पर्यटकीयस्थल कोखेडाँडामा विद्युत र खानेपानी अभाव
पर्वत– पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको पर्वतको प्रसिद्ध पर्यटकीयस्थल कोखेडाँडामा विद्युत र खानेपानी अभाव रहेको छ । पर्वतको मोदी गाउँपालिका–१ झिलिबराङस्थित कोखेडाँडामा वर्षेनी हजारौं पर्यटक पुग्ने भए पनि विद्युत र खानेपानी सुविधा पुग्न नसकेको हो । यो डाँडा पर्यटकको नयाँ गन्तव्यको रूपमा विकास भएको छ । यहाँ विगत तीन वर्षदेखि आन्तरिक तथा बाह्य पर्यटक घुम्न पुग्ने गरेका छन् ।
समुद्री सतहदेखि तीन हजार तीन सय नौ मिटरको उचाइमा रहेको यो स्थान निकै मनमोहक र सुन्दर छ । यो जिल्लाकै सबैभन्दा उच्च स्थानसमेत हो । छिमेकी जिल्ला म्याग्दीको प्रसिद्ध पर्यटकीयस्थल मोहोरेडाँडाभन्दा झण्डै आधा घण्टाको पैदल यात्रामा पुग्न सकिने कोखेडाँडामा विशेषगरी सूर्योदय, सूर्यास्त, अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरि, निलगिरि, लमजुङलगायतका दर्जनौ हिमश्रृङ्खला नजिकबाट अवलोकन गर्न पर्यटक पुग्ने गरेका छन् ।
म्याग्दीको पुनहिलभन्दा पनि उचाइमा रहेको यो स्थान पछिल्लो समय पर्यटकको आकर्षक गन्तव्यको रूपमा विकास भएको स्थानीय पर्यटन ब्यवसायी लेखबहादुर गुरुङले बताए । यहाँबाट पर्वत, कास्की, स्याङ्जा, बागलुङ, म्याग्दी, लमजुङ, तनहुँ जिल्ला प्रत्यक्ष रूपमा देख्न पनि सकिन्छ । लामो समयदेखि पर्यटन क्षेत्रको विकासमा लागेका लेखबहादुर गुरुङले कोखेडाँडामा कटेज सञ्चालन गरेर पर्यटकलाई सुविधा दिँदै आएका छन् ।
गुरुङका अनुसार यस क्षेत्रकै उत्कृष्ट गन्तव्यको रूपमा विकास गर्न सकिने भए पनि अहिलेसम्म कुनै पनि तहका सरकारबाट सहयोग नपाएको गुनासो गरे । उनले यहाँ आउने पर्यटकको सुविधाका लागि तत्काल नेपाल टेलिकम वा एनसेलको टावर स्थापना गर्नुपर्ने, विद्युतीकरण, खानेपानी र सहज पदमार्गको अभाव रहेको बताए । मोदी गाउँपालिका र जलजला गाउँपालिकाको संयुक्त लगानीमा हम्पालसम्म विद्युत सुविधा पुगे पनि त्यहाँबाट झण्डै दुई घण्टाको पैदल यात्रामा पुगिने कोखेडाँडा भने विद्युतीकरणवाट वञ्चित भएको हो ।
खानेपानी भने झण्डै एक घण्टा तल रहेको खोंचबाट गाग्रीमा बोकेर लग्ने गरिएको गुरुङले बताए । वर्षाको पानी संकलन गरेर समेत प्रयोग गरिने उनको भनाइ छ । विद्युत सुविधा नहुँदा कोखेडाँडामा आउने पर्यटकलाई लामो समय बिताउन समस्या रहेको छ । उनले आफ्नो कटेजमा जडान गरेको सोलारबाट बिजुली बाल्ने, मोबाइल तथा क्यामेरा चार्ज गर्ने सुविधा दिएको बताए । सबैखालको सुविधा उपलब्ध भएमा यहाँ पर्यटकको संख्या थामिनसक्नु हुने उनको अनुभव छ ।
अहिले यहाँ पर्वत, बागलुङ, काठमाडौं, चितवन, पोखरा, स्याङ्जा, म्याग्दी, चितवन लगायतका जिल्लाबाट आन्तरिक र युरोप, दक्षिण कोरिया, जर्मन, रसियालगायतका मुलुकबाट समेत पर्यटक आउने गरेको उनले बताए । कोखेडाँडामा विभिन्न ३० देशका झण्डासमेत राखिएको छ । बाह्य पर्यटकको आकर्षण बढाउनकै लागि भारत, एशियाका अधिकांश मुलुकका साथै, युरोपियन मुलुक, अस्टे्रलिया र अमेरिकन देशका झण्डाले सजाएर आकर्षक बनाइएको छ ।
पर्यटकीयस्थल कोखेडाँडा जानका लागि कास्कीको नयाँपुल–उल्लेरी–वनठाँटी हुँदै पैदल हिँडेर पुग्न सकिन्छ । यो मार्गबाट चारदेखि पाँच घण्टा पैदल यात्रा गर्नुपर्दछ । त्यसैगरी पातीचौर–बाजुङ–क्याङ–लेसपारसम्म गाडीमा यात्रा गरी त्यहाँबाट झण्डै ६/७ घण्टाको पैदल यात्रामार्फत् पनि कोखेडाँडा पुग्न सकिन्छ भने पर्वतको जलजला गाउँपालिका अन्तर्गत मिलनचोक–शालिजा–तारे–हम्पालसम्म गाडीको यात्रा गरेर तीन घण्टाको पैदल यात्रा गरी कोखेडाँडा पुग्न सकिन्छ ।
कोखेडाँडा जाने पदमार्ग निर्माणका लागि चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालयमार्फत् १० लाख रुपैया विनियोजन भएको छ । यसै वर्ष पदमार्ग निर्माण गरिने मोदी गाउँपालिका–१ भुकताङ्लेका वडाध्यक्ष टेकबहादुर गुरुङले बताए । पालिकाकै उत्कृष्ट पर्यटकीयस्थल भए पनि मोदी गाउँपालिकाले भने कुनै बजेट विनियोजन नगरेको उनको भनाइ छ ।
पछिल्लो समय टे्रकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) गण्डकीले यस क्षेत्रको प्रवर्द्धनका लागि विभिन्न कार्यक्रमसमेत सञ्चालन गरेको छ । पर्वत जिल्लाको मोदी गाउँपालिका–१ भकताङ्लेदेखि सुरु भएर वडा नं. २ देउपुरको भमरकोट, वडा नं. ३ देउरालीको फलाटे, माटे हुँदै पर्वतको जलजलाको हम्पाल क्षेत्र, कोखेडाँडा हुँदै म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको मोहोरेडाँडा, पुनहिल तथा कास्कीको ताप्राङ–वनठाँटीलाई जोडेर नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न थालिएको टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए ।
यसै वर्षदेखि सञ्चालनमा आएको नयाँपुल–ताङले–भुमरकोट–फलाटे–डाँडाकमेरे–थामाकोडिल–माटे–जलजला–कोखेडाँडा–मोहरेडाँडा–ताप्राङ–वनठाँटी पदमार्गलाई प्रवर्द्धन गरी तीन रात चार दिनको गन्तव्यको रूपमा विकास गरिएको उनको भनाइ छ ।