विदेसबाट फर्किएर व्यावसायिक भैंसीपालन
मासिक डेढ लाख रुपैयाँ आम्दानी
दाङ– देउखुरीका दुई युवा विदेशबाट फर्किएर व्यावसायिक रूपमा भैंसीपालन गर्दै आएका छन् । दूध बिक्री गरेर मासिक डेढ लाख रुपैयाँ बचत गर्दै आएको उनीहरूको भनाइ छ । लामो समय वैदेशिक रोजगारीमा बसेर स्वदेश फर्किएका राजपुर गाउँपालिका–२ मटेरिया निवासी शिशिर पोख्रेल र चूडामणि पोख्रेलले भैसीपालन व्यवसाय गरेर मासिक डेढ लाख रुपैयाँ बचत गर्दै आएको बताउँछन् ।
तीन वर्षअघि १५ लाख रुपैयाँ लगानी गरेर ईको नेपाल मल्टि एग्रो प्राइभेट लिमिटेड फर्म दर्ता गरेर व्यावसायिक दूध उत्पादन थालेका शिशिर र चूडामणिले अहिले दैनिक सय लिटर बढी दूध बिक्री गरेर डेढ लाख बढी आम्दानी गर्ने गरेका छन् । विदेशमा गर्ने मेहनत आफ्नै ठाउँमा गर्ने उद्देश्यले तीन वर्षअघि पाँचवटा भैंसीबाट व्यवसाय सुरु गरेको शिशिर पोख्रेल बताउँछन् । उनका अनुसार अहिले फर्ममा साना ठूला गरेर २० बढी भैंसी छन् । त्यसमध्ये १३ वटा भैंसीले दूध दिने गरेका छन् ।
दैनिक सय लिटर बढी दूध बिक्री गर्दै आएको उनीहरूको भनाइ छ । सञ्चालक पोख्रेलले भने, ‘अहिले दैनिक रूपमा सय लिटर बढीसम्म दूध बिक्री गर्दै आएका छौँ । जसबाट मासिक रूपमा डेढ लाख बढी बचत हुने गरेको छ ।’ फर्ममा उत्पादन भएको दूध बिक्रीका लागि लमहीमा आफ्नै ‘ईको डेरी’ सञ्चालन गरेको भन्दै पोख्रेलले मेहनतअनुसार आम्दानी भइरहेको बताउँछन् ।
आफ्नै डेरी सञ्चालनमा आएपछि विचौलियामार्फत् दूधमा हुने घाटा रोकिएको बताए । उनले भने, ‘आफ्नो डेरी नहुँदा अरूलाई दूध बिक्री गर्नुपर्ने बाध्यता थियो तर अहिले आफ्नो उत्पादन आफ्नै डेरीबाट बिक्री गर्ने गरेका छाैं, यसले आम्दानीमा वृद्धि गरेको छ ।’ पहिले फार्मबाट अरूलाई दूध बिक्री गर्दा प्रतिलिटर ६० रुपैयाँमात्र पाइने गरे पनि अहिले डेरी सञ्चालन भएपछि सय रुपैयाँ लिटरका दरले बिक्री भइरहेको बताउँछन् ।
भंैसीपालनमा दूधदेखि गोबर मलसमेत बिक्री हुने गरेकाले घाटा नहुने उनको भनाइ छ । भैंसीलाई दाना, घाँस खेतीलगायत नौजना कर्मचारीलाई तलब दिँदा मासिक डेढ लाख बढी खर्च हुने गरेको उनको भनाइ छ । आफ्नै १० कट्ठा जग्गामा भैंसी फार्म सञ्चालन गरेको भन्दै उनले भैंसीका लागि आवश्यक पर्ने घाँसका लागि पाँच बिगाह क्षेत्रफल जमिन भाडामा लिएको बताए ।
उक्त जग्गामा भैंसीका लागि आवश्यक पर्ने घाँसखेती गर्दै आएका छन् । दूधसँगै पाडापाडी उत्पादन गर्नसके बिक्रीका लागि समस्या नभएको भन्दै उनले फर्ममा माउ भैंसीको संख्या ५० बढी पुर्याउने सोचमा रहेको बताउँछन् । विदेशमा भन्दा आफ्नै देशमा व्यवसाय गरेर आम्दानी गर्दा खुसी लाग्ने गरे पनि व्यवसाय गर्ने युवालाई सरकारले सहयोग नगरेको उनले बताए । वास्तविक किसानभन्दा पनि विचौलीले अनुदान हात पार्ने अवस्था हुँदा ठूलो लगानी गरेर व्यवसाय गर्ने किसान समस्यामा पर्ने अवस्था रहेको पोख्रेलको भनाइ छ ।
कोरियामा राम्रो कमाइ भए पनि आफ्नै ठाउँमा केही गर्नुपर्छ भनेर लागेको भन्दै उनले १५ लाखबाट सुरु गरेको व्यवसाय अहिले एक करोड बढीको भइसकेको बताए । दूध, दही बिक्रीबाट भइरहेको आम्दानीबाट खुसी भएको भन्दै उनले वास्तविक किसानलाई राज्यले सहयोग गर्ने अवस्था भइदिए आफूहरू जस्ता सम्भावनाको खोलीमा लागेका युवालाई व्यवसाय प्रवर्द्धनमा सहयोग पुग्ने बताउँछन् । कोरियाबाट फर्किएका आफू र मलेसियाबाट फर्किएका दुई साथी मिलेर व्यवसाय गरेको र दुवैले कहिले फर्म र कहिले डेरीमा समय मिलाएर हेर्ने गरेको बताए । उनका अनुसार डेरीमा तीनजना र फर्ममा चार जनालाई रोजगारी समेत दिएका छन् ।