अर्थतन्त्रमा बाँसको योगदान— १

युरोपका सबैजसो देशमा संरक्षित वन तथा वातावरणका कारण हरियाली वृद्धि हुनुका साथै कार्बन उत्पादनमा उल्लेख्य वृद्धि भएको पाइन्छ । |
हालै सार्वजनिक भएको तथ्याङ्कअनुसार नेपाली वनमा ५ करोड ५० लाख टन कार्बन सञ्चित छ । विश्व बजारमा नेपालको कार्बन बिक्रीको चर्चा चलिरहेका बेला सरकारले पहिलो पटक नेपालमा कार्बनको अवस्थाबारे अध्ययन गरेको हो । फिनल्यान्ड सरकारको आर्थिक सहयोगमा गरिएको उक्त अध्ययनअनुसार नेपालमा औसत १७९.९५ टन कार्बन प्रतिहेक्टर वनमा उपलब्ध छ । ‘उच्च हिमाली र पहाडी भेगमा सबैभन्दा धेरै कार्बन सञ्चित छ । अन्तर्राष्ट्रिय बजारमा समेत अब कार्बन बिक्रीका लागि छलफल प्रक्रिया अघि बढाउने आधार नेपालसँग तयार भएको छ,’ – वन स्रोत सर्वेक्षण परियोजना राष्ट्रिय कार्यक्रमका अनुसार ।
यस्तो प्रकृतिको कार्बन उत्पादनका बारेमा नेपालको सबै क्षेत्र र धरातलमा सुलभ रूपले पाइने बाँस र बाँसजन्य वनस्पति जस्तै निगालो, मालिङ्गोको योगदान औसतमा कत्तिको रहेको छ सोका बारेमा भने हालसम्म औपचारिक रूपमा प्रकाश पारिएको छैन । कार्बन उत्पादनका हिसाबकिताबमा बाँस र बाँसजन्य वनस्पतिले पनि धेरथोर स्थान ओगटेको कुरा सोसँग सम्बन्धित विज्ञ र अनुसन्धानकर्ताहरू बताउँछन् । यो कुरा ग्रामीण अर्थतन्त्रमा टिकेको हाम्रोजस्तो देश र कृषि पेसा अँगालिरहेका निम्न मध्यम र निम्न स्तरका जनताका लागि खुसीको कुरा हो । अझ ग्रामीण भेगमा बसोबास गर्ने कृषकले यो कुरा सकारात्मक ढङ्गले लिएका छन् ।
वृक्ष, वृक्षरोपण र वन क्षेत्रको समग्र इतिहासलाई कोट्याउँदै जाँदा भेटिएका पहेलीमध्ये पञ्चायत कालमा राजनीति गर्ने ठूलासाना सबै प्रकारका शक्तिकेन्द्रका मसिहा बने बनाइएका महापञ्च र ससाना ठिनेमिने पञ्चहरूले समेत फुर्तीफार्तीका साथ ‘हरियो वन नेपालको धन भन्थे’ । पाठ्यक्रममा समेत यो उक्तिलाई राखिएको थियो । ती राजाका अह्रौटे पञ्चहरू राष्ट्रिय वनलाई देशकै सान, भूगोलको मान र आफ्नो खानदानका रूपमा हेर्थे । एकातिर त्यो विदेशलाई देखाउने हात्तीको बाहिरी दाँत थियो भने अर्कोतिर आफू सत्ताका राप र तापमा रहेका बेला वन क्षेत्रलाई नै दोहन गरेर आफ्नो चुनावका खर्चसमेत बटुल्थे ।
२०३६ सालको निर्दल बहुदलका घाम तातेका बेला सूर्यबहादुर थापाले पूर्वी नेपालको झापामा पर्ने रतुवा र कन्काई माई नदीबीचको विशाल वनक्षेत्र फँडानी गरी पञ्चायतलाई बहुदलका सामु जिताएर कथित ‘त्राण’ दिएको कथात्मक परिघटनाहरू आजका नयाँ पुस्ताका लागि किंवदन्ती बन्ने गरेका छन् । हाल सो विशाल क्षेत्रमा विभिन्न प्रजातिका वृक्षरोपण गरिए पनि सोचेजस्तो गरी वनक्षेत्र वृद्धि हुन सकेको देखिँदैन । जहाँ टिक, मसला, सिसौ र केही मात्रामा सालका रूखलाई संरक्षण गरिएको पाइन्छ ।
