Logo

भत्किएको पाँच महिना पुग्दा पनि महाकाली पुल तटबन्ध पुनर्निर्माण भएन

महेन्द्रनगर– कञ्चनपुरको महाकाली नदीमाथि निर्माण भएको चार लेन पक्की पुल क्षेत्रको गाइडबण्ड (तटबन्ध) भत्किएको पाँच महिना बितिसक्दा पनि अझै पुनर्निर्माण हुनसकेको छैन । गत भदौ तेस्रो साता महाकाली नदीमा आएको बाढीले चार लेन पककी पुल क्षेत्रमा निर्माण भएको तीन सय मिटर गाइडबण्ड (तटबन्ध) भत्किएको थियो । तटबन्ध भत्किएको पाँच महिना वितिसक्दा समेत हालसम्म उक्त पुल पुनर्निर्माण भएको छैन ।

वर्षात आउन पाँच महिनामात्रै बाँकी रहँदा भत्किएको तटबन्ध पनि पुनर्निर्माणको सुरसार नभएपछि आउँदो वैशाखाभित्रै तटबन्ध पुनर्निर्माण नभए थप विपद् जोखिम निम्तिने देखिएको छ । महाकाली पुलको उत्तर पूर्वतर्फको क्षेत्रमा निर्माण भएको पोखरीको गाइडबण्ड पुनर्निर्माण नहुँदा पुल क्षेत्रका संरचनामात्रै नभई पहुँचमार्ग समेत भत्काएर सिङ्गै महाकाली नदी गाउँ पस्ने जोखिम बढेको छ ।

त्यसैगरी यसअघि पनि २०७८ सालमा महाकालीमा आएको बाढीले भीमदत्त नगरपालिका–१२ ऐरीओदाली क्षेत्रमा पहुँच मार्ग नै भत्काएर नदी गाउँ पसेको थियो भने तीन वर्षअघि पुल पहुँचमार्ग भत्किएर नदी गाउँपसेपछि भीमदत्त नगरपालिका–११, १२ र १३ नम्बर वडा डुबानमा परेका थिए । गत भदौको चार लाख ६१ हजार क्युसेक पानीको बाढीले गाइडबण्ड तटबन्ध भत्किएपछि पहुँचमार्गमा क्षति भएन । तर, समयमै पुनर्निर्माण नहुँदा अहिले भने विपद् जोखिम बढिरहेको छ । स्थानीयले यस वर्ष पनि समयमै गाइडबण्ड निर्माणको माग अघि सारेका छन् ।

विपद् जोखिममा परेका भीमदत्त नगरपालकाभित्रका ११, १२ र १३ वडाका जनप्रतिनिधि एवम् स्थानीयले समयमै भुजेला खोलाको निकासदेखि भत्किएको तटबन्ध निर्माणमा जोडदिएका छन् । त्यसैगरी भीमदत्त नगरपालिका ११ का वडाध्यक्ष प्रकाश थापाले महाकाली नदी भुजेला खोलामा उल्टिएर आउने भएपछि भीमदत्त नगरका तीन वडा डुबानमा पर्दै आएको बताए । ‘यो भुजेला खोलाको निकास महाकाली नदीको समानान्तर रुपमा बगाउनुपर्छ,’ उनले भने, ‘एकातिर निकास अर्कातिर तटबन्ध निर्माण गर्नुपर्छ ।’

भीमदत्त नगरपालिका–१२ का वडाध्यक्ष भुपेन्द्र रावलले वर्षा अगावै भत्किएको गाइडबण्ड निर्माण नभए थप जोखिम निम्तिने बताएका छन् । ‘गत भदौमा भत्किएको गाइडबण्ड अहिलेसम्म पुनर्निर्माण हुन सकेको छैन,’ ‘उनले भने, ‘हामी फेरि पनि जोखिमा पर्ने खतरा छ भने त्यतिबेला समेत हामीहरू डुबानको चपेटामा परेका थियौँ ।’ भीमदत्त नगरपालिका–१३ का वडाध्यक्ष रामबहादुर बोहराले वर्षात्का बेला फेरि महाकालीको भेल गाउँ पस्ने भएकाले बाढीबाट बाँच्नका लागि यथाशीघ्र काम बढाउनुपर्नेमा जोड दिएका छन् ।

