तीव्र गतिमा निर्माण हुँदै धनगढी मेनरोड
बजेट अभाव र गुणस्तर कमजोर हुने आशंका
धनगढी– धनगढीको कैलाली पुलदेखि क्याम्पस चोकसम्मको मेनरोड तीव्रगतिमा निर्माण भइरहेको छ । निर्माण सुरु भएको २० महिनामै सडक संरचना निर्माण भई कालोपत्रे ट्रायल भइसकेको छ । भौतिक पूर्वाधार विकास कार्यालय कैलाली र केएस कन्स्ट्रक्सन प्रालिबीच २०८० वैशाख २७ गते निर्माण सम्झौता भई काम भइरहेको सडकको भौतिक प्रगति ६५ प्रतिशत भइसकेको छ । सडकको पूर्वीखण्डमा कालोपत्रेसमेत भइसकेको छ ।
जिल्ला प्रहरी कार्यालय नजिकको नालादेखि क्याम्पस रोडसम्म एक साइडमा पहिलो लेयर कालोपत्रे भएको छ । पूर्वाधार विकास कार्यालयका अनुसार पहिलो लेयर कालोपत्रेको ट्रायल पनि पास भएको छ । सडकको दुवैतर्फ नाली, माटे लेयर, सबबेस निर्माण सम्पन्न गरी बेस निर्माणको कामसमेत लगभग आधा जति सकिएको छ । सडक खण्डको पश्चिम क्षेत्र (कैलाली पुलदेखि पार्कमोडसम्म) सबबेस निर्माण सकिएको छ ।
घाम लाग्न छाडेकोको हुँदा निर्माण कम्पनीले बेस निर्माणको काम गरिरहेको पूर्वाधार विकास कार्यालयका साइड इन्चार्ज हर्क जोशीले बताए । उनले राम्रोसँंग घाम लागेपछि कालोपत्रेको काम गरिने बताए । सम्झौताअनुसार धनगढी मेनरोडको निर्माणकार्य आउँदो वैशाख २६ गतेभित्र सम्पन्न हुनुपर्छ । दुई वर्षमा निर्माणकार्य सम्पन्न गर्ने शर्तमा ५१ करोड ६८ लाख रुपैयाँमा ठेक्काका सम्झौता भएको थियो ।
पूर्वाधार विकास कार्यालयले केएस कन्स्ट्रसनलाई २०८१/०८२ को पहिलो चौमासिकसम्म २८ करोड ७३ लाख रुपैयाँ भुक्तानी दिइसकेको छ । सम्झौता बमोजिम २२ करोड ९५ लाख रुपैयाँ (४४.४१ प्रतिशत) भुक्तानी दिन बाँकी छ भने ३५ प्रतिशत काम गर्न पनि बाँकी छ । तर, सुदूरपश्चिम प्रदेश सरकारले यस सडकका लागि चालु आर्थिक वर्षमा १० करोड ५० लाख रुपैयाँमात्रै विनियोजन गरेको छ ।
जसले गर्दा चालु आर्थिक वर्षमै काम सक्न बजेटकै कारण समस्या हुन सक्ने पूर्वाधार विकास कार्यालयले जनाएको छ । कैलाली पुलदेखि क्याम्पस चोकसम्म मिडियन र साइड ड्रेनसहितको चार लेन सडक निर्माण भइरहेको छ । २.३ किलोमिटरको यो सडक खण्ड अक्स्फाल्ट कंक्रिट प्रविधिबाट कालोपत्रे हुँदैछ । जसको मोटाइ १० सेन्टिमिटर हुन्छ भने अक्स्फाल्ट कंक्रिटको मिश्रणमा २ प्रतिशत सिमेन्ट, ५.४ बिटुमिन, बाँकी ९२.६ प्रतिशत १३ एमएमभन्दा साना गिट्टी र ढुंगाकै डस्ट प्रयोग गर्ने स्टिमेट बनेको छ ।
