मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन सम्पन्न
परियोजना सञ्चालन अनिश्चित
बारा– मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणअन्तर्गत पेट्रोल र मट्टितेल आपूर्ति गर्ने परियोजनाको सफल परीक्षणसहित सम्पन्न भएको छ । दुई देशका प्रधानमन्त्री स्तरबाट उद्घाटन हुने भनिएको परियोजना उद्घाटन गर्न भारतले समय उपलब्ध नगराउँदा पाइपलाइन सञ्चालन प्रक्रिया अनिश्चित बनेको हो ।
नेपाल आयल निगमका मधेश प्रादेशिक कार्यालय प्रमुख प्रलयंकर आचार्यले परियोजनाको दोस्रो चरण उद्घाटन गर्न समय निगमले कुरेर बसेको तर कतैबाट पनि हालसम्म समय उपलब्ध हुन नसकेको जानकारी गराए । उनले उद्घाटन भएपछि दोस्रो चरणबाट पाइपलाइनमार्फत नियमित इन्धन आपूर्ति हुने बताए । निगमले मंसिर अन्तिम साता ५ हजार ५ सय किलोलिटर पेट्रोल र पुस पहिलो साता एक हजार किलोलिटर मट्टितेल पाइपलाइनमार्फत ल्याई सफल परीक्षण गरेको थियो ।
सफल परीक्षणपछि जनवरी फस्टमा उद्घाटनको तयारीमा जुटेको निगम भारतीय पक्षले सहकार्यमा प्रधानमन्त्री नरेन्द्र मोदीको समय अभाव भएको जनाएपछि परियोजना सञ्चालन अनिश्चित भएको निगमका अधिकारीहरूले बताएका छन् । पाइपलाइनबाट परीक्षण स्वरूप यसअघि नै पेट्रोल र मट्टितेल सफलता पूर्वक ल्याइए पनि उद्घाटनका कारण नियमित नहुँदा निगमले बजारमा इन्धन अभाव हुन नदिन भारतको बरौनीबाट पेट्रोल र मट्टितेल १ सय ४ वटा नेपाली ट्यांकरमार्फत ढुवानी गर्ने कार्य थालिसकेको छ ।
उद्घाटनको समय नतोकिएपछि अन्योल बनेको निगमले अमलेखगन्ज-लोथर पाइपलाइन विस्तारको कामअघि बढाएको छैन । ‘उद्घाटन लगतै अमलेखगन्ज-लोथर पाइपलाइन विस्तारको काम सुरु हुन्छ । तर हाल उक्त क्षेत्रको काम हुन सकेको छैन’ प्रमुख आचार्यले भने, ‘हामीले उद्घाटन कुरेका हौं, तर उद्घाटनको दोस्रो सातापछि लोथर पाइप लैजाने काम थालिने छ ।’ निगमले परियोजना सम्पन्न भएसँगै उद्घाटनको समय लिन सरकारलाई अगा्रह गरेको थियो ।
नेपाल सरकारले भारत सरकारसँग आग्रह गरे पनि भारत तत्काल उद्घाटन गर्न सकारात्मक नबनेपछि परियोजना सञ्चालनको अन्योलता बढेको हो । मोतिहारी–अमलेखगन्ज पाइपलाइनको पहिलो परियोजना सम्पन्न भएपछि २०७६ भदौ २४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीले सयुक्त रूपमा उद्घाटन गरेका थिए ।
एक महिनासम्मको स्टक क्षमता भएको निगममा हाल १५ हजार १ सय १० किलोलिटर पेट्रोल, २४ हजार ८ सय १० किलोलिटर डिजेल र २२ हजार ७० किलोलिटर मट्टितेल भण्डारण रहेको छ । पश्चिम नेपालको धनगढी, नेपालगन्ज क्षेत्र तथा पूर्वको बिर्तामोड काँकडभिट्टा क्षेत्र आसपासमा ढुवानी लागत बढी पर्ने हुँदा तिनै प्रकारका इन्धन ट्यांकरमार्फत भारतबाटै इन्धन ल्याई निगमले वितरण गर्ने गरेको छ । पाइपलाइन सञ्चालनले इन्धन चोरी, मिसावट, ढुवानी भाडाबापत वार्षिक २ अर्ब ५० करोड रुपैयाँ बचत हुने निगमको दाबी छ ।