आयोजना बैंकको अभ्यास गर्दै तिलोत्तमा
![](https://www.karobardaily.com/wp-content/uploads/2025/01/tilottama-nagarpalika.jpg)
बुटवल– रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना बैंकमार्फत योजनाको कार्यान्वयन अघि बढाएको छ । नगरपालिकाले नगरस्तरिय प्राथमिकता प्राप्त योजनाको नाममा प्रत्येक वडाका लागि पाँच पाँच वटा योजना तयार गरेको छ ।
जसअन्तर्गत वडा–१ मा ड्राइभरटोलदेखि शिवचोक हुँदै शान्ति नगर जाने शिवपुर मार्ग, ड्राइभरटोल एनएमबि बैंकदेखि पूर्वतर्फ होराइजन स्कुल हुँदै शान्ति मार्गबाट न्यूलाइट स्कुल जोड्ने सडक, शंकरनगर चोकदेखि न्यूलाइट स्कुल हुँदै नमुनाचोक जोडेने सडक, प्रगती चोकदेखि शान्तिनगरसम्मको सडक र सूचीको पाँचौ नम्बरमा देवीनगरदेखि कोखेली पथ जोड्ने सडक नगरस्तरिय प्राथकिता प्राप्त योजनामा सूचिकृत छन् ।
पाँच वटै योजना एक/एक करोड रुपैयाँका हुन् । प्रत्येक वर्ष एउटा एउटा गरेर पाँच वर्षमा सूचिकृत भएका सबै योजना कार्यान्वयन गरिने तिलोत्तमा नगरपालिकाका योजना प्रमुख इन्जिनियर प्रदिप वनले बताए । १ नम्बर वडाको जस्तै १७ वटै वडामा पाँच–पाँच वटा प्राथमिकता प्राप्त योजनाको सूची बनाइएको पनि उनले जानकारी दिए ।
‘एक नम्बरमा राखेको योजना पहिलो वर्ष, २ नम्बरको दोस्रो वर्ष गरी हरेक वडामा प्रत्येक वर्ष एक एक करोडको काम हुने छ’ उनले भने, ‘नगरका १७ वटा वडाको लागि ८५ करोडको योजना तयार भएको छ ।’ यी योजना सूचिकृत गरी कार्यान्वयन गर्ने प्रक्रियालाई नगरपालिकाले आयोजना बैंक भनेको छ । तिलोत्तमा नगरपालिकाको आयोजना बैंकमा तीन प्रकारका योजना समावेश गरिएको योजना प्रमुख वनले बताए ।
माथि उल्लेखित नगरस्तरिय प्राथमिकता प्राप्त योजना, नगरस्तरिय गौरवका योजना र नगरस्तरिय स्वर्णिम योजना आयोजना बैंकमा राखिएको छ । पर्याप्त छलफल भएर महत्त्वपूर्ण योजना क्रमैसँग अघि बढाउन सकियोस् भन्ने उद्देश्यले आयोजना बैंकको अभ्यास सुरु गरिएको तिलोत्तमा नगरपालिका मेयर रामकृष्ण खाँणले जानकारी दिए ।
‘एक वडा, एक किलोमिटर सडक भन्ने अभियानअन्तर्गत १७ वटै वडामा हामीले हरेक वर्ष १७ वटा बाटो बनाउँछौं’ उनले भने, ‘बैंकमा रकम राखे जस्तो आयोजना बैंकमा योजना राखेका छौं ।’ आयोजना बैंकको लागि प्राथमिकता प्राप्त योजना तय गर्न वडालाई नै जिम्मेवारी दिइएको प्रमुख खाणले जानकारी दिए ।
तल्लो तहमा छानेका योजनामध्ये प्राथमिकताप्राप्त आयोजनालाई कार्यान्वयन गर्न क्रमैसँग सूचि बनाइएको उनले बताए । आयोजना बैंकमा नगरस्तरिय गौरवको योजना पनि रहेका छन् । गौरवका योजना अन्तर्गत एक करोडदेखि ५ करोडसम्मका विकासका कार्यक्रम समावेश छन् । जसअनुसार प्रत्येक वडाबाट एक एक वटा योजना रहेका छन् । गौरवका योजनामा पनि धेरै जसो सडकका योजना छन् ।
आयोजना बैंकमा नगर स्वर्णिम योजनाअन्तर्गत ५ करोड माथिका विकासका कार्यक्रम समेटिएको छ । नगर स्वर्णीममा पनि एक वडाका एक योजना छनोट गरिएको छ । यसमा प्रदेश तथा संघ सरकारको बजेटबाट गरिने ठूला योजना समावेश गरिएको छ । स्वर्णिम योजनामा सडकसँगै अन्य आयोजना पनि समेटिएका छन् । सडकबाहेक स्वर्णिम योजनाअन्तर्गत विद्यालयका भवन, खेल मैदान, पर्यटकीय स्थलमा पूर्वाधार निर्माण, अस्पताल लगायतका कार्यक्रम रहेका छन् ।
आयोजना बैंकमार्फत अघि बढ्दा हरेक वर्ष नीति कार्यक्रम तथा बजेट बनाउन पनि सहज भएको नगर प्रमुख खाणले बताए । रुपन्देहीका दुई ठूला शहर बुटवल र भैरहवाको बिचमा तिलोत्तमा नगरपालिका रहेको छ । यो नगरपालिका विभिन्न सूचकमा उत्कृष्ट घोषित हुँदै आएको छ । आयोजना बैंकको अभ्यास सुरु गरेर तिलोत्तमाले अर्को नमुना काम थालेको छ ।
संघीय कानूनले पनि तीनै तहका सरकारमा आयोजना बैंकको व्यवस्था हुनुपर्ने व्यवस्था गरेको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तर दायित्व ऐन तथा राष्ट्रिय योजना आयोगले जारी गरेको स्थानीय तहको योजना तर्जुमा दिग्दर्शनमा आयोजना बैंकबारे उल्लेख छ । तर प्रदेश सरकार र धेरैजसो पालिकाले यसको अभ्यास गरेका छैनन् ।
लुम्बिनी प्रदेश सरकारले आयोजना बैंकको अवधारणा अघि सारेको जनाएको छ । लुम्बिनी सरकारअन्तर्गत प्रदेश योजना आयोगका सचिव खिमबहादुर कुँवरले आयोजना बैंकको लागि निर्देशिका तयार बनिरहेको जानकारी दिए । ‘अहिले प्रदेश सरकारले आयोजना बैंकको लागि मापदण्ड बनाइरहेको छ । आगामी आर्थिक वर्षका योजना तथा कार्यक्रम आयोजना बैंककै आधारमा अगाडि बढ्छन्’ उनले भने ।
यसबाट पहुँचका आधारमा र खल्तीबाट आयोजना परे भन्ने गुनासो पनि सम्बोधन हुने बताए । आयोगका सचिव कुँवरले स्थानीय तहको लागि पनि आयोजना बैंकको निर्देशिका बन्न लागेको जानकारी दिए । आयोजना बैंकअन्तर्गतका योजनामा निजी क्षेत्र र दातृ निकायहरु पनि आकर्षित हुने उनको भनाइ छ ।