साइड इन्चार्ज जोशीले पहिलो लेयरमा ५ सेन्टिमिटर अक्स्फाल्ट कंक्रिट हालेर सेट गरिएको बताए । उनले दोस्रो लेयरमा पनि ५ सेन्टिमिटर अक्स्फाल्ट कंक्रिट हालेर रोलरले दबाइने बताए । उनले मौसम खुलेमा निर्धारित मितिमै धनगढी मेनरोडको काम सम्पन्न हुने सम्भावना रहेको बताए । धनगढीको मेनरोड निर्माणको काम फटाफट भइरहेको भए पनि त्यसमा गुणस्तरको सवाल पनि उत्तिकै छ ।
सडक प्राविधिकका अनुसार अक्सफाल्ट प्रविधिबाट बनाइएका जुनसुकै सडकको आयु १५ देखि ३० वर्षसम्मको हुन्छ र सडक स्मुथ (एक लेबलको) हुने भएको सवारी साधन चल्दा कुनै पनि चाल महसुस हुँदैन । तर, धनगढीको मेनरोडमा गरिएको पहिले लेयरको कालोपत्रेमा उभरखाभर देखिएको छ । पूर्वाधार विकास कार्यालयका साइड इन्चार्ज जोेशीले ३/३ मिटरको चौडाइमा अक्स्फाल्ट कंक्रिट हालेर दबाउँदा लाइनिङ देखिएको बताए । उनले दोस्रो चरणको कालोपत्रे गर्दा सडक स्मुथ भएर आउने बताए ।
सडकहरूको सबबेस र बेस कसरी कम्प्याक्ट गरिएको छ र सडकको डिजाइन कस्तो बनाइएको छ भन्ने कुराले सडकको भार बहन क्षमतालाई निर्धारण गर्ने सुदूरपश्चिम प्रदेशको यातायात पूर्वाधार विकास निर्देशनालयका निर्देशक सिनियर डिविजनल इन्जिनियर जगतप्रकाश जोशीले बताए । ‘अक्स्फाल्ट प्रविधिबाट गरिएको कालोपत्रे बलियो नै हुन्छ । तर निर्माण गर्दा गुणस्तरमा कति ध्यान दिएको छ भन्ने कुराले महत्त्वपूर्ण हुन्छ ।’
मोहनापुल–अत्तरिया ६ लेन सडक पनि अक्स्फाल्ट कंक्रिट प्रविधिबाट बनेको हो । सो सडक निर्माण गर्दा गुणस्तरमा ध्यान नदिइएकोले सडकमा सुरुदेखि नै उभरखाभर छ भने कतिपय ठाउँमा सडक दबेर भासिएको छ । कतिपय ठाउँमा चिरासमेत पर्न थालेको छ ।
‘ट्राफिक भार, हावापानी र घामबाट हुने सानातिना खुम्चाइ वा फैलाइ अक्सफाल्ट कंक्रिटबाट बनेको सडकके सतहले आफैभित्र समाहित गराउन सक्छ र चर्कने वा फुट्ने सम्भावना कम हुन्छ,’ राजमार्ग र पुल इन्जिनियरिङका विज्ञ राजेन्द्रराज शर्माले ‘सडक निर्माणमा किन सिमेन्ट कंक्रिट प्रविधिमा जाने?’ शीर्षकको आफ्नो लेखमा भनेका छन्, ‘यसैले यस्तो सडक सानो मोटाइमा पनि बनाउन सकिने हुँदा तुलनात्मक रुपमा सस्तो पर्न आउँछ । यस्तो सडकको आयु सिद्धान्तत: प्राय: १०–२० वर्षको हुन्छ । अझ निर्माण गर्ने बेला गुणस्तरमा राम्रो ध्यान पुर्याउन सकेन भने त्यति पनि हुँदैन । यो अवधिमा पनि बर्सेनी खाल्डाखुल्डी टाल्ने र ५–६ वर्षको अन्तरालमा सहतमा केही पत्र थपिरहनुपर्ने हुन्छ । नेपालमा कतिपय कालोपत्रे सडक बनाएको १–२ वर्षभित्रै बिग्रिएका पनि छन् ।’