Logo

वीरगन्ज नाकाबाट आउने पर्यटकको संख्या घट्यो

वीरगन्ज– वीरगन्ज नाका भएर आउने पर्यटकको संख्या घटेको छ । वीरगन्जस्थित अध्यागमन कार्यालयको तथ्यांकअनुसार एक वर्षमा दुई हजार ८६ जना पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२४ को जनवरीदेखि डिसेम्बर अन्तिमसम्म वीरगन्ज नाकाबाट एक हजार २२१ जना पुरुष र ८८५ जना महिला गरी दुई हजार ८६ जना पर्यटक नेपाल भित्रिएका हुन् । त्यस्तै ८३५ पुरुष र ७३९ जना महिला गरी एक हजार ५७४ जना पर्यटक वीरगन्ज नाका भएर भारततर्फ गएका छन् ।

अध्यागमन कार्यालय वीरगन्जका प्रमुख सुजितकुमार साहका अनुसार वीरगन्ज नाका भएर ८४ देशका पर्यटक नेपाल भित्रिएका छन् । त्यसमध्ये सबैभन्दा बढी थाइल्याण्डका रहेका छन् । थाइल्याण्डबाट २१२ जना पर्यटक वीरगन्ज नाकाबाट नेपाल आएका छन् । त्यस्तै सबैभन्दा बढी ७१४ जना पर्यटक भारत गएका छन् । वीरगन्ज नाका भएर आउने पर्यटकबाट अध्यागमन कार्यालय वीरगन्जले ७० हजार १२३.३९ डलर अर्थात ९३ लाख ४९ हजार राजस्व पनि संकलन गरेको अध्यागमन प्रमुख साहले बताए ।

भारतबाट वीरगन्ज नाका भएर नेपाल प्रवेश गर्नेलाई अनअराइभल भिसा दिएवापत राजस्व संकलन हुने गरेको छ । अघिल्लो वर्ष २०२३ को जनवरीदेखि डिसेम्बर ३१ सम्म अध्यागमन कार्यालयमा दुई हजार ४१ जना पर्यटक भित्रिएको र एक हजार ४६ जना वीरगन्ज नाकाबाट बाहिरिएका थिए । अघिल्लो वर्ष सबैभन्दा बढी अमेरिकाबाट २४१ जना पर्यटक वीरगन्ज भित्रिएका थिए भने ५०९ जना पर्यटक वीरगन्जबाट भारततर्फ बाहिरिएका थिए । अघिल्लो वर्ष अध्यागमन कार्यालयले ७३ हजार ९७० अमेरिकी डलर अर्थात् ९७ लाख १७ हजार राजस्व संकलन गरेको थियो । अघिल्लो वर्षको तुलनामा यस वर्ष पर्यटकको संख्या घट्दा राजस्व संकलन पनि कम भएको छ ।

पूर्वको काँकडभिटा नाकामा पनि अध्यागमन कार्यालय सञ्चालनमा आउँदा वीरगन्ज नाकाबाट पर्यटकको संख्या घटेको प्रमुख साहको भनाइ छ । नेपालको प्रमुख प्रवेशद्वार वीरगन्जलाई आर्थिक तथा औद्योगिक नगरीको रुपमा चिनिए पनि यहाँ पर्यटक भने खासै बस्ने गरेका छैनन् । भारतीय पर्यटकको भरमा रहेको वीरगन्जका होटल तथा पर्यटन व्यावसायी तेस्रो मुलुकका पर्यटकलाई भने आकर्षित गर्ने खालको पूर्वाधार संरचना अभाव छ । पछिल्लो समयमा ठूलाठूला चारतारे स्तरीय होटल खुले पनि पर्यटकका लागि घुम्ने गन्तव्य स्थल नहुँदा पर्यटक आउन सकेका छैनन् ।

अंग्रेजी नयाँ वर्षमा भारतसँग जोडिएको वीरगन्जले पर्यटनमा खासै लाभ लिन नसकेको होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्तले बताए । वीरगन्जमा एक दिन भए पनि पर्यटकलाई स्टे गराउने वातावरण निर्माणमा स्थानीय सरकार, प्रदेश सरकार र संघ सरकारको भूमिका नदेखिएको उनले बताए । उनले नयाँ वर्षको उत्साह र उमंग खासै नदेखिएको भन्दै अन्य स्थानमा पर्यटकको चहलपहल भइरहँदा आर्थिक नगरी वीरगन्ज भने टुलुटुलु हेरेर बस्नुपर्ने विवसता रहेको पन्तको भनाइ छ । उनले वीरगन्जमा स्तरीय होटल भए पनि मागअनुसारको आपूर्ति हुन नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्