Logo

थलियो नेपालकै पहिलो ग्राभिटी रोपवे

हेटौंडा– संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले २०७१ सालमा निर्माण गरेको नेपालकै पहिलो ग्राभिटी रोपवे आवश्यक मर्मतको काम अघि बढ्न नसक्दा थलिएको छ । गुरुत्वाकर्षण शक्तिबाट बिजुली र इन्धनबिनै चल्ने कैलाश–९ मा रहेको नामटार ग्राभिटी रोपवे विगत तीन महिनादेखि बन्द छ ।

सञ्चालनकै क्रममा रोपवेको एउटा तार छिनेपछि गत असोजबाट रोपवे बन्द भएको हो । तार छिनेसँगै रोपवेमा रहेका दुईवटा बकेटमध्ये एउटा पूर्ण क्षति भएको छ । रोपवे मर्मत गर्नेबारे उपभोक्ता समितिमै एकमत नभएपछि अब सधैंका लागि बन्द हुन्छ कि भन्ने चिन्ता भएको घैराङका स्थानीय पूर्णसिं गोलेले बताए । ‘एउटा तार फेरेर बकेट नयाँ हाल्न सकियो भने यसलाई फेरि चलाउन सकिन्थ्यो । उपभोक्ता समितिले पनि चासो दिएको छैन । रोपवे चल्दा यहाँ धेरै सुविधा भएको थियो । सामान ल्याउन–लैजान पनि सस्तो पथ्र्यो,’ उनले भने ।

सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौं र स्थानीय उपभोक्ताको गरी २५ लाख ५२ हजार रुपैयाँ लागतमा १० वर्षअघि नामटारको कपचेरी र घैराङ डाँडाबीचमा एक हजार दुई सय १४ मिटर लामो ग्राभिटी रोपवे स्थापना गरिएको थियो । सडक नपुगेको घैराङमा रोपवे स्थापनापछि तरकारी तथा स्थानीय स्तरमा उत्पादित खाद्यान्न बजारसम्म पुर्‍याउन र बजारबाट घरायसी सामग्री गाउँमा लैजान सहज भएको थियो । दुई वर्षअघि मात्रै घैराङमा कच्ची सडक पुगे पनि हिउँदमा मात्रै गाडी चल्छ । एक सय १५ परिवार बसोबास गर्ने घैराङमा ग्राभिटी रोपवे स्थापना भएपछि स्थानीय तरकारी उत्पादनमा निकै उत्साहित भएका थिए । हिँडेर दुई घण्टा लाग्ने बाटोमा रोपवेमार्फत दुई मिनेटमै सामान ओसारपसार गर्न सकेपछि स्थानीय निकै खुसी थिए ।

स्थानीयले काउली, आलुलगायत सिजनमा दैनिक दुई ट्रकभन्दा बढी तरकारी नामटार बजार झार्ने गरेका थिए । किसानले तरकारी उत्पादनबाटै गाउँमा वार्षिक डेढ करोडभन्दा बढी आम्दानी गर्ने गरेको कैलाश–९ का वडाध्यक्ष भुवनसिं घलानले जानकारी दिए । ‘रोपवेका कारण घैराङबासीको जीवनस्तरमै परिवर्तन भएको थियो,’ उनले भने, ‘यसलाई व्यवस्थित तरिकाले चलाउन नसक्दा समस्या भइरहेको थियो । अहिले रोपवेको तार नै छिनेपछि कसले मर्मत गर्ने भन्नेबारे अन्योल भइरहेको छ ।’

वडाध्यक्ष घलानका अनुसार उपभोक्ता समितिले रोपवेमा सामान ढुवानीबापतको भाडा उठाउन ठेक्का दिने गरेको र ठेकेदारले नै भाडाको पैसा नदिएपछि उपभोक्ता समिति असन्तुष्ट छ । ठेकेदारले पैसा उठाएर सम्पर्कविहीन भएपछि अहिले मर्मत गर्न खर्च नभएको र उपभोक्ता समिति नै निराश बनेको वडाध्यक्ष घलानले बताए । ‘हामीले पहिले पनि गाउँपालिकामार्फत यो रोपवे सञ्चालन गर्छौं, हामी नै व्यवस्थित तरिकाले ठेक्का लगाउँछौं भन्दा उपभोक्ता समितिले दिएनन्, अब अहिले समस्या पर्‍यो,’ उनले भने, ‘हामी अब यसलाई मर्मत गरी व्यवस्थित तरिकाले कसरी सञ्चालन गर्ने भन्नेबारेमा छलफल गर्छौं ।’

रोपवेमा रहेको दुईवटा भारी बोक्ने क्यारीमार्फत माथिबाट र तलबाट एकैसाथ दुईवटा भारीको लोड गराएर सामान तलमाथि पुर्‍याउने गरिन्छ । घैराङडाँडाबाट नामटार कपचेरी स्टेसन झर्दा ९० किलोको भारी पठाउँदा तलबाट ३० किलोको भारीमात्रै माथि पुग्ने क्षमता राख्छ । घैराङ डाँडाबाट मात्र १ मिनेट ५५ सेकेन्डमा नामटार कप्चेरी स्टेशनमा सामान ढुवानी हुने गर्छ । दुई घण्टा लाग्ने बाटोमा रोपवेले दुई मिनेटमै सामान ल्याइदिने र भाडा पनि निकै सस्तो थियो । प्रतिकिलो २ रुपैयाँमा सामान तलको माथि र माथिको तल ल्याउने गरिन्थ्यो ।

अहिले हिउँद याममा गाडी चले पनि रोपवेको भन्दा गाडी भाडा दोब्बर लाग्ने रोपवे उपभोक्ता समितिका अध्यक्ष ठाकुरसिं रुम्बाले बताए । रोपवेका कारण स्थानीयलाई धेरै सहज भएकोमा ठेकेदारले भाडाको पैसा उठाएर नदिएपछि आफूहरुले मर्मत गर्न नसकेर बन्द भएको रुम्बाको भनाइ छ । ‘अहिले गाउँलेहरुले मलाई कराउँछन्, म त अध्यक्ष बनाइएको मात्र हो, पैसा मेरो हातमा परेकै छैन । पैसा उठाउने अरु नै थियो,’ रुम्बाले भने । भाडाबापत वर्षमा करिब ३ लाखसम्म उठ्ने रुम्बाको दाबी छ । रोपवेमार्फत माथिबाट तरकारी, अन्नपात, खसी–बोकासमेत बजारसम्म ल्याइन्थ्यो भने तलबाट कृषि सामग्रीका अतिरिक्त निर्माणका सामान ढुवानी गरिन्थ्यो ।

रोपवे सञ्चालनका लागि तल र माथि गरी दुई जना प्राविधिक खटाइएको थियो । तलबाट सामान माथि पठाउनुपर्दा माथिबाट झर्ने सामान भएन भने पानी भरिएको ड्रमको लोड पठाएर सामान माथितिर तान्ने गरिन्थ्यो । गुरुत्वाकर्षण शक्तिबाट नामटारमा नेपालमै पहिलोपटक ग्राभिटी रोपवे स्थापना भएको थियो । त्यसयता धादिङ र चितवनमा पनि सोही प्रकारको रोपवे स्थापना भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्