पेट्रोलियम अन्वेषणको ड्रिलिङ सकियो
वीरेन्द्रनगर– दैलेखको भैरवी गाउँपालिकामा चलिरहेको पेट्रोलियम अन्वेषण परियोजना अन्तर्गत ड्रिलिङको काम सकिएको छ । २८ वैशाख २०८१ बाट सुरु भएको ड्रिलिङ १७ पुसमा सकिएको हो ।
भैरवी गाउँपालिका–१ जलजलेस्थित अन्वेषण स्थलमा ड्रिलिङको काम सम्पन्न भएको खानी तथा भूगर्भ विभाग अन्तर्गतको पेट्रोलियम अन्वेषण परियोजनाका भू–गर्भविद् एवम् सूचना अधिकारी प्रकाश लुइँटेलले जानकारी दिए । ४२ सय मिटर गहिराइमा खन्ने काम सम्पन्न भएको उनले बताए ।
चिनियाँ सरकारको जियोलोजिकल सर्भेको आर्थिक तथा प्राविधिक सहयोगमा पेट्रोलियम अन्वेषण अन्तर्गत ड्रिलिङ भएको हो । लुइँटेलका अनुसार दैलेखमा सयौं वर्षदेखि जमिनमै ग्यास बलिरहेको र पादुकादेखि श्रीस्थानसम्मको क्षेत्रमा पेट्रोलियम पदार्थ तैरिरहेको छ । त्यो नै प्राविधिक हिसाबले पेट्रोलियम पदार्थ छ भन्ने बलियो प्रमाण भएको उनी बताउँछन् ।
चालु आर्थिक वर्ष २०८१–८२ भित्रै अन्तिम अन्वेषणका सबै काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ । ‘पहिलो चरणको सम्पूर्ण काम पुस मसान्तभित्र सकिन्छ । अर्को फेजको काम सुरु भएपछि मात्रै कति समय लाग्छ भन्ने यकिनका साथ भन्न सकिन्छ,’ उनले भने । उनका अनुसार अन्तिम नतिजा प्राप्त भएपछि त्यसको भण्डारण क्षमताअनुसार आर्थिक विश्लेषण गरेर उत्खनन्को प्रक्रियाका बारेमा टुंगो लाग्छ ।
२०७२ चैतमा नेपाल र चीनबीच पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन्मा सहकार्य गर्ने सहमति भएको थियो । नेपालले २०७५ माघमा दैलेखमा पेट्रोलियम पदार्थको विस्तृत अन्वेषण गर्न चीनलाई दिने परियोजना स्वीकृत गरेको थियो । सहमतिअनुसार २०७६ मा खानी तथा भूगर्भ विभाग र चिनियाँ सरकारको जिओलोजिकल सर्भे कम्पनीबीच दुई अर्ब ४० करोड आर्थिक तथा प्राविधिक सहयोगको सम्झौता भएको थियो ।
दुई देशको प्राविधिक टोलीले सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे, जिओकेमिकल स्याम्पलिङ सर्भेलगायत काम सम्पन गरिसकेको छ । स्थलगत सर्भेको काम सकेर कोरोना महामारी सुरु हुनासाथ २०७६ फागुनमा चिनियाँ टोली चीन फर्किएको थियो । सन् २०२२ सम्म अन्वेषणको काम सक्ने गरी सम्झौता गरिएको भए पनि कोरोना महामारीका कारण हुन सकेन । त्यसपछि १४ चैत २०७८ को मन्त्रिपरिषद् बैठकले परियोजनाको म्याद दुई वर्ष थप गर्ने निर्णय गरेको थियो । दुई वर्ष म्याद थप गरेको एक वर्ष बित्दासमेत थप अन्वेषणको काम हुन सकेको थिएन ।
पञ्चकोशी तीर्थस्थलमध्ये अहिले श्रीस्थान, नाभीस्थान र पादुकामा अखण्ड रूपमा ज्वाला बलिरहेको छ । श्रीस्थानमा जमिनमुनिबाट निस्किएको अखण्ड दीपका रूपमा मन्दिरमा बाल्ने गरिएको छ । त्यो करिब तीन सय वर्षदेखि बलिरहेको स्थानीय बताउँछन् । तर, सरकारी अध्ययनले यसरी निरन्तर जमिनमा ज्वाला बल्नुको पछाडि कुनै दैवी चमत्कार नभएर जमिनमुनि प्राकृतिक ग्यास रहेको पुष्टि गरिसकेको छ ।
गत वैशाखमा सुरु भएको ड्रिलिङ ५ देखि ६ महिनामा सम्पन्न हुने भनिए पनि प्राविधिक समस्याका कारण आयोजना केही महिना लम्बिएको हो । यो परियोजनाको लागत सुरुमा दुई अर्ब ५० करोड रुपैयाँ अनुमान गरिएको थियो । सोही अनुसार अन्वेषणको काम सुरु गरिएको थियो ।