ग्लोबल आइएमईले मनायो १८औं वार्षिकोत्सव
काठमाडाैं- कार्यक्रमको आयोजना गरी १८औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवका अवसरमा बैंकको कर्पोरेट कार्यालय, कमलादीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बैंक तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकले मर्जर र व्यवसाय विस्तारसँगै बैंकको गुणस्तर वृद्धिलाई ध्यानमा राख्दै ग्राहकको सेवा र सन्तुष्टिलाई प्राथमिकतामा राखेर सेवालाई प्रभावकारी र प्रविधिमैत्री बनाउने बताए ।
‘अहिलेको बैंकिङ आवश्यकतालाई मध्यनजर राख्दै हामीले हाम्रा सेवालाई डिजिटल र प्रविधिमैत्री बनाउन आवश्यक छ’ उनले भने, ‘सुरक्षालाई न्यूनतम शर्त बनाएर डिजिटल प्रविधिलाई अंगिकार गर्ने हो ।’ बैंकले स्थापनाको १८ वर्षमा आफूलाई अधिकांश वित्तीय सूचकहरुमा अब्बल बनाउन सफल रहेको उनले बताए । सरकार तथा नेपाल राष्ट्र बैंकका नीतिको परिपालन गर्दै बैंक अहिलेको अवस्थामा आइपुगेको बताउँदै उनले लगनशिलताले मात्र लक्ष्य प्राप्त हुने बताए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकले आफ्नो सेवालाई नविनतम तथा ग्राहकमैत्री बनाउँदै अहिलेको डिजिटल युगमा समयसापेक्ष सेवा दिनेगरी लक्ष्य निर्धारण गरेर अगाडि बढेको बताए । उनले बैंकले आगामी वर्षहरुमा ग्राहकको सेवा र सन्तुष्टिलाई ध्यानमा राख्दै अझ गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता जनाए ।