सडक क्षेत्रका होटलमा सतप्रतिशत अकुपेन्सी
पोखरा– अंग्रेजी नयाँ वर्षमा पोखरामा होटलहरूको अकुपेन्सी ७५ देखि सतप्रतिशतसम्म रहेका छन् । नयाँ वर्ष र लगातार एकै मितिमा तीन वटा महोत्सवहरू परेकोले सडक क्षेत्रका होटलमा सतप्रतिशत र अन्यमा ७५ प्रतिशतसम्म अकुपेन्सी पुगेको व्यवसायीहरूले बताएका हुन् ।
पुस ९ देखि पोखराको लौरुक तथा फेवाफाँटमा जारी प्रथम अन्तर्राष्ट्रिय बेलुन महोत्सव, १४ देखि १५ सम्म पोखरामा सञ्चालन भएको दोस्रो अन्तर्राष्ट्रिय ड्रागन बोर्ट फेष्टिभल र १३ पुसदेखि पोखरामा जारी पोखरा सडक महोत्सवले गर्दा पर्यटन आगमनमा वृद्धि भएको होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । विदेशी पर्यटकहरूको अहिले अफ सिजन रहे पनि अधिकांश भारतीय पर्यटकहरूले एक सातादेखि आन्तरिक पर्यटकहरूको चहलपहल सुरु भएको सुवेदीले बताए ।
संघमा आबद्ध पर्यटकीय स्तरका ४ सय ५० वटा होटलहरूमा एकै रातमा कम्तीमा ४० हजार बेडमा पर्यटकहरूलाई व्यवस्थापन गर्न सकिने दाबी सुवेदीको छ । होटल संघ पोखरा नेपालले आफ्ना सदस्यअन्तर्गतका होटल प्रतिष्ठानहरूमा अग्रेंजी नयाँ वर्षको अवसरमा रेवा पोखराले आयोजना गर्ने पोखरा सडक महोत्सवको अवसरमा होटल आवासमा २० प्रतिशत छुट दिने उद्घोष गरेको छ । नयाँ वर्षको अवसरमा आयोजित सडक महोत्सवले एक साता पोखराको पर्यटन क्षेत्र चलायमान बनाउने भएको छ ।
केही दिनअघि सुरु भएको बेलुन महोत्सवले कम्तीमा १० दिन जति पोखरा क्षेत्रको पर्यटकीय गतिविधि चलायमान बनाउने रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले बताए । पोखरामा यस वर्ष बेलुन महोत्सव र सडक महोत्सवले गर्दा पर्यटकहरुको बसाई अवधि लम्बिएको उनले बताए । अघिल्लो वर्षदेखि सडक महोत्सव डिसेम्बर २६ देखि करिब ५/६ दिन मात्र पर्यटक चहल पहल हुने गरेकोमा यस वर्ष वेलुन महोत्सव डिसेम्बर २४ देखि सुरु भएपछि पोखरामा १० दिन जति पर्यटन क्षेत्रमा उत्साह जागेको अध्यक्ष पौडेलले बताए ।
सडक महोत्सवको अवसरमा यस वर्ष पोखरा ६ मा मात्र सीमित नभई पोखरा आसपासका वडासमेत तुल व्यानरले सजिएको कारण स्थानीयहरुमा उत्साह देखिएको महोत्सव संयोजक विकास भट्टराईले बताए । पोखराको लेकसाइडमा सीमित हुने उक्त महोत्सव विस्तार हुँदै गएको उनको भनाइ छ । मंगलबार राति आतिसबाजीसमेत गरिएको रेवान पोखराका निवर्तमान अध्यक्ष नरेश भट्टराईले बताए । महोत्सवमा आतिसबाजी अवलोकनको लागि ठूलो संख्यामा पर्यटक सहभागी भएका छन् । सडक महोत्सवमा करिब ४ लाख पर्यटक भित्रिएको रेवानको दाबी छ ।