको यो योजनाले प्रिमियम विद्युतीय कार खरिद गर्ने ग्राहकको चाहना पूरा गर्ने कम्पनीको भनाइ छ ।
अन्य बैंकले पनि अटो लोनलाई सहज बनाएका छन् । पुस महिनाका लागि बैंकहरूले लागु गरेको ब्याजदर कर्जाका लागि निकै न्यून देखिन्छ । राष्ट्रिय वाणिज्य बैंकले ७.७७ प्रतिशत ब्याजदरमै सवारी किन्नका लागि कर्जा दिने गरेको छ । यस्तै, नेपाल बैंकले न्यूनतम ६.३९ प्रतिशतदेखि ८.८९ प्रतिशतसम्म ब्याजदरमा अटो लोन प्रवाह गर्न थालेको छ । कृषि विकास बैंकले ६.९४ प्रतिशतदेखि अधिकतम ८.९४ प्रतिशतसम्म ब्याजदर घोषणा गरेको छ ।
निजी क्षेत्रका बैंकमध्ये नबिलले ७.५१ प्रतिशतदेखि ९.५१ प्रतिशतसम्म ब्याजदरमा अटो कर्जा दिइरहेकोमा ग्लोबल आइएमईले ७.११ देखि १०.६१ प्रतिशतसम्म ब्याजदरमा अटो कर्जा दिइरहेको छ । नेपाल इन्भेष्टमेण्ट मेगाले ७.८० प्रतिशतदेखि ९.८० प्रतिशतसम्ममा अटो लोन दिइरहेको छ भने एनआईसी एशिया बैंकले ८.२९ प्रतिशतदेखि १०.२९ प्रतिशतसम्म ब्याजदर लिइरहेको छ ।
सिटिजन्स बैंकले ७.७४ प्रतिशतदेखि १०.७४ प्रतिशतसम्मको ब्याजदरमा अटो लोन दिइरहँदा कुमारीले ८.५९ देखि ८.९९ प्रतिशतसम्म, प्रभुले ९.४५ देखि ११.४५ प्रतिशतसम्म, प्राइम कमर्सियलले ७.६४ देखि १२.६४ प्रतिशतसम्म, लक्ष्मी सनराइजले ८.५५ देखि १०.५५ प्रतिशतसम्म र एभरेष्ट बैंकले ७.१५ प्रतिशतदेखि ९.१५ प्रतिशतसम्म ब्याजदरमा अटो लोन दिइरहेका छन् । एनएमबि बैंकले ७.८७ देखि ९.८७ प्रतिशतसम्म ब्याजदरमा अटो कर्जा दिइरहँदा माछापुच्छे बैंकले ७.८७ प्रतिशतदेखि ९.८७ प्रतिशतसम्म ब्याजदर लिइरहेको छ । नेपाल एसबिआई बैंकले ७.५८ प्रतिशतदेखि ९.५८ प्रतिशतसम्म ब्याजदरमा अटो लोन दिइरहँदा सानिमा बैंकले ८.५६ प्रतिशतदेखि १०.५६ प्रतिशतसम्म ब्याजदरमा यस्तो कर्जा दिँदै आएको छ ।