बन्यो गुल्मी–पर्वत जोड्ने पक्की पुल
गुल्मी– गुल्मी र पर्वत जोडने पक्की पुलको उद्घाटन भएको छ । लुम्बिनी प्रदेशको गुल्मीको कालिगण्डकी गाउँपालिका र गण्डकी प्रदेशको पर्वतको विहादी गाउँपालिका जोड्ने गरी कालिगण्डकी नदीमाथि बनेको पक्की पुलको मंगलबार उद्घाटन गरिएको हो । पुलको उद्घाटन गर्दै कांग्रेस केन्द्रीय सदस्य तथा गुल्मी प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद डा. चन्द्र भण्डारीले नयाँ दृष्टिकोण नभइकन मुलुकको कायापलट सम्भव नै नभएको बताएका छन् ।
भण्डारीले अहिलेको प्रविधिको युगमा भाषणमात्रै गरेर हिँड्ने नयाँ दृष्टिकोण नहुनेबाट देशमा कायापलट नहुने बताएका छन् । ‘विकास गरेर मुलुकको कायापलट गर्न नयाँ दृष्टिकोण चाहिन्छ,’ भण्डारीले भने, ‘नयाँ दृष्टिकोण र विचार नभएकाले मुलुक पछाडि पारेका छन् ।’ उनले पक्की पुलले दुई पालिका, जिल्ला र प्रदेश मात्रै नजोडेर विकासको आयाम लिने बताए । उनले आयातका लागि मात्रै पक्की सडक र पुल नबनेको प्रष्ट पार्दै निर्यातका लागि पनि तयार हुनुपर्ने बताए ।
उनले उत्पादनसँग जोडिएर समग्र देशको विकास गर्नुपर्ने बताए । कालिगण्डकी करिडोरले भारत र चीनलाई नजिकको दूरीमा जोड्ने भएकाले मुख्य गरी कोरला नाकामा पुग्नका लागि र उत्पादन निर्यात गर्न सहज हुने र त्यसको फाइदा कालिगण्डकी र विहादीबासीले लिनुपर्ने बताए । पक्की पुल लामो समयसम्मको अथक मेहनत र प्रयासले बन्न सफल भएको बताए । उनले यससँग सम्बन्धित सबै पक्षलाई धन्यवाद दिए ।
तत्कालीन तम्घास–सिमलटारी–प्युठान सडक आयोजना गुल्मी र एलिट कन्स्ट्रक्सन प्रालि काठमाडौंबीच ३१ भदौ २०७३ मा कुल १४ करोड ६७ लाख रुपैयाँमा सम्झौता भएको थियो । सम्झौताअनुसार निर्माण व्यवसायीले ३० चैत २०७६ मा हस्तान्तरण गर्नुपर्ने थियो । समयमै काम सम्पन्न नभएपछि उक्त कार्यालय खारेज भएपछि मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घास गुल्मीमार्फत् काम भएको थियो । पछि सडक डिभिजन कार्यालय पाल्पामार्फत् कार्यान्वयन हुने गरी काम सम्पन्न भएको थियो ।
सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी दुर्गा गौतमले अझै निर्माण व्यवसायीलाई केही रकम भुक्तानी दिन बाँकी रहेको बताए । पुलले दुई जिल्लाको सडकलाई सहज बनाएर आर्थिक उन्नतिसँग जोडिने कालिगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले बताए ।
पुलको उद्घाटन कार्यक्रममा कालिगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापा, विहादी गाउँपालिका पर्वतका अध्यक्ष परविन गुरुङ, चन्द्रकोट गाउँपालिका गुल्मीका अध्यक्ष युवराज खत्री क्षेत्री र जिल्ला समन्वय समिति गुल्मीका उपप्रमुख तेजेन्द्र सलामीले पुलको निर्माणसँग जोडिएका सबैलाई धन्यवाद दिए । प्रतिनिधिसभा सदस्य डा. भण्डारीले पुल निर्माण सम्पन्नको फाइदा लिन आग्रह गर्दै कार्यक्रम व्यवस्थापन गर्नेलाई धन्यवाद दिए ।