स्ट्यान्डर्ड चार्टर्ड मेडिसिटी हस्पिटलबीच साझेदारी

स्ट्यान्डर्ड चार्टर्ड नेपाल र नेपाल मेडिसिटी हस्पिटलबीच व्यापारिक साझेदारीका विषयमा सम्झौता भएको छ । बैंकले आफ्ना प्राथमिकता प्राप्त ग्राहक एवं डेबिट र क्रेडिट कार्ड ग्राहकहरूका लागि सेवा उपलब्ध गराउन हस्पिटलसँग समझदारी गरेको हो । स्ट्यान्र्ड चार्टर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत जोसेफ सिल्भानुस र नेपाल मेडिसिटी हस्पिटलका प्रमुख कार्यकारी अधिकृत सुधाकर जयरामले सम्झौतामा हस्ताक्षर गरे । सम्झौतामा हस्ताक्षर कार्यक्रममा हस्पिटलका अध्यक्ष डा. उपेन्द्र महत्तो पनि उपस्थित थिए ।
सम्झौताअनुसार, बैंकका प्राथमिकताप्राप्त ग्राहकहरूलाई विशेष ‘मेडिसिटी प्राइभी प्रोग्राम’ को निःशुल्क सदस्यता उपलब्ध गराइनेछ । यो कार्यक्रमअन्तर्गत, यस्तो सदस्यता प्राप्त गर्नेले हस्पिटलले उपलब्ध गराउने विभिन्न सेवाहरूमा १० प्रतिशतसम्म छुट तथा निःशुल्क पहिलो स्वास्थ्य परामर्श, टेली–परामर्श, स्वास्थ्यमा पहुँचसम्बन्धी कुराकानी एवं सचेतता जाँचजस्ता सेवा पाउनेछन् ।
मेडिसिटीले नेपालमैं पहिलोपटक प्रिमियम मेडिकल प्याकेज ‘अभिभावकप्रति समर्पित’ सार्वजानिक गर्दैछ । बैंकको हस्पिटलसँगको रणनीतिक साझेदारीअन्तर्गत, बैंकका ‘सिल्भर जेनेरेसन’ (विशेष ग्राहक) र उहाँका अभिभावकहरूलाई विशेष हेरचाहको प्याकेज सेवा निःशुल्क प्रदान गरिनेछ । बैंकका प्राथमिकताप्राप्त ग्राहकहरूले पनि ‘अभिभावकप्रति समर्पित’ प्याकेजमा ६० प्रतिशतभन्दा बढीको छूट पाउनेछन् ।
सम्झौताअनुसार, बैंकको डेबिट र क्रेडिट कार्ड लिएकाहरूले समेत हस्पिटलले प्रदान गर्ने सेवामा ७ प्रतिशतको छूट पाउनेछन् । यद्यपि, औषधि, उपभोग्य वस्तु, प्रत्यारोपण सामग्री एवं चिकित्सकको परामर्श शुल्कमा भने यो छूट पाइने छैन ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत जोसेफ सिल्भानुसले आफ्ना ग्राहकहरूका लागि समर्पित साझेदारी गर्न पाउँदा बैंक हर्षित भएको भन्दै यसले दुई संस्थाबीचको आपसी सहकार्य भविष्यमा थप मजबुत हुने विश्वास व्यक्त गरे । उनले व्यक्तिको स्वास्थ्य समग्र सम्पत्तिको महत्वपूर्ण हिस्सा रहेकाले बैंक आफ्ना ग्राहकको स्वाथ्यप्रति सदैव सचेत रहेको र त्यसैकारण उनीहरूको लाभका लागि यो सम्झौता गरिएको बताए । “अन्तर्राष्ट्रिय बैंक भएकाले हरेक ग्राहक सम्बन्धहरूको मूल्य विस्तार र संरक्षणमा हाम्रो विश्वास छ,” उनले भने