देशभरका शाखामा विभिन्न कार्यक्रमको आयोजना
मुक्तिनाथ विकास बैंकले मनायो १९औँ वार्षिकोत्सव
काठमाडौं- मुक्तिनाथ विकास बैंक लिमिटेड अठार वर्ष पूरा गरी उन्नाइसौँ वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा बैंकले शुक्रबार देशभर विभिन्न कार्यक्रम गरेको छ । बैंकले केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौंं, क्षेत्रीय कार्यालयहरू जनकपुर, नारायणगढ, धादिङ्ग, पोखरा, बुटवल र कोहलपुरमा आयोजित बृहत् रक्तदान कार्यक्रममा कुल ६११ युनिट रगत संकलन गरी स्थानीय रक्तसञ्चार गृहलाई हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा वातावरण संरक्षण र जलवायु परिवर्तन रोकथाम विषयलाई लक्षित गरी कक्षा ८ देखि १० सम्मका विद्यार्थीबीच राष्ट्रव्यापी चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितमा कुल ४७६ विद्यार्थीहरू सहभागी भएका थिए । सर्वोत्कृष्ट चित्रको सिर्जनाकार जुलेन गुरुङ्गलाई ५० हजार नगद र प्रमाण पत्र, हरेक क्षेत्रीय कार्यालयअन्तर्गतका उत्कृष्ट चित्रकारलाई जनही १० हजार नगद र प्रमाण पत्र प्रदान गरिएको छ ।
त्यसैगरी, बैंकले कृषि क्षेत्रमा खोज अनुसन्धान गरी प्रेरणादायी लेख रचना तथा समाचार प्रकाशित गर्ने उत्कृष्ट ३ जना पत्रकार लाई ‘मुक्तिनाथ उत्कृष्ट कृषि पत्रकारिता पुरस्कार’ले सम्मानित गरेको छ । उक्त पुरस्कार प्राप्त गर्ने पत्रकारमा सागर परियार (जुम्ला), कौशिला कुँवर (काठमाडौं) र माधवप्रसाद अर्याल (पाल्पा) लाई क्रमश: ३५, २५ र १५ हजार रुपैयाँ र प्रमाण पत्र प्रदान गरिएको छ । दुवै प्रतियोगितामा सम्बन्धित विषयको स्वतन्त्र विशेषज्ञको छनोटका आधारमा पुरस्कार घोषणा गरिएको थियो ।
साथै, बैंकले सातवटै प्रदेशलाई समेटिने गरी विभिन्न विद्यालयका कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरूलाई छात्रवृत्ति, विभिन्न क्याम्पस मा पुस्तकालय स्थापना तथा भौतिक संरचना निर्माण गर्न सहयोग, विभिन्न विद्यालयका विद्यार्थीलाई न्यानो कपडा तथा स्टेसनरी सामग्री वितरण, वातावरण संरक्षण तथा सरसफाइसम्बन्धी कार्य, बागमती सफाइ महाअभियानलाई सफाइ सामग्री हस्तान्तरण, गैरनाफामूलक सामाजिक संस्थालाई आर्थिक सहयोग, वित्तीय साक्षरता कार्यक्रम सञ्चालन, डिजिटल माध्यमद्वारा बैंकिङ्ग साक्षरता, धार्मिक तथा साँस्कृतिक विकासका लागि आर्थिक सहयोग, स्थानीय निकायसँग सहकार्य गरी सेवाग्राहीको हित हुनेगरी फर्निचर तथा उपकरण हस्तान्तरणजस्ता विभिन्न सामाजिक काम सम्पन्न गरेको छ ।
बैंकको केन्द्रीय कार्यालय लाजिम्पाटमा आयोजित कार्यक्रमको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालले गरेका थिए भने सञ्चालक उमेशकुमार आचार्यले स्वागत मन्तव्य, बैंकको हालको अवस्था, प्रगति तथा विभिन्न क्रियाकलापबारे प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र धन्यवाद मन्तव्य सञ्चालक नारायणकुमार श्रेष्ठले राखेका थिए ।
कार्यक्रममा मुक्तिनाथ विकास बैंकको संस्थागत गीत विमोचन, संस्थामा १० वर्ष सेवा अवधि पूरा गरेका ४१ जना कर्मचारीलाई सम्मान पनि गरिएको थियो । कार्यक्रममा बैंकका सञ्चालक, शेयरधनीहरू, सेवाग्राही तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन बैंकका व्यवस्थापक तेजबहादुर गिरीले गरेका थिए ।