कोशीमा माघ ११ देखि लगानी सम्मेलन
विराटनगर– कोशी प्रदेश सरकारले पहिलोपटक आगामी माघ ११ गतेदेखि लगानी सम्मेलन गर्दैछ ।
सम्मेलनको तयारी तीव्र पारिएको प्रदेश लगानी प्राधिकरणले जनाएको छ । प्राधिकरण बनेको ५ वर्ष पुगेपछि गर्न लागिएको सम्मेलनलाई प्रदेश सरकारले निकै महत्वका साथ प्रचार गरिरहेको छ । प्रदेश सरकार लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सरोज कोइरालाले लगानी सम्मेलनबाट १ खर्बभन्दा बढीको एमओयू गर्ने बताएका छन् । तर, संघीय सरकारले विगतमा गरेका लगानी सम्मेलनको प्रतिबद्धता र कार्यान्वयनको अवस्था हेर्दा लक्ष्य पूरा हुन सहज देखिँदैन । लगानी सम्मेलन तोकिएको मितिमा हुनेमा अझै आशंका देखिएको अर्थशास्त्री भेषप्रसाद धमलाको भनाइ छ ।
प्रदेश सरकारले तयारी तीव्र पारेको भने पनि त्यसको कुनै छनक नदेखिएको उनले बताए । ‘लगानी सम्मेलन गर्न खोज्नु राम्रो कुरा हो । आर्थिक शिथिलताबाट माथि उठ्नका लागि संक्षिप्त रुपमा मात्रै पनि लगानी भित्र्याउन सक्यौं भने राम्रो हुन्छ,’ अर्थविद् प्रमोदकुमार झाले भने, ‘एक खर्ब लगानी गर्ने महत्वाकांक्षी योजना पूरा हुन भने चुनौती छ ।’ उनले आर्थिक विकासको गन्तव्यमा पुर्याउन यस्तो सम्मेलन गर्नु राम्रो हुने बताए ।
तीन दिनसम्म सञ्चालन हुने लगानी सम्मेलनका लागि ३७ वटा आयोजना सोकेसमा राखिने भएको छ । लगानी प्राधिकरणका सीईओ कोइरालाले ती आयोजनाको लागत १ खर्ब ४ अर्ब ८५ करोड रहेको जानकारी दिए । त्यसबाहेक अन्य आयोजना पनि थप हुन सक्ने उनी बताउँछन् । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले स्रोतसाधनको राम्रो परिचालन होस्, रोजगारी वृद्धि होस् र प्रदेशको आर्थिक अवस्थाको उन्नतिमा योगदान होस् भनेर सम्मेलन गर्न लागेको बताए । लगानीका लागि कृषिमा चिया, कफी, किबी, एभोकाडोको प्रशोधन उद्योग, पर्यटनको क्षेत्रमा होटल, रोपवे, केबलकार, यातायातलगायत क्षेत्र रहेको उनले जानकारी दिए ।
‘मोनोरेल पनि छ । कृषि मल, विद्युत, खानीजन्य योजना पनि रहनेछन्,’ उनले भने, ‘अहिलेको अवस्थाभन्दा गुणात्मक रुपले केही परिवर्तन गर्न सकिन्छ कि भनेर लागिरहेका छौं ।’ चाँडै सम्पन्न हुने, नागरिकलाई धेरै प्रभाव पार्ने र छिटो निर्माण हुने परियोजनालाई प्राथमिकता दिएको सीईओ कोइरालाले बताए । कृषिमा आधुनिकीकरण र व्यवसायीकरण, जल संशाधनको उपयोग, जलमार्ग र जलपर्यटन, खनिज प्रयोग गरेर क्लिंकर उद्योग, डाटा सेन्टर, पारवहानको लागि बस सेवाको आधुनिकीकरण, रोपवे, पोडवे जस्ता परियोजना सञ्चालन गर्ने योजना रहेको उनको भनाइ छ ।
प्रदेश सरकारले गर्न लागेको लगानी सम्मेलन सकारात्मक भएको निजी क्षेत्रको प्रतिक्रिया छ । तर, यसले परिणाम दिनुपर्नेमा उनीहरुको जोड छ । ‘कोशी प्रदेश पर्यटन, कृषि र जलविद्युतको क्षेत्रमा धेरै सम्भावना भएको प्रदेश हो,’ उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले भने, ‘आर्थिक संकटको समयमा हुने लगानी सम्मेलनले आशा जगाउन सक्छ ।’
लगानीकर्ताले किन लगानी गर्ने भन्ने अफरचाहिँ सरकारले दिन सक्नुपर्ने उनको भनाइ छ । निजी क्षेत्र पनि बाह्य लगानीकर्तासँग सहकार्य गरेर लगानी गर्न तयार रहेको सुरानाले बताए । सम्मेलनले कोशी प्रदेशको मात्रै होइन, देशको अर्थतन्त्रमा धेरै ठूलो भूमिका खेल्न सक्ने उनको भनाइ छ । लगानी सम्मेलनलाई सफल गर्न भने चुनौती रहेको उनले विश्लेषण गरे ।