भलिबललाई राष्ट्रिय खेल बनाउने सहमति «

भलिबललाई राष्ट्रिय खेल बनाउने सहमति

भलिबललाई नेपालको राष्ट्रिय खेलको मान्यता दिन ससंदीय समिति सहमत भएको छ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा सहभागी सांसदहरु भलिबललाई राष्ट्रिय खेलका रुपमा ऐनमै उल्लेख गर्न सहमत भएका हुन् ।
राष्ट्रियसभाबाट पारित राष्ट्रिय खेलकूद विकास विधेयक, २०७५ मा छलफल गर्दै सांसदहरुले भलिबललाई राष्ट्रिय खेलका रुपमा ऐनमै समावेश गर्न जोड दिए । यसअघि राष्ट्रिय सभाको विधायन व्यस्थापन समितिको प्रतिवेदनमा नेपाल सरकारले राष्ट्रिय खेलकूद परिषद्को सिफारिसमा कुनै एक खेललाई नेपालको राष्ट्रिय खेलको रूपमा घोषणा गर्न सक्ने उल्लेख थियो ।
बैठकले विधेयकको दफा ३८ को उपदफा २ को उपधारा १ बमोजिम ऐन प्रारम्भ हुनुअघि सरकारले राष्ट्रिय खेलको रूपमा तोकेको भलिबल खेललाई सो ऐनबमोजिम राष्ट्रिय खेलको रूपमा तोक्न सहमति जनाएको हो । सोबारे सहमति भएको प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले बैठकमा घोषणा गरेकी थिइन् । यसअघि भलिबललाई सरकारले राष्ट्रिय खेलको रुपमा घोषणा गरे पनि खेलकूद विधेयकमा समेटिएको थिएन ।
तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले २०७४ जेठ ८ गते भलिबललाई नेपालको राष्ट्रिय खेलको रुपमा मान्यता दिएको थियो । समितिको सोमबारको बैठकमा सभापति घर्ती, युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, सांसदहरु जीवनराम श्रेष्ठ, खगराज अधिकारी, रङ्गमती शाही, शान्तबहादुर थारु, अञ्जना विशंखेलगायत सहभागी थिए ।

 
भलिबल क्लब च्याम्पियनसिप माघ पहिलो साता
नेपाल भलिबल सङ्घले आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब च्याम्पियनसिप आयोजना गर्ने भएको छ । राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा आगामी माघ ३ देखि १० गतेसम्म उक्त प्रतियोगिता हुने भएको छ ।
सङ्घले सोमबार पत्रकार सम्मेलन गर्दै उक्त प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्ड हलमा सञ्चालन गरिने जानकारी गराएको हो । प्रतियोगितामा पुरुषतर्फ १२ तथा महिलातर्फ आठ टोलीको सहभागिता रहने सङ्घका महासचिव जीतेन्द्रबहादुर चन्दले जानकारी दिए ।
प्रतियोगितामा पुरुषतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरीको नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, हेल्प नेपाल, मणिमुकुन्द, नयाँबजार, जावलाखेल, ढोरपाटन, काभ्रेपलाञ्चोक, गण्डकी प्रदेश, आरजे भलिबल ग्रुप र पार्वती युवा क्लब सहभागी हुने महासचिव चन्दले बताए ।
यस्तै महिलातर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, जाउलाखेल क्लब, न्यू डायमन्ड क्लब, ढोरपाटन क्लब, चितवन टाइगर्स क्लब र गण्डकी प्रदेशले प्रतिस्पर्धा गर्नेछन् । प्रत्येक टोलीले तीन विदेशी खेलाडी राख्न पाउने व्यवस्था गरिएको छ । विजेताले रु. दुई लाख, उपविजेताले रु. एक लाख तथा तेस्रो हुने टोलीले रु. ५० हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले जनही रु. २५ हजार, उत्कृष्ट लिब्रो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकलाई जनही रु. १० हजार पुरस्कार प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्