Logo

विदेशिने युवाको संख्या बढेसँगै कामदार पाउन समस्या

दाङ– पछिल्लो समय जिल्लामा विदेशिने युवाको संख्या बढेसँगै दाङमा श्रमिक अभाव हुन थालेको छ । अध्ययन या रोजगारीका लागि युवा विदेश पलायन बढ्दा त्यसको प्रत्यक्ष असर उद्योगमा परेको हो । जिल्लाका उद्योग–व्यवसायले आवश्यक कामदार तथा भौतिक निर्माणमा संलग्न कम्पनीले श्रमिक पाउन समस्या भएको बताएका छन् । स्थानीय कामदार पाउन छाडेपछि जिल्लाभन्दा बाहिर तथा भारतबाट ल्याउनु परेको उद्योगी–व्यवसायी बताउँछन् ।

घोराहीमा रहेको एपो सिपी फिटिङ उद्योगका सञ्चालक भरतप्रसाद रेग्मीले जिल्लामा कामदार नपाउँदा बाहिरबाट ल्याउनु परेको बताए । ‘दक्ष जनशक्तिको समस्या त पहिलेदेखि नै हुँदै आएको थियो । अहिले त सामान्य श्रमिकसमेत अभाव हुन थालेको छ,’ उनले भने, ‘बाहिरबाट श्रमिक ल्याउनु पर्ने हाम्रो बाध्यता भएको छ ।’ अहिले पाँचजना भारतीय कामदारले उद्योगमा काम गरिरहेको उनले बताए । उद्योगको उत्पादन घटेको कारण कम भएको समेत उनको भनाइ छ । नेपाली कामदार नटिक्ने गरेको उनको भनाइ छ । ‘काम सिकायो केही महिनापछि बाहिर गइहाल्छन्,’ उनले भने ।

सुन चाँदी व्यवसायमा करिब ८० प्रतिशत विदेशी कालिगढ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघ लुम्विनी प्रदेश अध्यक्ष ध्रुवकुमार गहतराजले जानकारी दिए । ‘अधिकांश भारतीय कालिगढले गहनाको डिजाइन गर्ने गर्नु भएको छ,’ उनले भने, ‘अहिले काम गर्नका लागि आधाजसो श्रमिक बाहिरबाट ल्याउनु परेको छ । पहिले दक्ष श्रमिकको अभाव थियो, अहिले त सामान्य श्रमिक पनि पाउन गाह्रो छ ।’ बाहिरका कालिगढ ल्याउँदा रकमसमेत बाहिर जाने गरेको उनको भनाइ छ । यस्तो अवस्थाले देशलाई समेत घाटा हुने उनले बताए । ‘राज्यले तालिम दिएर दक्षजनशक्ति उत्पादन गर्नतर्फ लाग्नु पर्दछ,’ उनले भने, ‘यसतर्फ राज्यको ध्यान पुग्न सकेको छैन’ ।

युवाहरू स्वदेशमा भनेअनुसार काम र पारिश्रमिक नपाउने भएकाले विदेशिनु बाध्यता भएको बताउँछन् । ‘यहाँ क्षमताअनुसार काम पाइँदैन, न त पैसा नै हुन्छ । त्यसैले युवा विदेशिन बाध्य छन्,’ स्थानीय एक युवकले भने । सरकारले युवालाई स्वदेशमा रोक्नका लागि योजना ल्याउन नसकेको उनी बताउँछन् । देशमै केही गर्नुपर्छ भन्नेलाई पनि राज्यका निकायबाट सहयोग नहुने गरेको युवाको गुनासो रहँदै आएको छ । वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिने दङालीको संख्या बढ्दै गएको छ ।

