ग्लोबल आइएमई बैंकद्वारा बृहत् रक्तदान कार्यक्रम आयोजना
काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बृहत् रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
ग्लोबल आइएमई बैंक पौष १८ गते बिहीबारदेखि स्थापनाको १८ वर्ष पुरा गरी १९ औँ वर्षमा प्रवेश गरेको छ । यही अवसरमा बैंकले मुलुकका सातवटै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रमका साथ–साथै नि:शुल्क आँखा जाँच, रक्तचाप तथा मधुमेह परीक्षण कार्यक्रम आयोजना गरेको हो ।
यस कार्यक्रमअन्तर्गत, कोशी प्रदेशको तीनपैनी शाखा, मधेश प्रदेशको जनकपुर शाखा, बाग्मती प्रदेशको कान्तिपथ शाखा र नारायणगढ शाखा, गण्डकी प्रदेशको पोखरा न्यूरोड शाखा, लुम्बिनी प्रदेशको मिलनचोक बुटवल शाखा र नेपालगंज शाखा, कर्णाली प्रदेशको सुर्खेत शाखा र सुदूरपश्चिम प्रदेशको धनगढी शाखामा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
कार्यक्रममा ७५७ रक्तदाताहरुले रक्तदान गरेका छन् । यसैगरी, ११९ जनाको आँखा जाँच गरिनुका साथै २०० जनाको रक्तचाप तथा मधुमेहको परीक्षण गरी आवश्यक परामर्श प्रदान गरिएको छ ।