२०४६ सालमा आएर बहुदलको आगमनपश्चात् भने केही वर्ष नेपालको वन क्षेत्रमा ‘हरियो वन गन्दै नगन’ भन्ने व्यङ्ग्यात्मक पहेली सुन्नमा आयो । जबजब नेपालमा विभिन्न खालका ठूला र साना राजनीतिक परिवर्तन भए सोहीबेला देशमा भएका फिलता शासनका कारण संक्रमणको फाइदा उठाउँदै विभिन्न प्रकारका अराजनीतिक शक्ति, वन तस्कर र छोटो समयमा धेरै फाइदा उठाउन चाहने कुतत्वले वन क्षेत्रमा निरन्तर प्रहार गरेको पाइन्छ । यस्ता प्रकारका प्रकृति दोहनका अवाञ्छित कार्यबाट वन र वन्य जन्तुहरू नै अन्त्यहीन मारमा पर्ने गरेका छन् । जसको सुनवाइ कागजका पोथीहरूमा मात्र भएर नहुने रहेछन् ।
व्यावहारिक रूपमा तिनीहरू सब फितला सावित भएका छन् ।
यसरी वन र वन क्षेत्रमा सबै प्रकारका आक्रमणहरू बढे पनि राज्यस्तरबाट रोकथामका कडा कुनै प्रभावी कार्यक्रमहरू हुन नसक्दा एक प्रकारले जनतामा निराशा समेत छायो । रहँदाबस्दा अब नेपाली वनमा रहेको सञ्चित अत्यधिक कार्बन विकसित र औद्योगिक मुलुकलाई बेच्न पाउने कुराले हाम्रो देशलाई अर्बौं रुपैयाँको आम्दानी हुने कुरा बाहिर आएको छ । यो खुसीको कुरा हो ।
देशमा अहिले करिब ४६ प्रतिशत भूभागमा वनक्षेत्रले ओगटेको छ । केही वर्षदेखि यो प्रतिशत क्रमिक रूपले बढिरहेको पाइन्छ । एकातिर देशले अख्तियार गरेका वनक्षेत्र संरक्षणका केही राम्रा कामहरू र मुलुकमा केही वर्षदेखि सामुदायिक वन क्षेत्रको वृद्धिसँगै जब जनतालाई वनको सुरक्षा र उपभोगमा सरिक गराइयो अनि क्रमशः बढोत्तरी भएको हो ।
नेपालमा पछिल्लो समयमा सामुदायिक विकासका हरेक तह र तप्कामा सामुदायिक वन परियोजना र सामुदायिक वन उपभोक्ता महासंघले निकै राम्रो काम गरेको देखिएको छ ।
युरोपका सबैजसो देशमा संरक्षित वन तथा वातावरणका कारण हरियाली वृद्धि हुनुका साथै कार्बन उत्पादनमा उल्लेख्य वृद्धि भएको पाइन्छ । यो सिको दक्षिण पूर्वी एसियाका केही देशले प्रयोगका रूपमा गर्दागर्दै नेपालमा पनि यसको अनुकरण व्यवहारमा आएको हो । समय हाम्रा हितमा बल्ल आएको छ । अब हामीले औद्योगिक राष्ट्रलाई कार्बन बेचेर ठूलो धनराशि आफ्नो हातमा पार्न सक्छौं । उत्पादित कार्बन छिमेकी देश भारत र अन्य शक्ति राष्ट्रहरूलाई बेचेर आफ्नो आर्थिक स्थिति सुधार्नका साथै ठूल्ठूला पूर्वाधार विकासमा लगाउनुपर्छ । यो समग्र रूपमा नेपाल र देशको हित चाहने विकासप्रेमी नेपालीका लागि हर्षातिरेक सन्दर्भ हो ।
वन क्षेत्रमा कार्यरत प्राविधिकहरूका अनुसार धरातलीय हिसाबले मुलुकका सबै क्षेत्रका वनले आआफ्नो तरिकाले कार्बन उत्पादन गर्ने गर्छन्, जसमध्ये पनि नेपाली वनमा यतिधेरै मात्रामा कार्बन उत्सर्जन गर्न सक्ने रूखहरूमा साल, सिसौ, सल्लो, उत्तीस, गुराँस, ओखर, रुद्राक्ष, बोढ धँगेरो, सिमल, काफल, आँप, चाँप, कटहर, टिक, काइँयो, बर, पीपल, अशोक, समीलगायत अन्य धेरै जात र प्रजातका रूखहरू आउँछन् ।