चालु आर्थिक वर्षको साउनमा एक हजार १५५ जनाले श्रम स्वीकृति लिएका थिए । जसमा १५७ जना महिला थिए । मेनपावरमार्फत् ७० महिलासहित ५२० र व्यक्तिगत रूपमा ४६ महिलासहित २३६ जनाले श्रम स्वीकृति लिएका थिए । जीटुजी प्रक्रियाबाट एक महिलासहित ११ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति गराएको सरकारी रेकर्ड छ । भदौमा १४७ महिलासहित एक हजार २९५ जनाले श्रम स्वीकृति लिएका थिए ।

मेनपावरमार्फत् ८३ महिलासहित ७७९ र व्यक्तिगतरूपमा ४१ महिलासहित दुई सय आठ जनाले श्रम स्वीकृति लिएका थिए । जीटुजी प्रक्रियाबाट भदौमा १७ जना पुरुषले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति गराएका थिए । असोजमा एक हजार १४१ जनाले श्रम स्वीकृति लिएकोमा १२३ जना महिला थिए । मेनपावरमार्फत् ५० महिलासहित ५७८ र व्यक्तिगत रुपमा ३६ महिलासहित १८९ जना र जीटुजी प्रक्रियाबाट दुई महिलासहित १२ जनाले श्रम स्वीकृति गराएका थिए ।

कात्तिकमा एक हजार ५७३ जनाले श्रम स्वीकृति लिएका थिए । जसमा १३५ जना महिला थिए । मेनपावरमार्फत् ५५ महिलासहित पाँच सय सात र व्यक्तिगत रूपमा ३९ महिलासहित ३२६ जना र जीटुजी प्रक्रियाबाट दुई महिलासहित १७ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति गराएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

वर्षेनी बढ्दो तथ्यांक
वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा दाङका १६ हजार ६४ जनाले श्रम स्वीकृति लिएका छन् । जसमा एक हजार ५५२ महिला छन् । मेनपावरमार्फत् आठ हजार ६२० जना विदेश जान श्रम स्वीकृत गराएका छन् । जसमा आठ सय तीन महिला छन् । व्यक्तिगत रूपमा ३९९ महिलासहित दुई हजार ६० जनाले श्रम स्वीकृति लिएका छन् । त्यसवर्ष कोरिया, इजरायलजस्ता देशमा नेपाल सरकारमार्फत् जीटुजी प्रक्रियाबाट १५ महिलासहित दुई सय दुई जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति गराएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

आर्थिक वर्ष २०७९/०८० मा दाङ जिल्लाका १७ हजार आठ सय सातजनाले वैदेशिक रोजगारीका लागि वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएका थिए । जसमा एक हजार ३३७ महिला थिए । यस्तै आर्थिक वर्ष २०७८/०७९ मा महिला धेरैले श्रम स्वीकृति लिएको देखिएको छ । दाङ जिल्लाका पाँच हजार २४३ महिलासहित १२ हजार ७२५ जनाले वैदेशिक रोजगारीका लागि वैदेशिक रोजगार विभागबाट त्यस वर्ष श्रम स्वीकृति लिएको पाइएको छ । त्यसवर्ष मेनपावरमार्फत् ५१२ महिलासहित सात हजार ११९ र व्यक्तिगत रुपमा २६१ पुरुषसहित चार हजार ३५२ ले श्रम स्वीकृति लिएका थिए ।

आर्थिक वर्ष २०७७/०७८ मा दाङ जिल्लाका तीन हजार १७४ ले वैदेशिक रोजगारीका लागि वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएका थिए । जसमा मेनपावरमार्फत् ८६ महिलासहित एक हजार ५२० र व्यक्तिगतरूपमा ६१ महिलासहित एक हजार २४७ ले श्रम स्वीकृति लिएका थिए । आर्थिक वर्ष २०७६/०७७ मा दाङ जिल्लाका सात हजार ५८९ जनाले वैदेशिक रोजगारीका लागि वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएका थिए । जसमा ३९८ महिला थिए । त्यतिबेला मेनपावरमार्फत् २२९ महिलासहित चार हजार ३४२ र व्यक्तिगत रूपमा १२८ महिलासहित तीन हजार नौले श्रम स्वीकृति लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्