Logo

कर्णाली राजमार्गमा सधैं सास्ती

वीरेन्द्रनगर– साविकको कर्णालीमा यातायात सञ्चालनमा समस्या हुँदै आएको छ । वर्षायाममा हिलाम्य हुँदा यातायात सञ्चालनमा बाधा पुग्दै आएको छ भने हिउँदयाममा हिउँले बाटो बन्द हुँदा यात्रा रोकिने गरेको छ । मुगु जिल्ला सदरमुकाम गमगढीबाट नेपालगन्जतर्फ जाँदै गरेका तीन वटा यात्रुबाहक बस कर्णाली राजमार्ग अन्तर्गत घुच्ची खण्डको सातमोडस्थित अलपत्र परेका छन् । सडकमा हिउँ र बरफ जमेका कारण बसहरू फसेपछि नेपालगन्ज जाने यात्रुहरू बीच सडकमै अलपत्र परेका थिए ।

सडकमा जमेको बाक्लो हिउँ र बरफले गाडी अघि बढ्न नसक्दा सबै यात्रु रातभर जागा बस्नु परेको बसका यात्री मनिका भामले जानकारी दिइन् । हिउँ र बरफ जमेकाले सातमोडमा गमगढी आउने र गमगढीबाट गएका सवारी साधन आइतबारबाट रोकिए पनि सोमबार दिउँसो ३ बजे तिर बाटोमा जमेको हिउँ र बरफ सडक डिभिजनका कर्मचारी र स्काभेटरले हटाउँदा सडक सुचारु भइसकेको रारा छायानाथ यातायात प्रालिका सचिव सन्तोष शाहीले बताए ।

कर्णाली राजमार्गको यो खण्ड घुच्चीलेख तथा रारा राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्र भएर जाने भएकाले हिउँ जमेर र पानी पर्दा रुख ढलेर सधै सडक अवरुद्ध हुने गरेको छ । वर्षायामसमेत खोलामा पानी बढ्दा होस् वा हिलाम्य हुँदा यस सडक खण्डमा सधैँ सास्ती हुने गरेको छ । साँघुरो बाटोमा मुस्किलले एकतर्फी यात्रा हुने कर्णाली करिडोरमा मृत्यु मार्गको रूपमा उपमा पाउँदै आएको छ । जुम्ला र कालिकोटको सिमाना नाग्मा बजारसम्म मात्र पिच भएका कारण सजिलो भए पनि सोभन्दा माथिको सबै भाग कच्ची सडकले हैरान हुने गरेको छ ।

सबैभन्दा बढी अवरुद्ध हुने सडकको रूपमा यही रहेको छ । कर्णाली करिडोरमा यात्रा गर्ने सवारी साधनमा सास्ती धेरै हुने गरेको छायाँनाथ रारा नगरपालिका–११ रोवास्थित प्रभात माध्यमिक विद्यालयका प्रधानाध्यापक रन्जना कर्णले जानकारी दिइन् । वर्षायाममा बादल लाग्ने बित्तिकै यहाँको हवाईसमेत अवरुद्ध हुने गरेको छ । मुगुको ताल्चा, हुम्ला विमानस्थलसमेत हिउँका कारण अवरुद्ध हुने गर्दछ । चिसोका कारण बरम जमेपछि धावनमार्ग नै बन्द हुने गरेको छ ।

साँघुरो बाटो, त्यसमा पनि कच्चीमा यात्रा गर्दा आफूहरू हैरान भएको यात्रुहरूको भनाइ छ । त्यस्तै हुम्ला अझै सडक सञ्जालसँग सिधा जोडिन सकेको छैन । मुगु हुँदै हुम्ला जाने गर्दछ सडक । यातायातका साधन सञ्चालनका लागि इन्धनसमेत बाहिरबाट ल्याउनु पर्दा भाडासमेत भारी मात्रामा चर्को हुने गरेको छ । वर्षायाममा अधिकांश सडक बन्द हुने गर्दछन् भने हिउँदयाममा पनि चिसोले समस्या हुँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्