Logo

बहुवर्षीय आयोजनामा लगानी बढाउँदै कर्णाली सरकार

२६ करोडका पाँच बहुवर्षीय आयोजना निर्माण हुँदै

जुम्ला– कर्णाली प्रदेश सरकारले प्रदेशभित्रको भौगोलिक विकटतालाई मध्यनजर गर्दै बहुवर्षीय आयोजनामा लगानी बढाउन थालेको छ । भौगोलिक रूपमा विकट बस्ती र जिल्लामा सडक, पुललगायतका ठूला पूर्वाधार बनाउन बहुवर्षीय आयोजनामा लगानी बढाउन थालेको हो ।

भरपर्दो सडक र खोला नालामा पुल नभएकै कारण अकालमै ज्यान गुमाउनु पर्ने बर्खाको बाढी पहिरोले बगाउने जस्ता समस्या भोगिरहेको साविक कर्णालीका कालिकोट, मुगु र हुम्लालगायतका जिल्लामा चालु आवबाटै निर्माण हुने बहुवर्षीय आयोजनाको स्रोत सुनिश्चितता गर्दै प्रदेश सरकारले आयोजना निर्माण प्रक्रियाअघि बढाएको छ ।

सुर्खेत, कालिकोट, मुगु र हुम्लामा तीन वर्षभित्र निर्माण हुने गरी पाँचवटा बहुवर्षीय आयोजना निर्माणका लागि कर्णाली प्रदेश सरकारले बजेट सुनिश्चित गरेको छ । प्रदेश सरकारले पनि टुक्रे योजनालाई प्राथमिकता दिएको, ठूला आयोजनामा ध्यान नपुर्‍याएको भन्ने आलोचना खेपेको कर्णाली प्रदेश पछिल्ला वर्षमा बहुवर्षीय आयोजनाको सहमति स्रोत सुनिश्चतता तथा निर्माण प्रक्रियामा विशेष चासो दिएको छ ।

प्रदेशको पुस १८ गतेको निर्णयानुसार मुगुमा दुईवटा बहुवर्षीय आयोजना स्वीकृत भएका छन् । जसमा मुगुको ताल्चा हुँदै रारा सडक कालोपत्रे गर्नका लागि नौ करोड ८७ लाख रुपैयाँ विनियोजन भएको छ । यो आयोजना चालु आर्थिक वर्षबाटै सुरु भएर आगामी आव २०८३/०८४ मा निर्माण सम्पन्न हुनेछ । त्यस्तै नाक्चे–लाग्ना नाका जोड्ने सडकअन्तर्गतको ढुंगेधारामा बेलिब्रिज निर्माणका लागि चार करोड ९३ लाख रुपैयाँ स्रोत सुनिश्चित भएको छ ।

यो आयोजनामा पनि चालु आवमा निर्माण भई आगामी दुई वर्षभित्र निर्माण सम्पन्न हुनेछ । त्यस्तै हुम्लामा पनि तीन वर्षभित्र सडक निर्माण हुने गरी चार करोड ७९ लाख ७२ हजार बढी बजेट सुनिश्चत भई आयोजना निर्माणको बाटो खुलेको छ भने कालिकोटमा फुगाड पक्की पुल निर्माणका लागि चार करोड ९१ लाख बजेट सुनिश्चत भएको छ । उक्त पुल तीन वर्षभित्र निर्माण भइसक्ने छ ।

साथै सुर्खेतको कैलाशटोल करेखोला वडा कार्यालय जोड्ने देवस्थान टोल सुकौराखोला पक्की पुल निर्माण गरिने छ । उक्ता पुल निर्माणका लागि एक करोड ७५ लाख बढी बजेट सुनिश्चत गरिएको छ । यो आयोजना चालु आर्थिक वर्ष सुरु भई दुई वर्षभित्र निर्माण सम्पन्न हुने भएको छ । पुस १८ गतेको निर्णयबाट भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत सम्बन्धित जिल्लाका पूर्वाधार विकास कार्यालयले आयोजना निर्माण गर्ने गरी अख्तियारी प्रदान गरिने भएको छ ।

भौगोलिक रूपले विकट मुगुमा एकै वर्ष दुईवटा बहुवर्षीय आयोजना स्वीकृति भएपछि मुगुका सांसद जीतबहादुर मल्लले प्रदेश सरकारलाई धन्यवाद दिएका छन् । टुक्रे योजनालाई निरुत्साहित गर्ने लक्ष्य लिएको प्रदेश सरकारले जिल्लाको आवश्यकता मध्यनजर गर्दै बहुवर्षीय आयोजना स्वीकृत गरेको बताए ।

उनले भने, ‘प्रदेशका बहुवर्षीय आयोजनामध्य मुगुका दुईवटा योजनालाई विशेष प्राथमिकता दिएर स्रोत सुनिश्चितता गरी निर्माणको प्रक्रिया थालेकोले मुगुबासी खुसी छन् । आयोजनाको शीघ्र कार्यान्वयन र गुणस्तर संचरना निर्माणमा विशेष ध्यान दिन जरुरी छ । ढुंगेधारामा पुल बनेपछि प्रसिद्ध छायानाँथ धाम जानका लागि समेत सहज हुनेछ ।’

मुख्यमन्त्री जिल्ला आएको बेला नाग्म–गमगडीको सडक स्तरोन्नतिको माग गरेकाले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले काम गर्ने गरी पहल भइरहेको सांसद मल्लले उल्लेख गरे । साविक कर्णालीको पूर्वाधार विकासका लागि मुख्यमन्त्री यामलाल कँडेल र समग्र प्रदेश सरकार सकारात्मक रहेको उनको भनाइ छ ।

साविक कर्णालीका तीन जिल्लामा चारवटा बहुवर्षीय आयोजना स्वीकृत हुनुले यहाँको पूर्वाधार विकासले फड्को मार्ने आशा गरिएको छ । यद्यपि साविक कर्णालीबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै सांसदले टुक्रे योजनाभन्दा ठूला आयोजनामा ध्यान दिएमा सबै जिल्लामा बहुवर्षीय आयोजना निर्माण हुने देखिन्छ । अधिकांश सांसद तथा मन्त्री कार्यकर्ता पोस्ने खालका योजनामा सीमित हुँदा प्रदेश सरकारको लगानीअनुसार पूर्वाधार विकास, सुशासनमा अपेक्षाकृत प्रतिफल आउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्