Logo

तीन पुस्ते विवरणा सार्वजनिक गर्ने तयारी

दियालो सहकारीबाट ३८७ जनालाई २९ करोड ऋण प्रवाह

जुम्ला– जुम्लाको दियालो बहुउद्देश्यीय सहकारी संंस्थाले विभिन्न प्रयोजनका लागि २९ करोडबढी ऋण लगानी गरेको पाइएको छ । सहकारीमा आबद्ध भएका सदस्यहरुलाई विभिन्न प्रयोजनबापत सहकारीले हालसम्म २९ करोड ७५ लाख रुपैयाँ ऋण लगानी गरेको हो । दियालाले बचत फिर्ता नदिएको भन्दै केही बचतकर्ता आन्दोलित भएपछि सहकारीले पटकपटक ताकेता गर्दा पनि अटेरी गर्ने ऋणीहरुको तीन पुस्ते विवरण सार्वजनिक गर्ने जनाएको छ ।

बचत फिर्ताको माग गर्दै बचतकर्ताले दैनिक आन्दोलन र हडताल गरिरहेको अवस्थामा सहकारीले एक वर्षका लागि भनेर लिएको ऋण ४/५ वर्ष बित्दासमेत नतिर्ने ऋणीको नाम र फोटो सार्वजनिक गर्ने तयारी गरेको सहकारीका प्रबन्धक दीपक शाहले बताए । सहकारीबाट हालसम्म ३ सय ८७ जनाले ३२ करोड ४७ लाख ऋण लगेकोमा २९ करोड ७५ लाख असुली गर्न सकेको छैन ।

न्यूनतम एक लाखदेखि ४० लाखसम्म ऋण लिएको प्राप्त विवरणमा उल्लेख छ । यद्यपि सहकारी ऐन २०७४ ले कुनै एक सदस्य वा व्यक्तिबाट २५ लाखभन्दा बढी बचत गर्न नपाइने, एक व्यक्तिलाई १० लाखभन्दा बढी ऋण लगानी गर्न नपाइने प्रावधान राखेको छ । आइतबार राष्ट्रपतिले जारी गरेको सहकारी सम्बन्धी अध्यादेशले १० लाखभन्दा माथि बचत गर्ने सदस्यले स्रोत खुलाउनु पर्ने र उत्पादनमूलक क्षेत्र बाहेक अन्य क्षेत्रमा ऋण लगानी गर्न नपाइने व्यवस्था गरेको छ ।

तर, जुम्लाका सहकारीले ऐन र अध्यादेश विपरीत हचुवाका भरमा ऋण लगानी गर्दा समस्या निम्तिएको हो । जसका कारण बचतकर्ताको रकम डुब्ने स्थिति छ । ऋण लिनेमा जिल्लाका व्यापारी, होटल व्यवसायी, विभिन्न दलका नेता कार्यकर्ता रहेका छन् । शक्ति, सत्ता र विभिन्न समयमा आएका अभियन्ताको आडमा ऋण नतिरेर बसेका ऋणीकै लापरबाहीले ऋण असुली खराब बन्दै जाँदा समस्या भएको दियालो सहकारीले जनाएको छ ।

आइतबार जिल्ला प्रशासनमा बचतकर्ता र सहकारीबीच चैत र असारसम्म समयावधि पुगेका बचतकर्ताको बचत फिर्ता गर्ने बारे लिखित गर्ने सहमति भए पनि ऋण असुलीमा सहकारीलाई निकै मुस्किल परेको छ । एक वर्ष भित्र बुझाई सक्नु पर्ने अधिकांश ऋण ४/५ वर्षसम्म पनि नतिर्दा सहकारीको ऋण असुली बर्सेनि खराब हुँदै गएको थियो । दियालो बहुउदेश्यीय सहकारी संस्थाका प्रबन्धक दीपक शाह बितेको डेढ वर्षमा मुस्किलले डेढ करोड मात्रै ऋण असुली गर्न सम्भव भएको बताउँछन् ।

‘हामीले बचत कर्ताको करिब ८/९ करोड रुपैयाँ बचत फिर्ता गर्नुपर्ने छ । उनी भन्छन्,‘ करिब ९ करोडसम्म बचत फिर्ता गर्नु पर्नेछ । ऋण असुली मात्रै साढे २९ करोड गर्नु पर्नेछ । सहकारी पुरै धरासायी भएको अवस्था पनि होइन । केही व्यक्तिको लहलहैंमा लागेर केही बचत कर्ता आन्दोलनमा आए । त्यसले झनै ऋण असुलीमा समस्या ल्यायो । तर हामी निरन्तर ऋण असुलीमै जुटेका छौं ।’ ऋण असुली बिना बचत कर्ताको बचत फिर्ता सम्भव नरहेकोले पटकपटक ताकेता गर्दा पनि अटेरी गरेका सबै ऋणीको तीन पुस्तेसहित ऋणको विवरण सार्वजनिक गर्नेसमेत सहकारीले तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्