Logo

भैरहवा क्षेत्रका तारे होटलको अकुपेन्सी सत प्रतिशत

भैरहवा– आन्तरिक, भारतीय र विदेशी पर्यटक बढेसँगै भैरहवा क्षेत्रका तारे होटलहरूमा चहलपहल बढेको छ । गत एक महिनादेखि यहाँका होटलहरूको अकुपेन्सी सत प्रतिशतसम्म पुगेको हो । डिसेम्बर महिनामा समूहमा आउने, एफआईटी, डेस्टिनेशन विडिंगका लागि पर्यटक अधिक आएका र जनवरी महिनामासमेत बुकिंगअनुसार अकुपेन्सी ७० प्रतिशतमाथि नै रहेको होटल व्यवस्थापकहरूले बताएका छन् ।

चारतारे र माथिका सबै होटलहरूमा क्यासिनोसमेत रहेकाले त्यहाँ भारतीय पर्यटकहरूको चाप अत्यधिक हुने गरेको छ । भारतबाट क्रिसमस र न्यू एयर सेलिब्रेशनका लागि अत्यधिक पर्यटक आएका छन् । पाँच तारे होटल टाइगर प्यालेश बाई सोल्टीको डिसेम्बर र जनवरी महिनामा अकुपेन्सी सत प्रतिशत रहेको होटलकी सिनियर सेल्स एक्जुकेटीभ निशा थापाले बताइन् । विभिन्न प्रकृतिका गरी एक सय बढी कोठा रहेको उक्त होटलमा डिसेम्बर महिना भरी सबै कोठा बुक भएको थापाले बताइन् ।

जनवरीमा पनि बुकिंग सत प्रतिशत जस्तै छ । अघिल्लो सप्ताह होटलमा क्यासिनो सुचारु भएकाले पर्यटकको रोजाईमा परेको थापाले बताइन् । टाइगर प्यालेशको व्यवस्थापन केही हप्ताअघि सोल्टी होटलले लिएको थियो । भैरहवामा सिद्धार्थ गु्रपद्धारा सञ्चालित होटल सिद्धार्थ भिलाषाको अकुपेन्सी ६० प्रतिशतमाथि रहेको छ । होटलका निर्देशक महेन्द्र न्यौपानेले नयाँ होटल भएर अकुपेन्सी राम्रो रहेको र डिसेम्बरमा डेस्टिनेशन विडिंगका रूपमा भारतीय पर्यटक अधिक आएको बताए ।

होटलमा ८५ कोठा रहेका छन् । होटलमा क्यासिनो सञ्चालनको तयारी भइरहेको छ । भैरहवाको चार तारे नान्स होटलको पनि अकुपेन्सी हाइ रहेको होटलका महाप्रबन्धक सुनिल श्रेष्ठले बताए । डिसेम्बर महिनामा ८० प्रतिशतमाथि नै रहेको र जनवरीमा पनि बुकिंग राम्रो रहेको उनले बताए । देबकोटा चोकमै रहेको अर्को चारतारे होटल मौर्यको पनि अकुपेन्सी ८० प्रतिशतमाथि रहेको होटलका प्रबन्ध निर्देशक रामबहादुर कोइरीले बताए ।

गत वर्षभन्दा पर्यटक आगमन एकदम राम्रो रहेको उनको भनाइ छ । जनवरीमा बुकिंग ७० प्रतिशतको हाराहारीमा रहेको कोइरीले बताए । लुम्बिनी रोडमा रहेको होटल एसियन बुद्धको अकुपेन्सी ८५ प्रतिशत रहेको होटलका महाप्रबन्धक ओमप्रकाश पाण्डेले बताए । जनवरी महिनाका लागी ७० प्रतिशत रुम बुकिंग रहेको उनले जानकारी दिए । पुरानो होटलको रूपमा रहेको होटल निर्भाना बाई लक्जरी इन्टरनेशलको पनि अकुपेन्सी ८० प्रतिशतमाथि रहेको होटलका महाप्रबन्धक पवन गोयलले बताए ।

लुम्बिनी आउने पर्यटक, भैरहवा हुँदै अन्यत्र जाने पर्यटक क्यासिनोमा आउने भारतीय, विदेशी पर्यटक बढी आउने गरेका छन् । भैरहवामा पछिल्लो समय सञ्चालनमा आएको तारे होटल ल्याण्डमार्कको अकुपेन्सी ८० प्रतिशतमाथि रहेको ल्याण्डमार्क भैरहवाका अध्यक्ष आशा गुरुङले बताए । त्यसैगरी बोधी रेडशन होटलको अकुपेन्सी ७० माथि रहेको छ ।

लुम्बिनी भ्रमणमा आउने तेस्रो मुलुकका पर्यटकहरू आउने गरेका होटलका निर्देशक निखिल यादवले बताए । समग्रमा भैरहवा क्षेत्रका तारे होटलको अकुपेन्सी ८० प्रतिशतमाथि रहेको छ । त्यसैगरी मणिग्रामको ड्रिमल्याण्ड, लुम्बिनीको पवज प्यालेशलगायतका होटलका समेत अकुपेन्सी उच्च रहेको छ ।

प्रतिक्रिया दिनुहोस्