Logo

२० औं लेखनाथ महोत्सव

पोखरा– बिहीबारदेखि २० औं संस्करणको लेखनाथ महोत्सव हुने भएको छ । महोत्सवमा ९ करोड रुपैयाँबराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा आगामी माघ १ सम्म सञ्चालन हुने महोत्सवमा करिब ९ करोड मूल्यबराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको संघका अध्यक्ष एवं महोत्सवका मूल संयोजक विनोद श्रेष्ठले बताए ।

२ लाख ५० हजारभन्दा बढी दर्शकले महोत्सव अवलोकन गर्ने अपेक्षा गरिएको छ । महोत्सवमा करिब ९० लाख रुपैयाँ आम्दानी हुने अनुमान छ । महोत्सव सम्पन्न गर्नका लागि ८० लाख रुपैयाँ खर्च भई १० लाख रुपैयाँ बचत हुने आयोजकको दाबी छ । महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि भन्ने नाराको साथ आयोजना गर्न लागिएको हो । महोत्सवमा विभिन्न व्यपारिक तथा सेवा एवं सूचनामुलक गरी ३ सय ३६ वटा स्टल रहने श्रेष्ठले बताए ।

संघले २०५८ साल देखि सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सवलाई समयानुकूल परिष्कृत गर्दै २०६१ सालदेखि वार्षिक रूपमा लेखनाथ महोत्सव गर्दै आएको छ । विभिन्न जातजाति भाषाभाषीलाई एकै थलोमा उपस्थित गराएर लेखनाथ क्षेत्रको पहिचान गराउने उद्धेश्यले महोत्सव आयोजना गरिएको उनको भनाइ थियो । महोत्सवको माध्यबाट यस क्षेत्रमा उत्पादित वस्तुहरुको बजारीकरण गर्ने, कृषि सामग्री एवं महिला उद्यमीहरूको प्रर्दशनी एवं बिक्री गरिने श्रेष्ठले बताए ।

देशको सुस्त अर्थतन्त्रलाई चलायमान बनाउन तथा पर्यटन प्रवर्द्धन गर्न महोत्सवले थप मद्धत पृुग्ने महोत्सवका प्रचार प्रसार संयोजक एवं लेखनाथ उद्योग वाणिज्य संघका महासचिव जानुका पराजुलीले बताइन् । त्यसैगरी देशमा रहेका औद्योगिक उत्पादनलाई बढवा दिन, हस्तकलाका सामानहरुको बजार प्रवर्द्धन र सोको पहिचान, स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवर्द्धन, आवश्यक ज्ञान, सिप, उद्यमशीलता र प्रविधि हस्तान्तरणमा सहयोग पुर्‍याउने महोत्सवको मुख्य उद्देश्य रहेको उनले जनाइन् ।

महोत्सवका सह–संयोजक एवं प्रायोजक व्यवस्थापन तथा उप–समिति परिचालन समितिका संयोजक राजेन्द्र ओझाले लेखनाथ महोत्सवलाई स्थानीयले चाड पर्वको रूपमा लिँदै आएको र उत्पादक र उपभोक्ताहरुलाई एकै ठाँउमा भेला गरी आर्थिक चलायमान गराउन महत्त्वपूर्ण भुमिका खेल्ने बताए । पोखरा मुग्लिङ सडकखण्ड हाल निर्माणको क्रममा रहेकोले महोत्सव स्थलमा जानआउनको लागि समय समयमा पानी राख्ने व्यवस्था मिलाएको आयोजकले जनाए ।

प्रतिक्रिया दिनुहोस्