Logo

विदेश जानेमध्ये झण्डै ७२ प्रतिशत दक्ष श्रमिक

काठमाडौं– विगतमा नेपालबाट वैदेशिक रोजगारीमा जाने श्रमिकमध्ये अदक्षको हिस्सा सबैभन्दा धेरै हुने गरेकामा अहिले सुधार हुँदै आएको छ । अहिले विदेश जानेमध्ये दक्ष श्रमिकको संख्या झण्डै प्रतिशत पुगेको छ ।

वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको गत आवको तथ्यांकअनुसार ७ लाख ४१ हजार युवा वैदेशिक रोजगारीमा गएका थिए । यसमध्ये ५ लाख ३२ हजार युवा दक्ष भएर वैदेशिक रोजगारीमा गएको देखिन्छ । यो झण्डै ७२ प्रतिशत हो । यो संख्या गत वर्ष ६५ प्रतिशत थियो ।

तीन वर्षअघि आव २०७८–७९ मा वैदेशिक रोजगारीमा जानेमध्ये अदक्ष र दक्षको हिस्सा लगभग बराबरी थियो । तीन वर्षभित्रमै दक्ष जनशक्ति धेरै जान सुरु गरेका हुन् । विभागका निर्देशक लोकनाथ भुसालले पछिल्लो समय सीप सिकेर जाने श्रमिकको संख्या बढेको जानकारी दिए । उनले पहिलो पटक जानेमात्र नभएर पुनः श्रमस्वीकृति लिएर आएका पनि सीप परीक्षण गरेर जाने गरेको बताए । यही कारण पनि वैदेशिक रोजगारीमा जानेमध्ये दक्ष जनशक्तिको संख्या बढेको उनको भनाइ छ ।

विभागले विदेश जाने श्रमिकलाई विभिन्न वर्गमा विभाजन गर्दै आएको छ । विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार उच्च दक्षको संख्या ७३२ छ भने व्यवसायिक २७७२ जना गएका छन् । यस्तै दक्ष जनशक्तिको संख्या ५ लाख ३२ हजार छ । यस्तै अर्धदक्ष ६० हजार छ ।

विगतका वर्षहरुमा बिनासीप वैदेशिक रोजगारीमा गएका श्रमिकले विभिन्न प्रकारका समस्या भोग्ने गरेका थिए । पछिल्लो समय सीप सिकेर जाँदा यस्ता समस्या कम भोग्नुपरेको छ । अर्कोतिर वैदेशिक रोजगारीमा प्राविधिक ज्ञान, विकास र तालिम लिएर सीपयुक्त दक्ष श्रमिक जानेको संख्या बढेसँगै आयसमेत बढेको छ ।
सीप सिकेर गए पनि अझै सीपअनुसारको काम नभएका कारण विभिन्न देश पुगेका नेपाली श्रमिकले समस्या झेल्नुपरेको नेपाल टे«ड युनियन महासंघ (जिफन्ट) ले जनाएको छ । तथ्यांकले अर्धदक्ष तथा सीपयुक्त भएर जानेको संख्या वृद्धि भएको देखाए पनि व्यवहारमा ठगिने क्रम अझै जारी छ । जानुपूर्व नेपालमा गरेको सम्झौता गन्तव्य मुलुकमा पुगेपछि लागु नहुने र अर्कै सम्झौतामा हस्ताक्षर गर्न बाध्य पार्ने काम भइरहेको छ । यस्तै, नेपालमा भनिएभन्दा फरक काम गर्न र कम सेवासुविधा लिन बाध्य पार्ने गरिएको गुनासो नेपाली श्रमिकबाट आइरहेका छन् ।

विगतमा सीप भएका पनि त्यसको परीक्षण नगरी वैदेशिक रोजगारीमा जाने गरेका कारण आधा अर्थात् ४८ प्रतिशत श्रमिक अदक्ष रहेको सरकारी तथ्यांकले देखाउने गरेको थियो । यसमध्ये पनि महिला श्रमिकको हिस्सा अझ कम रहेको देखिन्छ । सरकारले २०७६ भदौबाट तोकिएको क्षेत्रअनुसार एक महिनाको सीप तालिम नलिएका युवा वैदेशिक रोजगारीमा जान नपाउने नियम बनाउने भनेको थियो । दक्ष भएर वैदेशिक रोजगारीमा जाने श्रमिकको आम्दानी साथै सुरक्षा पनि उच्च हुने गरेका कारण वैदेशिक रोजगारीमा हुने समस्या कम हुने विज्ञको भनाइ छ ।

जिफन्टका महासचिव जनक चौधरीले वैदेशिक रोजगारीमा जाने युवाको कामलाई आम्दानी र सुरक्षाका हिसाबले मर्यादित बनाउन सीप विकास तालिम अनिवार्य बनाएर कार्यान्वयन गर्नुपर्ने बताए । रोजगारमूलक सीप विकास तालिम सञ्चालन कार्यविधि, २०७५ लागु भएपछि नेपालबाट वैदैशिक रोजगारीमा जाने सबै युवा सीपयुक्त प्रमाणपत्रको आधारमा जानुपर्ने थियो । वैदेशिक रोजगार ऐनमा वैदशिक रोजगारीमा जाँदा अनिवार्य तालिम लिनुपर्ने व्यवस्था छ ।

वैदेशिक रोजगार बोर्डले रोजगारीका लागि विदेश जाने युवाले अनिवार्य सीप विकास तालिम लिनुपर्ने व्यवस्था गरेको छ । यसका लागि प्राविधिक र भौतिक पूर्वाधार विकास गरिएको छ । विगतमा तालिम नै नलिई नक्कली प्रमाणपत्र लिएर विदेश जाने प्रवृत्ति देखिएपछि दुई वर्षअघि अनलाइन प्रणालीमार्पmत तालिमको ट्रयाकिङ गर्ने गरी तालिम बाध्यात्मक बनाउने निर्णय भएको थियो ।

वैदेशिक रोजगार विभागका अनुसार व्यवसायीले कामदार भर्ना गर्दा मागपत्रमा एक प्रकारको काम भनेर प्रक्रिया अघि बढाउने र विदेश पुगेर अर्को काम गराउने गरेको गुनासो धेरै आउन थालेपछि तालिमको व्यवस्थालाई अनिवार्य गरिएको भने पनि यसको पूर्ण कार्यान्वयन हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्