धनगढी–अत्तरिया ६ लेन सडक एक वर्षमै चिराचिरा
धनगढी– एक अर्ब ६५ करोड खर्च गरेर बनाइएको धनगढी–अत्तरिया ६ लेन सडक एक वर्षमै भत्किन थालेको छ । निर्माण कार्य सकिएर निर्माण कम्पनीले आयोजना कार्यालयलाई हस्तान्तरण गरेको एक वर्षमा सडक चिराचिरा पर्नुका साथै ठाउँ ठाउँमा भासिएको छ । निर्माण नसकिँदै ठाउँ ठाउँमा सडक भासिएपछि निर्माण कम्पनीले टालटुल गरी आयोजना कार्यालयलाई हस्तान्तरण गरेका थिए ।
हस्तान्तरण गरेको एक वर्षपछि पुन: सडक चिराचिरा पर्नुका साथै भासिएको हो । निर्माण कम्पनीहरूले निर्माण गर्दा माटे लेयर, सबबेस र बेस राम्रोसंँग कम्प्याक्ट नगरेको सडक भासिनुका साथै चिरा परेको हो । ६ लेन सडक निर्माणको जिम्मेवारीमा रहेको महाकाली पुल आयोजना कार्यालय महेन्द्रनगरका इन्जिनियर सन्तोष चन्दले कालोपत्रेमा ल्याब परीक्षण प्रतिवेदनमा कैफियत नदेखिए पनि मर्मत गर्नुपर्ने अवस्थामा सडक पुगेको बताए ।
उनले सम्पूर्ण निर्माणको कार्य सकिएकाले सडक डिभिजन कार्यालय महेन्द्रनगरलाई हस्तान्तरण भए पनि डिभिजन कार्यालयले नै मर्मत गर्ने बताए । धनगढीदेखि अत्तरियासम्म नै सडक भासिनुका साथै चर्किएको छ । ठाउँमा चर्किएको सडकमा खाल्डाखुल्डी समेत पर्न थालेको छ । जसले गर्दा सडक दुर्घटनाको जोखिम पनि बढेको छ ।
धनगढी–डडेल्धुरा भीमदत्त राजमार्गमा हाइस चलाउने गरेका चालक चक्र देउवाले ६ लेन सडकमा आवतजावत गर्दा दुर्घटनाको जोखिम बढेको बताए । धनगढीदेखि अत्तरियासम्म नै सडकमा चिराचिरा परेको बताउँदै उनले सडकको सतहसमेत भासिएकाले कालोपत्रे सडकमा खाल्डो आएको समेत पत्तै नहुने गरेको बताए । उनले सोही कारण दुर्घटनाको जोखिम बढेको बताए ।
वृक्षरोपण गरी हरियाली र स्ट्रिट र स्ट्रिप लाइट जडान गरी झिलिमिली ६ लेन सडक बनाएको धनगढी उपमहानगरपालिकाले पनि मर्मतमा ध्यान दिएको छैन । डेन्स बिटुमिन म्याकाडम (डिबिएम) र अक्स्फाल्ट कंक्रिट गरी दुई प्रविधिको मिश्रणबाट छलेन सडक निर्माण गरिएको थियो । डिबिएमलाई नेपालीमा घना बिटुमिन रोडी भन्ने अर्थ लाग्छ । १० सेन्टिमिटर मोटाइको कालोपत्रे सडकमा पहिलो चरणमा ६ सेन्टिमिटर मोटो डिबिएमबाट कालोपत्रे गरिएको थियो भने दोस्रो चरणमा ४ सेन्टिमिटर अक्स्फाल्ट कंक्रिट प्रयोग गरिएको थियो ।
यसरी निर्माण गरिएको यो सडकको आयु पाँचदेखि १० वर्ष र भारबहन क्षमता ४० टनसम्म रहेको ईञ्जिनियर चन्दले बताए । उनले निर्माण ताका गरिएको ल्याब रिपोर्टमा कमजोरी नदेखिएको बताउँदै ठूला मालबाहक गाडी गुडेकोको कारण छलेन सडक भासिएको र चर्किएको बताए । ‘सडकको भारबहन क्षमताभन्दा ठूला माबाहक गाडी गुडेको देखिन्छ,’ उनले भने, ‘अहिले छलेन सडकमा ६० टन भन्दामाथिको मालबाहक गाडी गुड्ने गरेको छ ।’
उनको भनाइअनुसार हाइवे सडक निर्माणको योजना बनाउँदा कतिसम्मको भार भएको गाडी आउँछ भन्ने सही अनुमान नै नगरी विस्तृत योजना प्रतिवेदन बनाइएको थियो । जसले गर्दा सडकले हाइवेमा गुड्ने गाडीको भार थेग्न सकिरहेको छैन । या सडक निर्माण गर्दा मापदण्ड पूरा गरिएको थिएन । र सडकको बेस कमजोर भई भासिन थालेको छ ।
निर्माण सकिएको केही महिनामै सडक भासिन थालेपछि आयोजना कार्यालयलाई हस्तान्तरण गर्नुभन्दा पहिले निर्माण कम्पनीहरूले टालो हालेका थिए । टालो हालेर हस्तान्तरण गरिएपछि निर्माण कम्पनीहरूलाई आर्थिक वर्ष २०७९/०८० सम्म एक वर्षको डिफेक्ट लाइबिलिटी प्रियड (डिएलपि), कमजोरी मर्मत गर्ने समयावधि दिएको थियो । सो डिएलपि सकिएको एक वर्ष भएको इन्जिनियर चन्दले बताए ।
उनले डिएलपि सकिएकाले सरकारले नै मर्मत गर्नुपर्ने बताए । मोहनापुलदेखि अत्तरिया चौराहासम १४.२ किलोमिटर सडकमा पहिलो खण्ड मोहना पुलदेखि बोराडाँडीसम्म साढे चार किलोमिटर शर्मा–अमर–नागार्जुन जेभी, दोस्रो खण्ड बोराडाँडीदेखि गेटासम्म साढे चार किलोमिटर लुम्बिनी–राजेन्द्र–डाँफे जेभी र तेस्रो खण्ड गेटादेखि अत्तरिया चौराहासम्म लामा–राजेन्द्र–डाँफे जेभीले निर्माण गरेका थिए ।