निर्माण कम्पनीद्वारा सडक खनेर पहुँच मार्ग अवरोध
चार लेन पुल निर्माण कम्पनी कुमार सीएफईसी ज्वाइन्ट भेन्चरले सरकारले चौथो भेरिएसन बारे समयमै निर्णय दिन नसकेको भन्दै बुधबारदेखि महाकाली पुल वारिपारि सडक खनेर पहुँच मार्ग अवरोध गरेको छ । पुलको दुवैतर्फ खन्दा एकतर्फ सडक बन्द भएको भने अर्कातिर सुचारु भएको छ ।

त्यसैगरी चौथो भेरिएसन स्वीकृत नहुँदासमेत अतिरिक्त काम रोकिएको भन्दै यातायात नै अवरुद्ध गरेर सरकारलाई दबाब दिन सांकेतिक सडक अवरोध गर्न खोजिएको निर्माण कम्पनीले जनाएको छ । कुमार सीएफइसी ज्वाइन्ट भेन्चरका परियोजना व्यवस्थापक इन्जिनियर किशोरराज पाण्डेले तटबन्ध पुनर्निर्माण बारे भेरिएसनको प्रतिवेदन स्वीकृत हुन नसक्दा काम हुन नसकेको बताए ।

‘२०७८ सालमा गाइडबण्ड थिएन, नदीले सिधै पहुँच मार्ग भत्काइदियो,’ उनले भने, ‘महकाली नदी पूर्वतिर भएर बग्दा तटबन्ध भत्किएको हो । तटबन्ध पुनर्निर्माणका लागि झण्डै चार महिना लाग्ने भएकाले अहिलेसम्म भेरिएसन स्वीकृत नहुँदा हामी पनि अन्योलमा परेका छाैं । समयमै तटबन्ध निर्माण नहुँदा आउँदो वर्षात्मा थप जोखिम निम्तिने छ । यसका लागि सरकार समयमै गम्भीर हुनुपर्छ ।’

इन्जिनियर पाण्डेका अनुसार गड्डाचौकी स्थित स्थानीयले सडक अवरोध गरेपछि दबाब दिनका लागि सडक बन्द गर्न खोजेको बताए । ‘गड्डाचौकीमा पहुँच मार्गको बेस निर्माण भइसकेको छ । तर, स्थानीयले अवरोध गरेपछि हामीले कालोपत्रे गर्न सकेका छैनौँ,’ उनले भने, ‘हामीले काम कसरी गर्ने, यहाँबाट पठाएको चौथो भेरिएसन पनि स्वीकृत भएको छैन । त्यो नहुँदा गत भदौमा आएको बाढीले भत्काएको गाइडबण्ड पुनर्निर्माण गर्न सकेका छैनौँ । पहिलो पटक हामीले साँकेतिक सडक खनेर आवतजावत बन्द गर्न खोजेको हो ।’

थप क्षति रोक्नका लागि समयमै तटबन्ध निर्माणसहितका काम अघि बढाउनुपर्ने इन्जिनियर पाण्डेयले बताए । त्यसैगरी हालसम्म गरेको कामको पनि झण्डै २२ करोड भुक्तानी नपाएको र भेरियसन नभएका कारण पनि नौ करोडभन्दा बढीको प्रमाणित क्षतिपूर्ति समेत नपाएको उनले बताए । महाकाली पुल योजना कार्यालयका सहायक सूचना अधिकारी सबइन्जिनियर दुर्गादत्त अवस्थीले योजना कार्यालयबाट भेरिएसन स्वीकृतका लागि विभाग हुँदै मन्त्रालय पुगेको र सचिवले स्वीकृत गरेर मन्त्रीको टेबुलमा बसेको बताए ।

प्रतिक्रिया दिनुहोस्