जनकपुरमा भारतीय पर्यटकको भीड
जनकपुरधाम– अंग्रेजी नयाँ वर्षको अवसरमा धनुषाको जटही र महोत्तरीको भिट्ठामोड नाकाबाट एकै दिन हजारौं भारतीय पर्यटकहरू जनकपुरधाम भित्रिएका छन् । सीता कालिन सभ्यता र संस्कृतिसँग जोडिएको धार्मिक नगरी जनकपुरधाममा पर्यटकहरूको आगमन हुँदा पहलपहल बढेको हो ।
नयाँ वर्ष मनाउन भारतको विभिन्न ठाउँबाट मंगलबारदेखि नै भारतीय पर्यटकहरू आउने क्रम जारी रहेको जटही र भिठामोड भन्सार कार्यालयका कर्मचारीहरू बताउँछन् । नेपाल प्रवेश गर्ने भारतीय सवारी साधनको छुट पूर्जी लिन भन्सार कार्यालयमा भीड लागेपछि भन्सार कर्मचारीलाई पूर्जी काट्न भ्याई नभ्याई भएको छ ।
खासगरी सीमावर्ती जटही नाकाबाट मंगलबार विहानदेखि बुधवार साँझसम्म जिप, कार, मोटरसाइकलहरू भित्रिने संख्या अत्यधिक रहेको छ । यसबाट भन्सार कार्यालयलाई प्रवेश शुल्कबापत राजस्व पनि अत्यधिक उठेको छ । खासगरी पर्यटकीय नगरी जनकपुरधाममा भारतको बिहारलगायतको ठाउँबाट पर्यटकहरू आएका छन् ।
पर्यटकलाई आफूतिर आकर्षित गर्न जनकपुरधामका केही होटलहरूले सांस्कृतिक कार्यक्रमलगायतका मनोरञ्जनको समेत व्यवस्था गरेका छन् । पर्यटक संख्यामा वृद्धि भएपछि सवारी साधन पार्किङको चाप बढेको छ । पर्याप्त सवारी साधन पार्किङ गर्ने ठाउँ अभावमा जथाभाबी पार्किङ गर्दा पैदल यात्रीलाई समस्या भएको छ ।
यहाँको प्राचीन जानकी मन्दिर, राम मन्दिरलगायतको मठ मन्दिरमा पर्यटकहरूको भीड लागेको छ । अधिकांश पर्यटकहरू धार्मिक स्थलको दर्शन गर्न आएका भए पनि होटल अकुपेन्सी २५ प्रतिशतले बढ्न गएको छ । बिहारमा मदिरा प्रतिबन्ध रहेकोले भारतीय पर्यटकहरूको पहिलो रोजाई मदिरा सेवन भएकोले अन्य व्यवसायीभन्दा मदिराको व्यवसाय बढ्न गएको जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले बताए ।
धार्मिक दृष्टिकोणले पवित्र रहेको यहाँको गंगासागर, धनुषसागरलगायतका क्षेत्रमा धर्मावलम्बीहरूले स्नान गरी मठमन्दिरमा प्रसाद चढाउने गरेकोले विभिन्न प्रकारको प्रसादको बिक्री बढ्न गएको छ । विश्वव्यापी रूपमा परेको आर्थिक मन्दीको प्रभाव करोना कहर जस्ता कारणले थला परेको यहाँको व्यापार अँग्रेजी नयाँ वर्षको मौका पारी भारतबाट पर्यटकहरू आएपछि छोटो समयका लागि भए पनि चलायमान भएको व्यवसायीहरू बताउँछन् ।
यता मनोरञ्जन गर्न जनकपुरधाममा आउने भारतीय पर्यटकहरूको सवारी साधन चेकजाँचको नाममा प्रहरीले दु:ख दिने गरेकोले सिमानाकामै पर्यटकहरूले सास्ती भोग्नु परेको छ । नेपाल प्रवेशका लागि प्रवेशज्ञा लिने र आफ्नै सवारी साधन लिएर घुम्न आउन भारतीय पर्यटकहरूसँग प्रहरीले चेकजाँचको नाममा जथाभावी दु:ख दिने, रकम असुल्ने जस्ता क्रियाकलापले पर्यटकहरूले सास्ती भोग्दै आएका छन् ।
धनुषाको जटही तथा भिट्ठामोड नाकाबाट भित्रिने भारतीय पर्यटकहरू चेकिङको मारमा बढी पर्ने गरेका छन् । यी दुई नाका भएर स्थलमार्ग हुँदै जनकपुरधाम आउने सबभन्दा बढी भारतीय पर्यटकहरू रहेका छन् । एक ठाउँमा सुरक्षा चेकजाँचपछि ठाउँ ठाउँमा बारम्बार चेक गरी पर्यटकलाई सास्ती दिने काम भइरहेको पीडित भारतीय पर्यटकको गुनासो छ ।
जानकी मन्दिरमा घुइँचो
अंग्रेजी नयाँ वर्ष सन् २०२५ को अवसरमा जानकी मन्दिरमा भक्तजनको भीड लागेको छ । नयाँ वर्षको अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा भक्तजन नयाँ वर्षको स्वागत र वर्षभर राम्रो होस् भन्ने हेतुले जानकी मन्दिरमा पूजा पाठका लागि जम्मा भएका छन् । सोही कारण मन्दिर परिसरमा भक्तजनको भीड उल्लेख्य छ । धार्मिक स्थलका साथै जनकपुरधाम पर्यटकीय नगरीसमेत हो । जसका करण मानिसहरूको भीड लाग्ने गर्छ ।