एकीकरण पदमार्गमा नेपाली सेनाको पदयात्रा सुरु

गोरखा-नेपाली सेनाले गोरखादेखि काठमाडौंसम्म एकीकरण पदमार्गमा पदयात्रा सुरु गरेको छ । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानलाई हर्सोल्लासका साथ मनाउन र नेपाल भ्रमण वर्ष–२०२० को प्रचार–प्रसारका लागि गोरखादेखि काठमाडौंसम्मको ऐतिहासिक पदमार्गमा पदयात्रा सुरु गरिएको हो । शुक्रबार गोरखा दरबारको हनुमान भन्ज्याङबाट पदयात्रा सुरु भएको हो ।
नेपाली सेनाका पश्चिम पृतनाका पृतनापति उपरथी गोकुल भण्डारी, गोरखा नगरपालिकाका मेयर राजनराज पन्त र गोरखाका प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछानेले नेपाली सेनाको पदयात्री टोलीलाई झन्डा र टर्च हस्तान्तरण गर्दै यात्राको शुभारम्भ गरे ।
पदयात्रामा बाजागाजासहित पृथ्वीनारायण शाहकालीन नेपाली सेनाको पोसाकमा रणसिं दल गणका क्याप्टेन इन्द्रबहादुर खत्री नेतृत्वको ४० जनाको फौज सहभागी भएको छ । सो क्रममा टर्चसहितको नेपालको झन्डासहित पृथ्वीनारायण शाहको पालामा स्थापना भएका सेनाका प्रथम पाँच कम्पनीका झन्डा पनि समावेश गरिएको छ । पृथ्वीनारायण शाहको पालामा श्रीनाथ, कालिबक्स, पुरानो गोरख, बर्दवाणी र सबुज नाममा ५ कम्पनी स्थापना भएका थिए । तत्कालीन कम्पनीहरू अहिले पनि सेनाको गणका रूपमा रहेका रणसिंह दलका गणपति उज्वल केसीले जानकारी दिए ।
शुक्रबारबाट सुरु भएको यात्रा धादिङ, नुवाकोट हुँदै पुस २७ गते पृथ्वी जयन्तीका दिन काठमाडौं पुग्ने नेपाली सेनाका पश्चिम पृतनाका पृतनापति उपरथी गोकुल भण्डारीले बताए । गोरखा दरबारबाट निस्किएको पदयात्राको टोलीले पिपलथोक, ताप्लेकोट, अश्राङ हुँदै बोर्लाङघाट पुगेर धादिङको देवीदत्त गणको टोलीलाई झन्डा र टर्च हस्तान्तरण गर्नेछ । देवीदत्तले नुवाकोटको जबरजंग गणको टोलीलाई हस्तान्तरण गरेको टर्च, राष्ट्रिय झन्डा र सेनाका ५ कम्पनीको झन्डा काठमाडौं पु-याएर पृथ्वी जयन्तीका दिन विशेष कार्यक्रम गर्ने नेपाली सेनाको तयारी छ । पदयात्रा शुभारम्भ कार्यक्रममा उपरथी भण्डारीले नेपाल र नेपाली सेनाको इतिहास प्रबद्र्धनका लागि दरबार गढी किल्लाहरूको संरक्षण र सम्बद्र्धनमा नेपाली सेना प्रतिबद्ध रहेको बताए । इतिहासको संरक्षण तथा भावि पुस्तालाई इतिहासको जानकारी दिन पदयात्रा महत्वपुर्ण हुने उनकोे विश्वास छ ।
कार्यक्रममा गोरखा नगरपालिकाका मेयर राजनराज पन्त र भिमसेन थापा गाउँपालिकाका अध्यक्ष ईश्वर पाण्डेले एकीकरण पदमार्गअन्तर्गत आफ्नो क्षेत्रमा रहेका ऐतिहासिक सम्पदाको संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले पश्चिमतर्फको ऐतिहासिक पदमार्गको पनि प्रबद्र्धन गर्नुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापाले पदमार्गमा रहेका ऐतिहासिक सम्पदाको संरक्षण गर्न सुझाव दिए ।
तत्कालीन राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा गोरखादेखि काठमाडौंसम्म हिँडेको पुरानो बाटोलाई सरकारले एकीकरण पदमार्गका रूपमा विकास गर्न लागेको छ । यो वर्ष उक्त बाटोको अध्ययनको जिम्मा नेपाली सेनालाई दिइएको छ । गोरखाबाट धादिङ, नुवाकोट हुँदै काठमाडौंबाट काभ्रेसम्मको करिब १ सय ९२ किलोमिटर बाटोलाई सरकारले एकीकरण पदमार्गको रुपमा प्रवद्र्धन गर्न लागेको हो । रणसिं दल गणले भने गोरखा जिल्लाभित्रको बाटोको अध्ययन गर्नेछ ।
काठमाडौंको हनुमानढोकाबाट गोरखा दरबार २६ कोषको दूरीमा छ । बाटोको बीचबीचमा रहेका अधिकांश कोसेढुंगा हराएका छन् भने भएकाको पनि संरक्षण हुन नसकेको पदमार्गबारे जानकार गोरखा संग्रहालयका प्रमुख नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार एकीकरण पदमार्गमा पर्ने गोरखा खण्डमा ६ वटा कोसेढुंगा हुनुपर्नेमा ४ वटामात्रै सुरक्षित छन् । गोरखा दरबारको हनुमान भञ्ज्याङ, ताप्लेकोट, अश्राङको ठाँटी र बोर्लाङको घाटबेंसीको कोसेढुंगा सुरक्षित छन् । गोरखा दरबारबाट एक कोस परको फिनामको मेल बिसौना आसपास र बोर्लाङ गाउँको कोसेढुंगा भने हराएका उनले बताए ।
यस्तै पदमार्ग आसपास दर्जनौं ऐतिहासिक मठमन्दिर, गुम्बा, पाटीपौवालगायतका पुरातात्विक सम्पदाहरू छन् । पदमार्गको धेरैजसो खण्डमा भने मध्यपहाडी लोकमार्ग निर्माण भइरहेको छ । जसका कारण ऐतिहासिक सम्पदा नासिने जोखिम पनि बढेको छ । पुरानो हुलाकी मार्गका रूपमा रहेको बाटो आसपासका पुराना चौताराहरूको पनि संरक्षण हुन सकेको छैन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले त्यस्ता सम्पदाहरूको संरक्षण र पदमार्गको विकासका लागि आगामी आर्थिक वर्षबाट आवश्यक बजेट विनियोजन गर्ने बताएका थिए ।