Logo

भैरहवा नाकाबाट ९२ हजार विदेशी पर्यटक भित्रिए

भैरहवा– स्थलनाका भैरहवा हुँदै ५ वर्षपछि अत्यधिक विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यो नाका हुँदै सन् २०२४ को १२ महिनामा कुल ९२ हजार ६ सय ४४ विदेशी पर्यटक भित्रिएको अध्यागमन कार्यालय भैरहवाका प्रमुख एवं अध्यागमन अधिकृत नारायण पाण्डेले बताए । त्यसैगरी यो नाका हुँदै ९३ हजार २ सय ९० पर्यटक बाहिरिएका छन् । यो नाकाबाट सन् २०१८ मा सर्वाधिक पर्यटक भित्रिएका थिए ।

उक्त वर्ष एक लाख ६६ हजार २ सय ३५ पर्यटक आएका थिए । जुन हालसम्मकै सर्वाधिक हो । त्यसपछि स्थलमार्ग हुँदै पर्यटक आगमन निरन्तर ओरालो लागेको थियो । कोरोना महामारी सुरु भएको वर्ष २०१८ मा एक लाख ६१ हजार ६ सय विदेशी पर्यटक यो नाका हुँदै आएका थिए । सन् २०२० मा ४३ हजार ३६७, २०२१ मा ८१२, २०२२ मा २० हजार २२० र अघिल्लो वर्ष ८१ हजार ५५१ पर्यटक आएको तथ्यांक छ ।

कोरोना महामारीका कारण बिग्रिएको पर्यटक आगमन गत वर्षदेखि वृद्धि हुँदै गएको अध्यागमन अधिकृत पाण्डेले बताए । यो नाका हुँदै भारतीय पर्यटक अत्यधिक आउने गरेका छन् । भारतीय पर्यटक आगमनको अभिलेख अध्यागमन कार्यालय र ट्राफिक प्रहरी कार्यालय दुवैसँग छैन । तर, राहदानी बाहक ४ सय ९७ जना भारतीय नागरिक नेपाल भित्रिएको तथ्यांक मात्रै अध्यागमनसँग रहेको छ ।

सन् २०२४ मा श्रीलंकाबाट २६ हजार ५ सय ७७ पर्यटक आएका थिए भने थाइल्याण्डबाट २१ हजार ३ सय, म्यान्मारबाट ११ हजार ४ सय , भियतनामबाट ७ हजार ४ सय ८४, दक्षिण कोरियाबाट ३ हजार ८ सय, अमेरिकाबाट २ हजार ६ सय गरी १ सय २० देशका नागरिक यो नाका हुँदै नेपाल भित्रिएको अध्यागमन कार्यालयका सूचना अधिकृत पुकार श्रेष्ठले बताए । पर्यटक आगमन श्रीलंका र थाइल्याण्डको बढे पनि म्यानमार र दक्षिण कोरियाको भने घटेको छ ।

यो नाका हुँदै चिनियाँ पर्यटकको आगमन भने शून्य छ । सन् २०१८ मा ५ हजार २५, सन् २०१९ मा ६ हजार १ सय ८ र २०२० मा ८ सय १३ चिनियाँ बेलहिया नाका हुँदै नेपाल आएका थिए । त्यसपछि भने चिनियाँ पर्यटक आगमन स्थलनाका बेलहिया हुँदै शून्य रहेको छ । यो नाका हुँदै आउने पर्यटकहरूको मुख्य गन्तव्य बुद्धजन्म स्थल लुम्बिनी रहेको छ । त्यसपछिको रोजाइ पाल्पा, पोखरा, मुक्तिनाथ, काठमाडौं र सौराहा रहेको छ ।

यो नाका हुँदै नेपाल प्रवेश गर्नेहरूको मुख्य गन्तव्य बुद्धजन्मस्थल लुम्बिनी रहे पनि उनीहरूको बसाइ अवधि अत्यन्त न्यून रहेको अध्यागमन अधिकृत पाण्डेले बताए । लुम्बिनीमा पर्यटकहरू बढीमा २ रातभन्दा बढी बसेको पाइदैन् । कम्तीमा एक रात बस्ने गरेका छन् । १० प्रतिशत जति त्यही दिन आएर त्यही दिन फर्कने गरेका अध्यागमन अधिकृत पाण्डेले बताए ।

३० महिनामा ७२९ अन्तर्राष्ट्रिय उडान
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्म ७२९ उडान भएको छ । २०७९ जेठ २ देखि २०८१ पुस १५ सम्म साढे ३० महिनाको अवधिमा ७२९ उडान अवतरणमार्फत ४५ हजार ५ सय ७३ यात्रुले अन्तर्राष्ट्रिय उडान अवतरणमार्फत आवतजावत गरेको नागरिक उड्डयन प्राधिकरण कार्यालय गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए ।

उडानमार्फत आगमनतर्फ २१ हजार २७९ जना र प्रस्थानतर्फ २४ हजार २९४ जना यात्रुले विमानस्थल प्रयोग गरिसकेका छन् । उडान सुरु भएको बीचमा करिब १० महिना उडान बन्द भएको थियो । त्यसपछि गत कात्तिक १८ गते पुन: अन्तर्राष्ट्रिय उडान सुरु भएकोमा अहिले नेपाल वायुसेवा निगम र थाई एअर एसियाले उडान गरिरहेका छन् । जजिरा एयरवेज, फ्लाई दुबई र कतार एयरवेजले अहिले प्राविधिक कारण देखाउँदै उडान बन्द गरेका छन् ।

कतारले तालिका अनुसार सीमित उडान गरेको थियो । कतारको उडान दोहा भैरहवा काठमाडौं दोहा थियो । जजिराले साप्ताहिक ३ उडान कुबेत भैरहवा गर्दै आएकोमा अहिले मौसमका कारण उडान रोखिएको छ । फ्लाई दुबईले दुबई– भैरहवा– काठमाडौ दुबई उडान गर्दै आएकोमा मौसमका कारण देखाई अहिले बन्द गरेको छ ।

अन्तर्राष्ट्रिय उडानमा विमानसेवा कम्पनीलाई आकर्षित गर्न राज्यले यात्रु सेवा शुल्क, ल्यान्डिङ पार्किङ, नेभिगेशन, पर्यटन शुल्कमा सतप्रतिशत छुट गराउँदै आएको छ भने ग्राउण्ड हयान्डलिंगमा ७५ प्रतिशत छुट र हवाई इन्धन मा १ किलोलिटर मा १०० डलर छुट दिँदै आएको छ । अझै पनि स्वास्थ्य परीक्षण, श्रमका कामका लागि काठमाडौं जानुपर्ने बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस्