सांग्रिला डेभलपमेन्ट बैंक र एपोलो हस्पिटल इन्डियाबीच सम्झौता «

सांग्रिला डेभलपमेन्ट बैंक र एपोलो हस्पिटल इन्डियाबीच सम्झौता

काठमाडौंको बालुवाटारमा प्रधान कार्यालय रहेको सांग्रिला डेभलपमेन्ट बैंक र एपोलो हस्पिटल इन्डियाबीच सेवा आदान–प्रदान विषयमा सम्झौता भएको छ । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंकका तर्फबाट उक्त समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेल र एपोलो हस्पिटलका तर्फबाट प्रबन्ध निर्देशक अशोक बाजपाईंले हस्ताक्षर गरेका थिए ।
यो सम्झौतापछि एपोलो हस्पिटलमा सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक, सेयरधनी कर्मचारी र तिनका परिवारले सेबा लिँदा उक्त सेवाहरूमा १० प्रतिशतसम्म छुट प्रदान गरिने द्विपक्षीय सहमति भएको छ ।
सम्झौताअनुरूप विकास बैंकका ३ लाखभन्दा बढी ग्राहक, १५ हजारभन्दा बढी सेयरधनीहरू, ४ सयभन्दा बढी कर्मचारी र तिनका परिवारहरूले सर्वसुलभ तरिकाबाट गुणस्तरीय स्वास्थ्य सेवा लिन सक्नेछन् । उक्त सेवा लिनका लागि ग्राहकहरूले विकास बैंकले प्रदान गर्ने भिसा डेबिट कार्ड लिएको हुनुपर्नेछ । एपोलो हस्पिटलका प्रबन्ध निर्देशक अशोक बाजपाईंका अनुसार हस्पिटलको काठमाडौंस्थित सूचना केन्द्रबाट सेवाग्राहीले हस्पीटलसँग सिधैं समन्वय गर्न सक्ने र उपचारका लागि जानुपर्दाको अवस्थामा ग्राहकले अग्रिम सयम लिएको खण्डमा ग्राहकलाई विमानस्थलबाट हस्पिटल वा होटलसम्मको यातायातको सुविधा हस्पिटलले नै प्रदान र होटलको पनि सुविधा प्रदान गर्ने सहमति भएको छ ।
नेपालका धेरै उच्च पदस्थ व्यक्तिहरूले एपोलो हस्पिटलबाट सेवा लिइसकेको प्रबन्ध निर्देशक अशोक बाजपाईंले बताए । कार्यक्रममा बोल्दै सांग्रिला डेभलपमेन्ट बैंकका अध्यक्ष प्रा.डा. रविन्द्रप्रसाद श्रेष्ठले यो सम्झौता विकास बैंकको सक्रियतामा भएको र यसले विकास बैंकका ग्राहकलाई मात्र नभई सम्पूर्ण नेपालीहरूलाई भारतमा स्वास्थ्य सेवा लिनका लागि सहज हुने बताए ।

प्रतिक्रिया दिनुहोस्