Logo

पुस २५ गतेदेखि चितवन महोत्सव

काठमाडौं- चितवनको नारायणगढस्थित नारायणी किनारमा यही पुस २५ गतेदेखि आगामी माघ १० गतेसम्म १५औँ चितवन महोत्सव आयोजना हुने भएको छ ।

मध्ये क्षेत्रको ठूलो मानिने चितवन महोत्सवबारे शुक्रबार पत्रकार सम्मेलन गर्दै महोत्सव मूल आयोजक समितिका संयोजक एवं उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमन श्रेष्ठले महोत्सवले समग्र चितवनको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे । उनका अनुसार हरेक दुई वर्षमा आयोजना हुने महोत्सव यसपालि १० दिनबाट बढाएर १५ दिन पुर्‍याइएको छ ।

सार्वजनिक नीति साझेदारीको नमूना प्रस्तुत गर्दै भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति मुख्य प्रवर्द्धन रहने गरी उद्योग वाणिज्य संघ चितवनको आयोजनामा हुने चितवनको गौरव र गरिमामय प्रस्तुति चितवन महोत्सवमा यसपालि चिनियाँ व्यापारी कक्ष (पेभेलियन) रहने आयोजकले जनाएको छ ।

बेरोजगार युवालाई महोत्सव परिसरमा रोजगारी उपलब्ध गराइने गरी नयाँ कार्यक्रम तयार पारिएको संयोजक श्रेष्ठले जानकारी दिए । उनले महोत्सवमा रोजगार कक्ष (डेस्क) स्थापना हुने बताए । महोत्सव अवधिभर उद्यम गर्न चाहनेको तथ्यांक लिइने र नवउद्यमीहरूको पहिचान गरिने छ ।

त्यसपछि संघमा स्थापना भएको रोजगार तथा व्यवसाय सूचना केन्द्रमार्फत रोजगारीका लागि पहल गरिने जनाइएको छ । त्यस्तै आवश्यक सीप र तालिम सञ्चालन गरी स्वरोजगारका अवसर सिर्पना गरिने महोत्सवका संयोजक श्रेष्ठले बताए । संघले विगतका वर्षहरूमा पोल्ट्री, डेरी, मौरी र मह, केरालगायत उत्पादनलाई केन्द्रमा राखेर महोत्सव गरिसकेको भन्दै उनले महोत्सवबाट ती क्षेत्रको व्यावसायिक विकासमा सहयोग पुगेको विश्वास व्यक्त गरे ।

चितवन महोत्सवमा घुम्न आउने पर्यटकलाई बस्न, खानमा महोत्सव अवधिभर पर्यटन व्यवसायीसँगको समन्वयमा छुटको व्यवस्था समेत गरिएको महोत्सवको आर्थिक समितिका संयोजक, उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष कल्याण जोशीले जानकारी दिए । उनले महोत्सवमा कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, सूचना प्रविधि, पोल्ट्री, तथा उद्योग प्रवर्द्धनका गतिविधि सञ्चालन हुने बताए ।

उनका अनुसार पुस २९ गतेदेखि माघ ४ गतेसम्म चितवनको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटक, सूचना प्रविधि, साहित्यलगायत जिल्लाको समग्र सामाजिक, आर्थिक, विकासका सम्भावनामा केन्द्रित विज्ञहरूसहितको राष्ट्रिय सेमिनार आयोजना गरिने छ । यसपटक तोरीको उत्पादन प्रवर्द्धन गर्न मौरीको प्रतिमासहित तोरीबारी पनि निर्माण गरिने छ । महोत्सवमा यसपालि अन्तरराष्ट्रिय उत्पादनको पनि प्रदर्शनी हुने आयोजकले जनाएको छ ।

चीनको उद्योग वाणिज्य संघको समन्वयमा चीनका विभिन्न प्रतिष्ठानको उत्पादन प्रदर्शनीसहित चाइनिज पेभेलियन रहने उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष राजेन्द्र वलीले जानकारी दिए । उनका अनुसार उक्त पेभेलियनमा सात वटा विशेष स्टल रहने छन् । यसका साथै महोत्सवमा कृषि परिसर, अटो परिसर, डोम, निर्माण एक्स्पो र रेष्टुरेण्ट परिसरसहित कूल चार सय ३० वटा स्टल रहने महोत्सव आयोजक समितिले जनाएको छ ।

महोत्सवअन्तर्गत पुस २९ गतेदेखि माघ ७ गतेसम्म भने नारायणगढको क्याम्पाचौरमा फुड फेष्टिभल (खाना महोत्सव) आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । फुड फेष्टिभलमा परम्परागत खानाको प्रवर्द्धन गरिने आर्थिक समितिका संयोजक जोशी जानकारी दिए ।

पन्ध्र दिनसम्म सञ्चालन हुने महोत्सवमा विगतमा जस्तै विविध खेलकुद, जलयात्रा, स्वास्थ्य सेवा, आदिवासी जनजातिको भेषभुषा, कला संस्कृति झल्कने मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम, दैनिक राष्ट्रिय कलाकारको प्रस्तुति, बाल उद्यानलगायत सञ्चालन हुने जनाइएको छ । महोत्सवको पाँच लाख दर्शकले अवलोकन गर्ने र ३० करोड बढीको कारोबार हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्