देशको करिब ७० प्रतिशत भूभागमा वन क्षेत्रलाई बढाएर लैजाने हो भने नेपालजस्तो मुलुकमा कार्बन बिक्रीबाटै वर्षको अर्बाैं विदेशी मुद्रा भित्रिन सक्छ, जसले नेपालको आर्थिक विकासका विभिन्न पूर्वाधारहरू जस्तै : सडक, पुल, जल विद्युत्, टेलिफोन, आकाशे पुल र मझौला तथा ठूला उद्योगधन्दामा व्यापक मात्रामा लगानी गर्न सकिन्छ । जसका सन्दर्भमा जमिनमा बग्ने पानीको उपलब्धता मुलुकमा यति धेरै छ त्यसलाई उपभोग गर्ने सोच मात्र बनाउने हो भने नेपालमा भएका करिब ६ हजारभन्दा बढी नदीनालाले पनि वन क्षेत्रलाई प्रत्यक्ष रूपमा हराभरा पार्न मद्दत गर्न सक्ने स्थिति देखिन्छ ।
सरकारी सोच पारम्परिक र कर्मकाण्डीय प्रशासनिक शैलीले शासन गर्ने पुरातन प्रक्रियाले नेपालका नदी र वनक्षेत्रलाई भनेजति मात्रामा उद्योगका हिसाबले प्राथमिक र द्वितीय स्रोतका रूपमा रूपान्तरण गरी दोहन गर्न सकिएको छैन ।
नेपालमा उपलब्ध श्रम र सीपलाई नेपालमै खपत गर्न नसकेर प्रतिदिन १३ सयदेखि १८ सयको हाराहारीमा विदेश गैरहेका ऊर्जावान् युवाहरूलाई देशकै विभिन्न कुनाकाप्चा र सहरबजारमा तिनीहरूकै इच्छा मुताबिकका कृषि, वन र जलजन्य उद्योगधन्दाहरूमा रोजगारीका विविध अवसरहरू दिन सक्ने हो भने नेपालको आर्थिक क्रान्तिका ढोकाहरू स्वतः खुल्ने कुरा दिगो विकासलाई वनसँग जोड्ने सवालमा अध्ययन गरिरहेका विशेषज्ञहरूको धारणा सकारात्मक रहेको पाइएको छ ।
हाम्रो समाजमा रूखबिरुवाको महत्व ज्यादै पुरानो हो । हामीले आफ्नो सनातन परम्परामा पनि रूखलाई धेरै महत्वका साथमा लिएका छौं । वरपीपल र अशोक तथा समीलाई हामी देवीदेवताका रूपमा पूजा गर्छौं भने पञ्चपल्लवका रूपमा वर, पीपल, बेल, डुम्री र पाकरीलाई पूजा आजामा शास्त्रीय हिसाबले चढाउने गर्छाैं । आयुर्वेदले बेल, तुलसी, समी, अशोक र रुद्राक्षजस्ता वृक्षलाई निकै ठूलो महत्वका साथ लिएको पाइन्छ । अझ यसमा पोथ्रा, बुटा, ससाना झाडी र लहराहरूको हिसाब झन् धेरै भएको पाइन्छ ।
देशैभरि तीसौं हजारको संख्यामा रहेका सानाठूला सामुदायिक वनका संगठनहरूले राज्यलाई दिएको फाइदालाई मध्यनजर गर्दै अबका दिनमा नेपाली समाजमा निजी वन राख्न पाइनेतर्फ पनि गहिरिएर सोच्नुपर्ने कुरा उठ्न थालेका छन् । आफ्नो नाममा वनक्षेत्र राख्न चाहने कृषकलाई सो वनक्षेत्र बराबरको जग्गाको मालपोत मिनाहा र प्रोत्साहनका लागि केही अन्य सुविधा उपलब्ध गराउने हो भने नेपालका खेर गैरहेका डाँडापाखामा, खोलाका बगरमा, आआफ्ना बारी र कान्लामा देशीय भूगोल र विविध वातावरण अनुसारका बिरुवाहरू रोपण गर्न सकिन्छ । यसरी रोपिएका बिरुवाहरूले एकातिर हरियाली प्रदान गर्ने गर्छन् भने अर्कातिर विविध प्रकारका कृषि कार्य गर्न मद्दत गर्ने पनि हुन्छन् । पशुपालन र फूल तथा फलफूल खेतीदेखि लिएर मौरीपालनलाई पनि यसरी संरक्षण गरिने बिरुवाले सधैं भरथेग गर्ने गर्छन् । सबै प्रकारका खेतीलाई वन र वातारणको ठूलो आवश्यकता रहेको देखिएको छ । (क्रमशः)