Logo

नौ वर्षपछि दोदा नदीमा पक्की पुल निर्माण सुरु

महेन्द्रनगर– कञ्चनपुरको लालझाडी गाउँपालिकाको–४ देखतभूली पर्सिया सडकअन्तर्गत दोदा नदीमा पक्की पुल निर्माण कार्य सुरु भएको छ । ठेक्का सम्झौता भएको नौ वर्षपछि पुल निर्माण कार्य अगाडि बढेको हो । २०७२ साल पुस २६ गते लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभीसँग पुल निर्माणका लागि २४ करोड २२ लाखमा ठेक्का सम्झौता भएको थियो ।

ठेक्का सम्झौताअनुसार निर्माण व्यवसायीले काम गर्न नसक्दा पुल निर्माणको काम अलपत्र परेको थियो भने पुलका तीनवटा पिल्लर खडा गरे तापनि ‘पाइल टेस्ट’ मा फेल हुँदा काम अघि बढ्न सकेको थिएन । सडक डिभिजन कार्यालय महेन्द्रनगर कञ्चनपुरका सूचना अधिकारी हरिशप्रसाद जोशीले पुलका तीनवटा पिल्लर खडा गरे तापनि ‘पाइल टेस्ट’ मा फेल हुँदा काम अघि बढ्न नसकेको बताए ।

उक्त अवस्थामा पुल निर्माणको काम अगाडि बढाउन सकिने अवस्था थिएन, उनले भने, ‘मर्मत गर्न सकिने अवस्था पनि भएन, पुलको डिजाइन नै ‘रिभ्यू’ गरेर निर्माण अहिले अगाडि बढाएका छौँ भने, लागत नबढ्ने गरी पुलका पिलरको फाउण्डेसनको ‘डायमिटर’ बढाएर कार्य अगाडि बढाइएको छ ।’ त्यसैगरी पहिलेको डिजाइन अनुसार पुलको डायमिटर ८० सेन्टिमिटर थियो भने अहिले बढाएर १२० सेन्टिमिटर राखिएको छ ।

उक्त पुलको भौतिक प्रगति ५० प्रतिशत पुगेको छ । २०८२ साल माघ २० गतेसम्म पुल निर्माण पूरा गरिसक्ने गरी म्याद थप गरिएको छ । पुलको लम्बाइ २११ मिटर रहेको छ भने चौडाइ ११ मिटर छ । ठेक्का सम्झौताअनुसार जेभीमा आबद्ध राजेन्द्र निर्माण सेवाले काम गर्न नसकेपछि अहिले जेभी पार्टनर कुमार श्रेष्ठले कार्य गरिरहेको छ । पुल निर्माणका लागि पहिले दिएको भुक्तानी १२ करोड रुपैयाँ बैंक धरौटीबाट असुलउपर गरिएको छ ।

सूचना अधिकारी जोशीका अनुसार निर्माण कम्पनीले १० करोड रुपैयाँ जतिको कार्य पूरा गरेको छ । निर्माणअनुसार पहिलो ‘रनिङ बिल’को भुक्तानी दिने काम अघि बढाइएको छ भने बजेट अभावले भुक्तानी दिन ढिलाइ भइरहेको सूचना अधिकारी जोशीले बताए । त्यसैगरी लालझाँडी गाउँपालिका र शुक्लाफाँटा नगरपालिकाका स्थानीयले हिउँदमा नदीमा राखिने अस्थायी काठको पुलमा शुल्क तिरेर आवतजावत गर्ने गरेका छन् ।

शुक्लाफाँटा नगरपालिका–१२ का वडाध्यक्ष नवलसिंह रानाले वर्षात्को समयमा बाढीमा जोखिम मोलेर नदी आवतजावत गर्नुपर्ने बाध्यता रहेको बताए । ‘पुल निर्माणले गति लिएपछि विगतको जोखिम मोलेर र शुल्क तिरेर नदी तर्नुपर्ने अवस्था अब रहँदैन,’ उनले भने, ‘पुल निर्माण बीचमा छोडेर निर्माण व्यवसायी सम्पर्कविहीन भएपछि पुल बन्ने आश छाडेका थियौँ । अहिले पुल निर्माण कार्य द्रुत गतिमा अगाडि बढेपछि आशा पलाएर आएको छ ।’

प्रतिक्रिया दिनुहोस्